आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी

मातृदेवो भव । पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिता भन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमा प्रति सम्मान र आमालाई सम्झनेदिन हो ।
संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्य धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार मात्रै होइन । आमा हाम्रो जीवनको आधारस्तम्भ हुन । आमालाई बिहान सबेरै उठी, स्नान गरी, आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा मिठा परिकारहरु सहित आमाघर अर्थात माइत (जन्म घर) पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनि सम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमा प्रतिका आफ्ना भावना र सम्झनाहरु आमा प्रति व्यक्त गर्दछन् । पौराणीक कालदेखि नै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौ उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।
तपाँई पनि आमावाट पर हुनुहुन्छ भने एक फेर आमालाई फोन गरेर आफ्नी आमाको आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथीभाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृतान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस्, जगतको भलो होस्, आमाको माया र वहाँले खुवाउनु भएका दस धारा दुधका धर्साहरु प्रति हामी वफादार र ईमान्दार हुन जरुरी छ ।
आजभोली विभिन्न कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन वढ्दै गएको छ, जून मानवता प्रति नै एउटा अभिषाप हो । समय त खोला न हो, आफूले गरेका कुराहरु आफैलाई फर्किने गरि समय पनि आँउछ । वगेको समयमा आफ्नो दायीत्ववाट विमुख हुनु मानव चरित्र पक्कै हैन है ।

मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमश: हराउँदै गए । ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएन । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।
मातातीर्थ औंसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमा प्रति सम्मान र आमालाई सम्झिने दिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहना पुरा गरिदिने, कल्पवृक्ष सरि आमा । यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *