सिट बाँडफाँटमा कांग्रेसलाई घाटा

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ३ महानगरपालिकामा मात्रै प्रमुखको उम्मेदवार उठाउने भएको छ । ५ दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको हो । जहाँ यसले प्रमखुका लागि मात्र उम्मेदवारी दिन पाउनेछ । त्यस्तै ३ उपप्रमुखका लागि उम्मेदवारी दिन पाउनेछ । वीरगंज, पोखरा र भरतपुर महानगरपालिकामा कांग्रेसको भागमा उपप्रमुख परेको छ । यस हिसाबले ६ वटा महानगरमध्ये कांग्रेसले ३ महानगरमा प्रमुख र ३ महानगरमा उपप्रमुखको सिट पाएको हो ।

जब कि २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा जितेको थियो । त्यस्तै पोखराबाहेक सबै महानगरपालिकामा उपप्रमुख जितेको थियो । २०७४ को निर्वाचनमा महानगरमा प्रमुख र उपप्रमुख गरी ७ जना जितेको कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनका लागि प्रमुख रउपप्रमुख गरी ६ सिट पाएको छ । त्यसमा पनि सबै सिटमा जित हात पार्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । जति सिट पाएको छ ती सबैमा जिते पनि कांग्रेस महानगरमा अघिल्लो चुनावको तुलनामा कम सिटमा जित्नेछ । कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका प्रमुख र उपप्रमुख दुवैमा जितेको थियो ।

काठमाडौं महानगरपालिकामा २०७४ सालका निर्वाचनमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका थिए भने उपप्रमुख भने कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी थिइन् । त्यस्तै कांग्रेसले प्रमुखमा दाबी गरेको अर्को महानगर हो, विराटनगर । विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो । प्रमुखमा कांग्रेसका भीम पराजुली र उपप्रमुखमा इन्दिरा कार्की (इन्दु) विजयी भएका थिए । यस पटकको निर्वाचनका लागि विराटनरगमा कांग्रेसले प्रमुखको लागि मात्र सिट पाएका छ । उपप्रमुख भने जसपाले पाएको छ । अघिल्लो पटकको निर्वाचनमा प्रमुख र उपप्रमुख एमाले विजयी भएको पोखरा महानगरपालिका यसपालि कांग्रेसको भागमा उपप्रमुख परेको छ । एकीकृत समाजवादीको भागमा प्रमुख परेको छ ।

जसले गर्दा त्यहाँ अहिले पनि विवाद चलिरहेको छ । कांग्रेस नेता कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी नै गरेका छन् । वीरगंज महानगरपालिकाको उपप्रमुख कांग्रेसको भागमा परेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसकै शान्ति कार्की विजयी भएकी थिइन् । प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी विजयी भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *