युक्रेन संकटः रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति रोक्यो

काठमाडौँ । रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् । पोल्यान्डको सरकारी स्वामित्वको पीजीएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेको जनाएको छ । तर, तत्काल भन्डार आवश्यक नभएको र आफ्नो ग्यास भन्डारण ७६ प्रतिशत रहेको वार्साले प्रष्ट पारेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शत्रु’ देशहरूलाई ग्यास आयातको लागि रुबलमा भुक्तानी गर्न आह्वान गरेका छन् । सोही बमोजिम केही खरीदकर्ताहरूले रुबलमा भुक्तानी गरेका छन् । क्रेमलिनको कट्टर विरोधी पोल्यान्ड आफ्नो छिमेकी युक्रेनलाई हमला गरेपछि रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाउने युरोपेली देशहरूमध्ये एक हो ।

रूसी ग्यास आयातमा लगभग पूर्ण रूपमा निर्भर रहेको बुल्गेरियाले गाजप्रोमसँग आफ्ना सबै अनुबंधात्मक दायित्वहरू पूरा गरेको र प्रस्तावित नयाँ भुक्तानी योजनाले सम्झौता उल्लंघन गरेको गुनासो गरेको छ । उसले टर्की र ग्रीसबाट ग्यास निर्यात गर्न छलफलसमेत गरेको छ । यसैबीच, पूर्वी युरोपको मोल्डोभामा पनि तनाव बढेको छ । ट्रान्सडनिस्ट्रिया क्षेत्रका मस्को समर्थित अधिकारीहरूले त्यहाँ श्रृंखलाबद्ध आक्रमण भएको बताएपछि मस्कोले युरोपलाई ब्ल्याकमेल गरेको र मोल्डोभालाई द्वन्द्वमा तान्न खोजेको युक्रेनले आरोप लगाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *