पार्टीको आज्ञा र वडावासीको चाहनामा मेरो उम्मेदवारी : कामपा-१० का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार – रामकुमार केसी

काठमाडौँ । रामकुमार केसीले २०३६-३७ सालमा बहुदल निर्दलकोको जनमत संग्रहको निर्वाचनमा रत्नराज्य स्कुल बानेश्वरमा ७-८ कक्षा पड्दादेखी नै राजनीतिमा हाम फालेका थिए । बहुदलीय ब्यवस्था ल्याई छाड्ने युवाको अठोट निकै बलियो थियो त्यो बेला । निर्वाचन परिणाम निर्दलको पक्षमा गएपनि अझ सशक्त भएर शंकरदेव क्याम्पसदेखि नेपाली कांग्रेसका पक्षमा निरन्तर खटिरहेका युवानेता हुन, रामकुमार केसी । काठमाडौंमा जन्मिएका केसी नेपाली कांग्रेसका इमानदार नेता तथा समाजसेवीका रुपमा चिनिन्छन् । जनताका कामप्रति सधैं दत्तचित्त रहने केसी कर्मठ नेता र स्पष्ट वक्ताको रुपमा गनिन्छन् । सेवाभावले ओतप्रोत उनी जनप्रतिनिधिले राजनीति पूर्वाग्रह नराखी जनताको काम समान रुपले गर्नुपर्ने बताउँछन् । केसीले आफ्नो चुनावी एजेन्डामा सुशासन, सरसफाइलाई र नागरिकमैत्री स्थानीय सरकारलाई प्रमुख बनाएका छन् । यिनै समसामयिक विषयमा केन्द्रित रहेर अध्यक्ष केसीसँग कालिका महतले काठमाडौ न्युज डटकम तथा सत्याग्रह साप्ताहिकसंग गरेको कुराकानीको सम्पादित अंश:

तपाईं नेपाली कांग्रेसको तर्फबाट कामनपा १० मा वडा अध्यक्ष उठ्नुभएको हो ?

हो । मैले यस वडामा अघिल्लो पाँच वर्षे कार्यकाल पुरा गरिसकेको छु । आसन्न स्थानीय तहको निर्वाचनमा पनि म लगायत अघिल्लो कार्यसमितिका हामी पाँचै जनालाई नेपाली कांग्रेसले यस वडामा फेरि जनप्रतिनिधि भएर सेवा गर्ने अवसर दिएको छ । अहिले हामी चुनावी मैदानमा होमिएका छौं । बहुदल आइसकेपछिको पहिलो स्थानीय तहको निर्वाचमा बन्द्रीप्रसाद खरेल यो क्षेत्रबाट वडा अध्यक्ष उठेर विजयी हुनुभएको थियो । त्यतिबेला वडा अध्यक्षको मात्रै चुनाव हुन्थ्यो । सदस्यहरु सबै पार्टीले मनोनित गर्दथे । त्यतिबेला पार्टीले मनोनित गरेको मध्येमा एकजना म पनि परेको थिएँ । त्यसरी पार्टीले मनोनित गर्दा म, ऋषिराज आचार्य, केदार तन्दुकार र रिता थापा गरी चारजना सदस्य मनोनित भएका थियौं । त्यसपछिको स्थानीय निर्वाचनमा पुनः बद्रीप्रसाद खरेललाई नै उम्मेदवार बनाएर उहाँलगायत सबै टिम समेतलाई जितायौं । यसरी १८ वर्षे राजनीति यात्रामा पार्टीमा इकाइ सभापति हुँदै वडा अध्यक्षको नेतृत्व गरेर २०७४ सालको स्थानीय निर्वाचनमा चारजना सदस्य र म वडा अध्यक्ष समेत जित्न सफल भयौं । त्यो बेला हाम्रो वडाबाट मेयर, उपमेयरलाई समेत जिताएर पठाइएका थियौं । अन्यत्रबाट भोट कम भएकाले मेयर पद एमालेका विद्यासुन्दर शाक्यको पोल्टामा पुग्यो । कामनपाको ३२ वटा वडामा मध्ये हामी नेपाली कांग्रेसले १४ वटा वडा मात्रै जित्न सफल भयौं । मेयर एमालेले जितेपनि उप–मेयर हामीले जितेका थियौं । समग्रमा नेकपा एमालेको यस महानगरमा बहुमत आयो । त्यसका बाबजुद पनि हामीले जनताका इच्छा, आकांक्षा अनुरुप काम गर्न धेरै प्रयास गर्यौ।

अहिलेसमेत राजनीतिक क्षेत्रमा कतिपटक पद धारण गरिसक्नुभयो ?

म दुई पटक राजनीतिक पद धारण गरेर जनताको सेवा गर्ने अवसर पाएको छु । बहुदलपछिको पहिलो स्थानीय निर्वाचनमा सदस्य र २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष विजयी भएर काम गरिसकेको छु । अहिले फेरि पार्टीले, यहाँका अग्रज नेता, कार्यकर्ता र सर्वसाधारणको समर्थन र सहयोगमा वडा अध्यक्षमा उम्मेदवारी दिएको छु । पार्टीको कुरा गर्नुपर्दा तीनपटक इकाइ सभापति भएर काम गरेको छु । र अहिले पनि नेपाली कांग्रेस कामपा १० वडाको ईकाई सभापतिको भुमिकामा छु ।

दोहोरिएर फेरि पनि वडा अध्यक्षमै उठ्नुपर्ने कारण के ?

सबैलाई जगजाहेर छ । विगतको पाँच वर्षमा काठमाडौं लगायत देशैभर विकास निर्माणको काममा विभिन्न चुनौतिहरु रहे । हामी जनप्रतिनिधिहरुले चुनावका बेला जनता समक्ष घोषणा गरेका काम गर्न वाधा पार्‍यो । विगत पाँच वर्षे कार्यकालमा एक वर्ष नियम कानुन बनाउनै लाग्यो । अरु दुई वर्ष कोभिडको कहरले आक्रन्त बनायो । त्यसमा डेढवर्ष मात्रै राम्रोसँग काम गर्न पाइयो । पाँच वर्षमा गर्नुपर्ने काम जम्मा डेढ वर्षमा कति गर्न सकिन्छ र ? त्यति हुँदाहुँदै पनि हामीले धेरै काम गर्ने प्रयासहरु गर्यौं । कतिपय पुरा भइसकेका छन् कति पुरा हुने चरणमा पुगेका छन् । कति समय अभावका कारण परिपूर्ति हुन बाँकी छन् । त्यसलाई पूर्णता दिनुछ । साथै मुलुक संघीयतामा गइसकेपछि जनताले त्यसको अनुभूति गर्ने गरी तल्लो तहसम्म पुग्न भ्याइएको छैन । यी सबैलाई ख्याल गरेर जनताको चाहना र मेरो रोडम्याप अनुसार काम गर्न मैले मेरो उम्मेदवारी यहाँ अघिसारेको हु ।

त्यसो भए पहिलाको बाँकी काम परिपूर्ति गर्नको लागि तपाईंको उम्मेदवारी हो ?

त्यो मात्रै भन्न चाहन्न म । विभिन्न समस्या र अवरोधका बाजुद पनि हामीले प्रतिवद्धता गरेका ८० प्रतिशत काम पुरा गरेका छौं । बाँकी २० प्रतिशतमा परेका कुराहरु पनि उच्च महत्वका साथ अगाडि सारेका छौं । फेरि म वडा नं. १० मा मेरो व्यक्तिगत चाहनाले मात्रै उठिरहेको छुइन । कुनै व्यक्ति विशेषले स्वतन्त्र उम्मेदवारी दिनु भिन्दै कुरा हो । तर, पार्टीले मूल्यांकन गरेर र जनताले अनुमोदन गरेर उठाएको व्यक्तिको भिन्दै पहिचान हुन्छ । त्यसैले म कठमाडौं महानगरपालिकाको वडा नं. १० मा पार्टीका अग्रज नेता, कार्यकर्ताको अनुमति र यहाँका सर्वसाधारण जनताको चाहनामा नेपाली कांग्रेसको तर्पबाट उम्मेदवार बनेको हुँ ।

टिकट लिने प्रतिस्पर्धामा कतिजनाको रस्साकस्सी थियो ?

हामीले टिकटको प्रतिस्पर्धा गरिरहँदा ७, ८ जनाको रस्साकस्सी थियो । त्यसबेला पनि विभिन्न भेटघाट, छलफल बहसहरु भइरहँदा कतिपयले एकपटक रामकुमारलाई नै दिऔं भन्थे । कतिले के भन्थे । कतिपयले अब म हुनुपर्छ भन्नुहुन्थ्यो । तर, बहुमत पक्षहरुले मलाई नै समर्थन गर्नुभयो । पार्टीले पनि अब एकपटक रामकुमार केसी नै हुनुपर्छ भनेर निर्णय गर्‍यो । यस १०वडाका वडा कार्यसमिति कांग्रेसका नेता, कार्यकर्ता र साथीहरुले पनि यसपटक रामकुमार केसीलाई दिऔं भनेर निर्णय गर्नुभयो । त्यसकारण म मेरो व्यक्तिगत इच्छाले दोहोरिएर आएको होइन । पार्टीको आज्ञा र जनताको चाहनाले म कामनपा –१० को अध्यक्षमा उम्मेदवार बनेको हुँ ।

सबैतिर परिवर्तनका कुरा उठिइँरहँदा नेतृत्व परिवर्तन आवश्यक छैन ?

नेतृत्व परिवर्तन त्यतिबेला मात्रै आवश्यक छ । जतिबेला पहिलाको नेतृत्व असक्षम हुन्छ । सवल र सक्षम छ भने व्यक्ति परिवर्तनको आवश्यक देखिँदैन । म वडा अध्यक्षमा सक्षम छु, काम राम्रो गरिरहेको छु भनेर मात्रै होइन । तिमीले एकपटक पदमा बसेर खाइसक्यौं, अब म हुनुपर्छ भन्दा त झन् नराम्रो म्यासेज जान्छ होइन र ? । त्यो व्यक्तिले राम्रो कामै गर्दैन कदापि कमाउ धन्दामा बरालिन्छ । जति राम्रो काम गरेपनि जिन्दगीमा राजनीतिक पद पाउने एकपटक मात्रै त हो नि भन्ने भएपछि त्यो पाँच वर्षे कार्यकालमा भ्रष्टाचार ह्वात्तै बढेर गयो भने के हुन्छ ? त्यसैले कुनै पनि पद, ठाउँमा सवल, सक्षम, उपयुक्त र राम्रो काम गरिरहेको ब्याक्ती छ, भने दोहोरिएर आउनु झन् राम्रो हो । त्यसले अरुलाई पनि राम्रो काम गरियो भने राजनीतिमा पटक–पटक अवसर पाइने रहेछ भनेर सकारात्मक सन्देश जान्छ ।

इमानदार मान्छेको सधैं सम्भावना भइरहन्छ हो ?

म भनेको पार्टीको प्रतिनिधि मात्र हो । व्यक्ति रामकुमारको ठाउँमा अर्को पनि हुनसक्छ । तर, पार्टी र वडा कार्यसमितिलाई हाक्न सक्ने, नगरपालिकामा भनेर आवश्यक बजेट ल्याउन सक्ने क्षमता भएको वडा अध्यक्ष पनि हुनुपर्यो । मसँग पार्टीमा पनि लामो समय काम गरेको अनुभव छ । त्यसैगरी वडा कार्यसमितिमा वडा सदस्य र अध्यक्ष चलाइसकेको अनुभव छ । त्यसकारण पनि मसंग काम गर्ने आँट र साहस छ । फेरि मैले गरेका सबै काम राम्रो छ, कमी कमजोरी छैनन् पनि भन्दिँन । कतिपय ठाउँमा कमी कमजोरीहरु भएका होलान् । त्यसलाई सच्याएर १० नम्बर वडालाई काठमाडौंको नमुना वडा बनाउने गरी काम गर्ने इच्छा छ । त्यसको लागि अहिलेको डिजिटल प्रविधिलाई उपयोग गर्न सिस्टममा ल्यानु जरुरी छ । सिस्टममा गइ सकेपछि जो आएपनि काम गर्न सजिलो हुन्छ । त्यसकारण सिस्टम बनाउनको लागि पनि मैले वडा अध्यक्षमै आफुलाई दोहोर्याएको हुँ ।

यस वडावासीले तपाईं नै भोट दिनुपर्ने एजेण्डा के त ?

मलाई त काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बसोवास गर्ने नेपाली कांग्रेस समर्थित मात्रै होइन, एमाले, माओवादी, राप्रपालगायतका दलहरुले समेत तपाईं हुनुपर्छ भन्ने कुरामा साथ र सहयोग छ । उनिहरुले मलाई ‘रामकुमार केसी जुझारु, विकास प्रेमी नेता हो, तर अलि रिसाउँछ’ भन्ने कुरा गर्नुहुन्छ । उनिहरुले त्यसो भनिरहँदा मलाई अझ सुधारिनुपर्छ कि भन्ने लाग्छ । यहाँका कांग्रेसलगायत अन्य पार्टीका साथीहरुले रामकुमार सबैका काम गर्ने मान्छे हो । उहाँ हुँदा हामीलाई कुनै आपत्ति छैन । सबैको काम गर्ने मान्छे हो । उसले भ्रष्टाचार गर्दैन, काम गर्दा राजनीति पूर्वाग्रह राख्दैन भन्ने सबैको धारणा छ । मैले पनि म वडा अध्यक्ष भएर कुर्सीमा बसिरहँदा वडावासीहरु समस्या लिएर आउँदा सबैको समान रुपमा काम गरेँ । आउँदा दिनमा पनि भलै म नेपाली कांग्रेसको तर्फबाट चुनाव लडेको छु । तर, वडावासीको काम गर्दा पार्टीगत राजनीतिबाट माथि उठेर काम गर्ने छु । यो अर्को पार्टीको हो, यसको काम रोक्नुपर्छ, विकास रोक्नुपर्छ भन्ने कहिल्यै सोचाइ भएन र आउँदा दिनमा पनि त्यसो गर्ने छैन । पहिलो पटक वडा अध्यक्षमा विजयी भएको भोलिपल्ट मसँग प्रतिस्पर्धी श्यामलाल तन्दुकार हुनुहुन्थ्यो । उसँग मैले ‘तपाईं हामी टोलवासी दाजुभाइ हो, मैले चुनाव जितेँ । अब तपाईं हामी एक भएरै काम गर्ने हो । तपाईंको टोलमा केकस्ता विकास निर्माणका काम छन् ल्याउनुस् भन्दा उहाँ छक्क पर्नुभयो । उहाँ थोरै भोटले पछाडि पर्नु भएको थियोे, म थोरै भोटले अगाडि परेँ त्यति न हो । म समाजसेवामा लागेको, उहाँ पनि समाजसेवामै लागेको मान्छे हो । यसकारण पनि मलाई चुनाव जित्न सहज छ ।

वडा अध्यक्षमा निर्वाचित भएपछि साझा रुपमा जनताको काम गर्नुहुन्छ हो ?

पार्टीभित्र म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । तर, जनताबाट चुनिएर गइसकेपछि म यहाँका जनताको साझा प्रतिनिधि हो । पार्टीमा म यस वडाको इकाइ सभापति नेपाली कांग्रेस हो । तर, वडा कार्यालयमा पुगेपछि रामकुमार केसी वडा कार्यालयको अध्यक्ष हो । त्यो कुर्सीमा बसेपछि यस वडाका जुन व्यक्तिको काम भएपछि समान रुपले गर्नुपर्छ मैले । तर, कतिपय वडाहरुमा यो छैन । एकले अर्काविरुद्ध कानेखुसी गर्ने कुरा लगाउने, काम गर्न वाधा पुर्याउने, पार्टीगत रुपमा पूर्वाग्रही ढंगले प्रस्तुत हुने चलन छ । तर मैले हिजो पनि पूर्वाग्रह नराखीकन सबैको साझा रुपमा काम गरेँ र आउँदा दिनमा पनि म वडावासी सबैको साझा ढंगले काम गर्ने छु ।

अन्त्यमा वडावासीहरुलाई के भन्नुहुन्छ ?

वडावासी आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरुलाई म के भन्न चाहन्छु भने तपाईंले मलाई यसअघि पनि वडा अध्यक्ष हुने मौका दिनुभयो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म फेरि वडा अध्यक्षको उम्मेदवार बनेर आउँदैछु । त्यसमा तपाईंहरुको साथ, सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास गर्दछु । म नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेर चुनाव लड्न आइरहँदा पनि चुनाव जितिसकेपछि भोट दिन नदिने सबैको साझा रुपमा काम गर्ने छु । यस वडाको समस्या भनेको शान्ति सुरक्षा, खानेपानी व्यवस्थापन र ढलनिकास नै महत्वपूर्ण कुरा हो । शान्तिसुरक्षाको लागि सीसी क्यामेराको व्यवस्था गर्ने छु । ट्राफिक व्यवस्थापन र पार्किङको समस्या समाधानका लागि लागिपर्ने छु । ट्राफिक व्यवस्थापनको लागि बागमती, विष्णमतीलगायतका नदीमा करिडोरको व्यवस्थापन गर्नुपर्ने छ । करिडोरको अवधारणा काठमाडौं महानगकापालिकाका पूर्व मेयर पीएल सिंहले ल्याउनुभएको हो । अहिलेसम्म जेजति करिडोर बनेका छन् । त्यसको श्रेय नेपाली कांग्रेसका नेता तथा पूर्व मेयर पीएल सिंहलाई जान्छ । उहाँले भनेअनुसारको करिडोर बनाइएको भए अहिले काठमाडौंमा ट्राफिक जाम हुने थिएनन् । उहाँले बनाएको मापदण्डलाई पछि आएका कम्युनिस्ट सरकारहरुले करिडोर साँघुरो बनाए । सार्वजनिक जग्गा व्यक्तिका नामतिर तान्ने काम गरेर करिडोर साँघुरो भएको हो । त्यसलाई काठमाडौं महानगरमा नेपाली कांग्रेसले मेयरसहित सम्पूर्ण वडामा विजय हासिल गरेपछि व्यवस्थापन गरेर आदरणीय नेता पीएल सिंहको सपना साकार पार्नुछ । त्यसको लागि पनि मलगायत काठमाडौंको मेयर, उपमेयर र वडामा कांग्रेसको जित आवश्यक । यदी बहुमत साथा काठमाडौ महानगरपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा विजयी भएर आएको खण्डमा हामी शुरुको २ बर्ष भित्र काठमाडौ शहर रुपै फरक पार्दिने गरि काम गर्ने योजना र भिजन छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *