मनोनयन फिर्ताका लागि दबाब नदिन आयोगको ध्यानाकर्षण

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ । उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि नगराउन सरोकारवालालाई आग्रह गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ “यस्ता गतिविधिले कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवं कानूनी अधिकार कुण्ठित हुन जाने भएकाले निर्वाचनलाई प्रभाव पार्ने गतिविधि नगर्न÷नगराउन सरोकारवाला सबैप्रति आग्रह गर्दछ । ” यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारले आज अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिनसक्ने आयोगले जनाएको छ । कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरी उम्मेदवारको नामावली प्रकाशित भएपछि आफूलाई उम्मेदवार फिर्ता लिन इच्छा भएमा लिखित सूचना दिएर मात्रै उम्मेदवारी फिर्ता हुनसक्ने आयोगले प्रष्ट पारेको छ ।

दलका तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिनेगरी लिखितरुपमा लेखी पठाएमा मात्रै उम्मेदवारको नाम फिर्ता हुने आयोगले जनाएको छ । आयोगले सम्पूर्ण राजनीतिक दल, तिनका उम्मेदवारलाई संविधान र कानूनको पूर्णपरिपालना गर्न, गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निजको स्वविवेकीय अधिकारको सम्मान गर्न पनि आग्रह गरेको छ ।

राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसुर तथा आचारसंहिताविपरीत कार्य भएकाले यस्ता कार्य कुनै पनि हालतमा नदोहो¥याउन आयोगले स्मरण गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *