बुटवलमा एमालेबाट बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका बाबुराम भट्टराईले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन् । उनी उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पौडेललगायत थुप्रै केन्द्रीय तहका नेताका साथमा उम्मेदवारी दर्ता गराउने क्रममा ठूलो संख्यामा कार्यकर्ताको उपस्थिति थियो । बुटवल पौडेलको गृहनगर हो । उम्मेदवारी दर्ता गराएपछि भट्टराईले बुटवलको विकासमा काँचुली फेर्नेगरी योजना ल्याउने बताए ।

बुटवलको सडक निर्माणमा समन्वय गरी आवश्यक पहलकदमी लिने, विगतमा एमाले नेतृत्वले अगाडि सारेका विकासका योजनालाई अगाडि बढाउने, दीर्घकालीन योजनासहित समृद्ध बुटवलको सपना साकार पार्ने योजना उनले सुनाए । त्यसैगरी उपमेयरमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । उनी एमाले केन्द्रीय सदस्य हुन् । उनले बुटवलमा पाका उमेरका महिलाहरूले पढ्ने साधना महिला विद्यालय स्थापना गरी शैक्षिक अभियानसमेत चलाएकी छन् ।

यसअघि कांग्रेसका खेलराज पाण्डेले मेयरमा उम्मेदवारी दर्ता गराएका थिए । उनी गठबन्धनबाट उम्मेदवार भए पनि मनोनयन दर्ताका क्रममा कांग्रेस बाहेकका दल उपस्थित थिएनन् । भागबन्डालाई लिएर बढेको असन्तुष्टिका कारण अन्य दल कांग्रेससँग टाढिएर मनोनयन दर्तामा एकसाथ गएका हुन् । उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले सम्मानजनक स्थान नदिएकाले गठबन्धनभित्र मतभेद रहेको स्वीकारेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *