धनगढी उपमहानगरपालिकाको प्रमुखमा १० जनाको उम्मेदवारी

धनगढी । स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमहानगर प्रमुखमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट नृपबहादुर ओडले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेकपा ९एमाले०बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, जनता समाजवादी पार्टीका कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी र स्वतन्त्र गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उपमहानगरको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र०का शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै उपप्रमुखमा नेकपा ९एमाले०का कन्दकला राना थारू, नेपाल परिवार दलका विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका सावित्रा चौधरी, राप्रपाका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमलाकुमारी पन्त ओझा र स्वतन्त्रबाट कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । जिल्लाका अन्य १२ पालिकामा समेत उम्मेदवारी दर्ताको काम गए अबेर राति सम्पन्न भएको छ ।

थेगिनसक्नु भीड

उम्मेदवारीको मनोनयन दर्ता गराउने सोमबार अन्तिम दिन जिल्लाका पालिका तहमा मनोनयन गर्न आउनेको थेगिनसक्नु भीड लागेको थियो । थेग्नै नसक्ने गरी भीड लागेपछि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको काम पनि अबेर रातिसम्म भएको थियो । उम्मेदवारी दिन चाहने अधिकांश एकसाथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि देखिएको भीडले उम्मेदवारी दर्ताको काम केही असहजसमेत बनेको देखिन्थ्यो ।

कैलारी गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले भन्नुभयो, “सर्वदलीय बैठकमा उम्मेदवारी दर्ताका लागि पालैपालो आउन आग्रह गरेका थियौँ, तर आज उहाँहरु एकसाथ आउँदा दर्ता काममा केही असहजता महसुस भएको छ ।” भीड लागे पनि उम्मेदवारी दर्ताको काम शान्तिपूर्ण र उत्साहजनक वातावरणमा भएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले जिल्लाका १३ पालिकाको प्रमुख तथा उपप्रमुखमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरेका थिए । सहमतिअनुसार कांग्रेसले सात, माओवादीले चार र एकीकृत समाजवादीले दुई पालिकाको प्रमुखमा उम्मेदवारीको मनोनयन दर्ता गराएको छ । यी दलबीच पालिका तहका प्रमुख, उपप्रमुखमा तालमेल भए पनि सहमति जुट्न नसकेका वडा तहका पदमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।

प्रमुखमा एउटै पार्टीका दुई जनाको उम्मेदवारी

जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरु दुवैले पार्टीको सिफारिसपत्रसहित उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।

उम्मेदवारी दर्ता गराउनुभएका थापाले आफूले कांग्रेस प्रदेश समितिको आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले प्रदेश समितिले दिएको टिकट र आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराएँ, पछि उहाँ सुशीला शाहीले पनि पार्टीकै तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको सुन्नमा आएको छ ।”

पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने जनाइएको छ । जिल्लाका १३ पालिका तहका झण्डै ६८९ जनप्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *