तालमेलबारे अर्जुननरसिंहको फरक मत

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिमा ५ बुँदे फरक मत राखेका छन् । उनले सभापति शेरबहादुर देउवालाई लेखेको पत्रमा स्थानीय तह निर्वाचनमा चुनावी तालमेलप्रति असन्तुष्टि जनाएका छन् । उनले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेलबारे ‘स्थानीय अवस्था र आवश्यकता’लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय एकाईको निर्णयविरुद्ध केन्द्रीय हस्तक्षेप भएको आरोप लगाएका छन् । त्यस्तै, महानगरपालिका र उपमहानगरपालिकाको ५ पार्टी गठबन्धनबीच भएको तालमेल र भागबण्डाको मापदण्ड कांग्रेसको कार्यसम्पादन समितिमा प्रस्तुत नभएको समेत उनको आरोप छ ।

महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको, पदाधिकारी वा पूर्वपदाधिकारीलगायत पार्टी विधानमा कुनै स्थान नरहेका, संसदीय समिति गठन नै नभएको र कार्यसम्पादन समिति वा केन्द्रीय कार्यसमितिमा छलफल नभई अन्तिम दिन प्रस्तुत प्रस्तावको प्रक्रियामा लगिएको उनको आरोप छ । कांग्रेसको विधानका धारा ३० र ३१ मा जिल्ला संसदीय समिति, प्रतिनिधिसभा निर्वाचनक्षेत्रको संसदीय समितिमा सम्बन्धित जिल्ला र क्षेत्रका केन्द्रीय कार्यसमितिका सदस्य पदेन रहने व्यवस्था छ ।

त्यस्तै, सम्बन्धित जिल्लाभित्रका केन्द्रीय कार्यसमितिका सदस्यहरू, प्रदेश संसदीय समितिका बैठकमा सम्बन्धित जिल्लाका विषयमा निर्णय गर्दा सो जिल्लाको केन्द्रीय सदस्यलाई आमन्त्रण गर्नुपर्ने वैधानिक व्यवस्था छ तर धेरै ठाउँमा यो प्रक्रिया अवलम्बन नगरिएको उनको भन्दै उनले फरक मत राखेका छन् । निर्वाचनमा उम्मेदवारी दिने दिन नै प्रस्ताव प्रस्तुत हुने परम्परा औपचारिकता मात्र भएकाले उक्त विषय र प्रक्रियामा आफ्नो फरक मत रहेको उनले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *