पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनाका विवरण : कहाँ कहाँ के भयो ?

काठमाडौँ । अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

चितवन, राप्ती नगरपालिका-१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-३ तिलकपुर बस्ने २९ वर्षीय टिकेन्द्र चौधरीलाई करिब २ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

तेह्रथुम, लालिगुँरास नगरपालिका-१ टुटेदेउराली बस्ने ३० वर्षीय राम गुरुङलाई करिब १ ग्राम ४ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ चित्रेस्थित सडकमा ना.४ ख ९२१० नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले बसको बोनटमा उक्त पदार्थ लुकाई राखेको भनि बताएपछि म्याङलुङ नगरपालिका-१ बसपार्कबाट प्रहरीले उक्त पदार्थ बरामद गरेको हो ।

सप्तरी, बोदेबर्साइन नगरपालिका-९ देउरी बस्ने १९ वर्षीय शंकर यादवलाई नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार २ सय ५० ट्याब्लेट, डाईजेपाम ७ सय ५० एम्पुल, फेनारगन ७ सय ५० एम्पुल र नुर्फिन ७ सय ५० एम्पुल सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले यादवलाई निजकै घर कोठामा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध लुपिजेसिक २७ एम्पुल, डाईजेपाम २७ एम्पुल र फेनारगन २७ एम्पुल सहित मोरङ मिक्लाजुङ गाउँपालिका-७ मधुमल्ला बजार बस्ने ३५ वर्षीय सुरेश लावतीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-५ स्थित जंगलबाट प्रदेश २-०२-००१ प ९४४८ नम्बरको मोटरसाइकल र करिब ५ केजी अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको छ । बर्दिबास नगरपालिका-१० स्थित टुटेश्वर खोलामा प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोटरसाइकल नरोकी भाग्ने क्रममा उक्त स्थानमा उक्त मोटरसाइकल र लागूऔषध भएको झोला छोडी मानिस फरार भएपछि प्रहरीले उक्त लागूऔषध र मोटरसाइकल बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वेवारिसे अवस्थामा रहेको बन्दुक बरामद

कास्की । अन्नपूर्ण गाउँपालिका-८ बिरेठाटी बासगरास्थित पाटे भिरको जंगलमा वेवारिसे अवस्थामा रहेको बाह्रबोर बन्दुक १ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानामा बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिरेठाटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ सेल्फिडाँडास्थित सडकमा ना.५ ख २१४९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय निङ राम गुरुङको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मुक्तिनाथबाट जोमसोमतर्फ जाँदै गरेको  उक्त बसले ग.७ प २५७२ नम्बरको स्कुटर र पैदलयात्री समेतलाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका बसमा सवार ३५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने स्कुटर चालक उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, खैरहनी नगरपालिका-८ मगनी गाउँस्थित भित्री सडकमा टुंगराबाट पर्सातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०१ ह १६२१ नम्बरको अटो आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय लक्ष्मण बछाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं । सोलुखुम्बु, खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ टासिङ्गा डेरा गरी बस्ने महाकुलुङ गाउँपालिका बुङ घर भएका ५५ वर्षीय लाटा काईला भन्ने पुरूष आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, कमलामाई नगरपालिका-६ स्थित बसपार्क प्रतिक्षालय नजिक सोही नगरपालिका-४ घर भएका ५५ वर्षीय बुद्ध बहादुर स्याङबो बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, जनकपुर उपमहानगरपालिका-४ राम मन्दिरस्थित पिपल वोट छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु

नवलपरासी (पूर्व), गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीमा डुबेर सोही ठाउँ बस्ने १६ वर्षीय शुशिल पौडेलको बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउन गएको अवस्थामा पौडेल डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले डुबिरहेको अवस्थामा फेला पारी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा उनको उपचारको क्रममा उनको मृत्यु भएको हो ।

सिरहा, लहान नगरपालिका-१९ कटाहा बस्ने रामसेवक सदायकी छोरी ४ वर्षीया सन्तोषी सदायको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै आमासँग पोखरीमा नुहाउने क्रममा डुबेर असक्त भएकी उनको शिद्धलक्ष्मी हेल्थ केयर लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

बारा, कोल्हबी नगरपालिका-६ कुमरगढी बस्ने ६० वर्षीया प्रेमी देवीको आगलागीमा जलेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको भान्सामा दुध तताउने क्रममा ग्याँस लिक भई शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी उनको राजलक्ष्मी रिलिफ अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुर, बागमती गाउँपालिका-७ गिम्दी बस्ने ४० वर्षीय राजेश नेगीको घरमा बिहीबार दिउँसो खाजा बनाउने क्रममा नजिकैको मट्टीतेलको भाँडोमा आगो सल्कन गई आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रोल्पा, सुनछहरी गाउँपालिका-७ फगाम बस्ने ३२ वर्षीया सिर्जना घर्तीको घरमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर, सुनचाँदी, नगद ३० हजार रुपैयाँ, लत्ताकपडा, भाडावर्तन गरी करिब २१ लाख ९७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-९ समावेसी चोकस्थित रूरू ईन्डस्ट्री (सनराइज ब्याट्री) कम्पनीमा अचानक करेन्ट सर्ट भई गएराति आगलागी भएको छ । आगलागीबाट कम्पनीमा रहेको अन्दाजी २ हजार २ सय थान मोटरसाइकलमा लाग्ने ब्याट्रीहरू जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण हाल खुलेको   छैन । प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी नागेश्वर टोल केसी गाउँ बस्ने दिपक थापाको घरबाट कोही नभएको अवस्थामा ताला फोडेर सुनका विभिन्न गरगहना र नगद ६५ हजार रूपैयाँ समेत गरी करिब १७ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर मदन भण्डारी पार्क नजिक डेरा गरी बस्ने मोरङ बिराटनगर महानगरपालिका-७ घर भएकी २८ वर्षीया शर्मिला श्रेष्ठको कोठाबाट झ्यालको ग्रिल फोडेर प्रवेश गरी सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ९ लाख ८ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *