धवलागिरिमा कांग्रेस–माओवादी तालमेल

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् ।

दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका अध्यक्ष र सदस्यमा साझा उम्मेदवार बनाउने सहमति गरेका हुन् । गाउँपालिकाको अध्यक्ष, २, ३, ४ र ५ नं वडाको अध्यक्षमा कांग्रेस तथा १, ६ र ७ नं वडा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने भएका छन् ।

माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरन थापाले वडा सदस्यमा पनि साझा उम्मेदवार बनाउने सहमति भएको जानकारी दिनुभयो । गाउँपालिका अध्यक्षको उम्मेदवारमा कांग्रेसका पालिका सभापति प्रेम पुन चयन हुनुभएको छ ।

उपाध्यक्षमा माओवादीका गाउँपालिका सचिव रेशम पुनलाई उम्मेदवार बनाउन सिफारिस भएको छ । कांग्रेसले वडा नं ३ को अध्यक्षमा देवेन्द्र रोकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २, ४ र ५ नं वडाको अध्यक्षका उम्मेदवार छनोट हुन बाँकी छ ।

माओवादीले वडा नं ६ मराङमा चक्र पुन र वडा नं ७ ताकममा अशोक खत्रीलाई वडाध्यक्षको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको थियो । माओवादीको भागमा परेको वडा नं १ गुर्जाको वडाध्यक्षमा हालका वडाध्यक्ष झक छन्त्याललाई दोहो¥याउने भएको छ ।

कांग्रेसको भागमा परेको वडा नं ५ मल्कवाङको वडाध्यक्षमा अमर छन्त्याललाई उम्मेदवार बनाएको छ । दुई दलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई पनि वडा तहमा समावेश गर्ने निर्णय गरेका छन् । कार्यपालिका सदस्य पनि बाँडफाँट गर्ने दुई दलको सहमति छ ।

दश हजार ९४० मतदाता भएको धवलागिरिमा १२ मतदानस्थल र १६ मतदान केन्द्र छन् । सत्ता साझेदार दलले गत चैत २४ गते जिल्लाका छवटै स्थानीय तह र ४५ वटै वडामा साझा उम्मेदवार चयन गर्ने सैद्धान्तिक सहमति गरे पनि पालिका र वडा बाँडफाँटमा कुरा नमिलेपछि अन्य पालिकामा एकल उम्मेदवारी सिफारिस, छनोट र घोषणा गरिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *