निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको माग

काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका क्रममा दलहरुबाटै आचारसंहिता उल्लङ्घन भएको भन्दै यसलाई रोक्न निर्वाचनमा भाग लिएका साना दल तथा स्वतन्त्र उम्मेदवारले माग गरेका छन् । जिल्ला प्रशासन कार्यलय भक्तपुुरमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनबारे छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा ठूला दलले शक्ति प्रर्दशन गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोगले बेवास्ता गरेको र कारवाही नगरेको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका नेता यादवप्रसाद अधिकारीले आचारसंहिता कडाइकासाथ कार्यान्वयन गर्न जोड दिए । नेकपा (एमाले)का अध्यक्ष वचन देउजाले उम्मेदवारी दर्ताकै दिन दलहरुबाट आचारसंहितामा उल्लङ्घन भएको भन्दै पालना गर्न–गराउन कडाई नगरे दलहरुबीच द्वन्द बढ्ने र त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्ने औँल्याए ।

बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवं उम्मेदवार रवीन्द्र ज्याख्वाले मनोनयन दर्तामा उपयुक्त व्यवस्थापन नहुँदा अन्तिम नामावली समयमै प्रकाशन नगर्दा दावी विरोधको उजुरी गर्न नपाएको गुनासो गरेका छन् । राप्रपाका प्रतिनिधि राजिव लामिछानेले विगतका निर्वाचनमा भएको त्रुटी नदोहरिन आयोग सचेत हुनपर्ने जनाउँदै आचारसंहिता पालनामा कडाई गर्न माग गरेका छन् । सहभागी स्वतन्त्र उम्मेदवारहरुले ठूला दलले आफ्नो शक्ति प्रर्दशन गरेको, आचारसंहिता व्यापकरुपमा उल्लङ्घन गर्दा पनि आयोगले बेवास्ता गरेको आरोप लगाएका थिए ।

जिल्ला न्यायाधिस एवं मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले ‘सर्भर डाउन’ हुँदा मनोनयन दर्ता र नामावली प्रकाशनमा ढिलासुस्ती भएको भन्दै दलहरुलेनै आचारसंहिता बनाएकोले त्यसबारे दलनै जिम्मेवार हुनुपर्ने तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला र नगर निर्वाचन अनुगमन समितिले निर्वाचनको हरेक गतिविधिको अनुगमन गर्ने बताउदै कानुनको पालना गर्नु सबैको कर्तब्य भएको बताए । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई शंकास्पद व्यक्ति र गतिविधिबारे समयमै जानकारी गराउन, चुनावलाई शान्तिपूर्ण बनाउन सबैको भूमिका रहने बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिव घिमिरेले निर्वाचन कार्यालयले पत्रकारलाई निर्वाचनका सूचना दिन कन्जुस्याइँ गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । स्थानीय सञ्चारकर्मीले हालको निर्वाचन प्रक्रिया मिडिया मैत्री नभएको र निर्वाचन कार्यालयले मिडियालाई सहजरुपमा सूचना उपलब्ध नगराएको गुनासो गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *