लोसपाको घोषणापत्रः ‘निःशुल्क शिक्षा र सर्वसुलभ स्वास्थ्यदेखि स्मार्ट स्थानीय तहसम्म’

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, अनुसशासित, सुशासित र भ्रष्टाचारयुक्त स्थानीय सरकारलगायत महत्वकाङ्क्षी अवधारणासहित पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक गरेको छ ।

लोसपाले प्रस्तावनामा अर्थ–राजनीतिक परिदृश्य र राजनीतिक दलबारे अवधारणामा वर्तमान राजनीतिक परिस्थिति र नेतृत्व, लोकतन्त्रको अभ्यास र नागरिकको भूमिका, अर्थतन्त्रको अवस्था तथा संविधान संशोधनको अपरिहार्यताबारे दृष्टिकोण उल्लेख गरेको छ । पार्टी कार्यालय बबरमहलमा आज आयोजित पत्रकार सम्मेलनमा लोसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतोलगायत नेताहरुले पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभयो । लोकतान्त्रिक समाजवादको विचारधारा अङ्गालेको लोसपाले १० वैचारिक धरातल र २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

सहभागितामूलक समावेशी लोकतन्त्र, पहिचानसहितको सङ्घीयता, स्वतन्त्र र समावेशी न्यायपालिका, स्वतन्त्र, स्वच्छ, प्रविधियुक्त सबै तहको निर्वाचन, समावेशी र समतामूलक राज्यव्यवस्था, साझा र बहुसांस्कृतिक, राष्ट्रियतालाई पार्टीको धरातलका रुपमा लिएको छ । यस्तै नेपाल सुहाउँदो लोकतान्त्रिक अर्थतन्त्र, राष्ट्रहितमा सन्तुलित विदेश नीति, सुशासन, सदाचार र भ्रष्टाचारमुक्त, समाज र पर्यावरणीय सन्तुलन र संरक्षणबारे पार्टीको धारातालका रुपमा व्याख्या गरिएको छ ।

त्यसैगरी प्रतिबद्धतामा सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार, सहज र छरितो सेवा प्रवाहको विषय उठाएको लोसपाले स्थानीय निकायमा कर्मचारी भर्ना छनोट स्थानीय तहबाटै हुनुपर्ने धारणा राखेको छ । महिलामैत्री पूर्वाधार, कृषि सेवा विस्तार, युवाको सन्तुलित विकास र खेलकूद पूर्वाधार निर्माण, ग्रामीण सडक, थप पर्यटकीयस्थलको पहचिान र पूर्वाधार विकास, सहरी हरितक्रान्ति, व्यवस्थित र सुशासित र भ्रष्टाचारमुक्त स्थानीय सरकार सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति, विशेष नगर, विशेष अवसर र विशेष व्यवस्थालाई लोसपाले आफ्नो प्रतिबद्धतामा समेटेको छ ।

सो अवसरमा लोसपाका अध्यक्ष ठाकुरले आफूहरुले विगतदेखि नै उडाउँदै आएका मुद्दा यथावत् रहेको भन्दै मधेसी, महिलासहित सम्पूर्ण उत्पीडन र पछाडि परेका वर्गको मुक्ति सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि शान्तिपूर्ण सङ्घर्ष जारी रहने बताए । उनले सम्पूर्ण महिला, मधेसी, शिल्पी/दलित, थारु, मुस्लिम, आदिवासी जनजाति, पिछडावर्ग, अल्पसङ्ख्यषक, सिमान्तकृत, विपन्न वर्गलगायत बहिष्करण तथा वञ्चितीकरणमा परेकाको पहिचान र अधिकारका लागि निरन्तर लागिपर्ने अठोट व्यक्त गरेका छन् ।

अध्यक्ष ठाकुरले हरेक विभेदबाट मुक्त नागरिकता वितरणको सुनिश्चितताको परिणाममुखी र लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँ तहमा नै लोकतन्त्र, सुशासन र जनकल्याणलाई स्थापित गर्न आगामी स्थानीय निर्वाचनलाई अवसरका रुपमा सबै मतदाताले प्रयोग गर्न जरुरी भएको उल्लेख गरेका छन् ।

लोसपाले संविधानमा समेटिनुपर्ने विषय, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्नेमा जोड दिएको छ । लोसपाका नेता महतोले लोसपालाई स्थानीय निर्वाचनलाई विगतमा उठाइरहेको मुद्दा र उत्पीडनमा परेका जातजाति समुदायको पहिचान र अधिकारको सङ्घर्षको आधार तयार गर्ने कडीका रुपमा स्थानीय तह निर्वाचनलाई लिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *