गोकर्णमा मध्यरातमा सुरु भयो मानदेवकालीन कान्तिभैरव जात्रा

लेखक पुर्णप्रसाद मिश्र

काठमाडौँ । राजा मानदेवले चलाई हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ । चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीयाअर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ ।

वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासु बुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साविकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

“यो दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौँ”, कान्तिभैरवको गुठियारसमेत रहेका उहाँले भन्नुभयो ।

इतिहासदेखिको जात्रा विधि

जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षकरुपमा सिङ्गारिएको तीनतले खटमा विराजमान गराइन्छ । तीनवटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइन्छ । परिक्रमा गराउने क्रममा प्रत्येक चोक, दोबाटो र घर आँगनमा स्थानीयवासीले उत्साहसाथ श्रद्धाभाव अर्पण गर्दछन् ।

चतुर्दशीका दिन बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगी राख्छन् । गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाइ पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजूरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिङ्गारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ । यस अवसरमा बाजा बजाई हर्षबढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोलटोलमा घुमाइन्छ ।

भातको देवताअर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक÷एक पाथीे भातको देवता बनाउँछन् । पाक्तापाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीय रामजी श्रेष्ठ बताउनुहुन्छ ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन् । जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायतका काममा जात्रालुको भीड लाग्ने गरेको डेढ दशकअघिदेखि जात्रा हेर्दै आउनुभएकी सपना श्रेष्ठ बताउनुहुन्छ । 

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पु¥याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र बिसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको  प्रसाद लिन सहभागीबीचमा तछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ । 

आमाको मुख हेर्न भैरव

आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पु¥याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास यस क्षेत्रका मानिसमा लिच्छविकालदेखि रहेको कान्तिभैरव जात्राका विषयमा त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयअन्तर्गत स्नातकोत्तर तहको शोध गर्नुभएका बटुराम भण्डारी बताउनुहुन्छ । रथ बिसाएपछि कर्माचार्य थरका पुजारीले बलिसहित पूजा गरेरमात्र सिन्दूर जात्रा गर्ने र रथ उठाउने परम्परा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

 रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटीलगायतका स्थानमा पनि बलिसहित पूजा गरिन्छ । सिन्दूरजात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशे अर्थात् लाछीमा लगी राखिन्छ । श्रीगणेश र श्रीकुमारीको रथ पनि त्यहाँ सिङ्गारेर राखिएको हुन्छ ।

श्रीभैरव, श्रीगणेश र श्रीकुमारीको तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । तीनै देवीदेवताका रथलाई पुनः सिन्दूरजात्रा गरी गोकर्णेश्वरका विभिन्न क्षेत्रमा घुमाइन्छ । औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमारी एवं बीचमा श्रीभैरवको रथ बिसाएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन पूजा गरेपछि मात्रै रथ उठाइन्छ । गोकर्णेश्वर नगरपालिका–४ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसको पाँचवटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरी बलि चढाइन्छ । 

यसपछि ध्वजा भएको बाँसको टुप्पाले रथको गजूरमा जुधाएर रथ उठाइ डठुलाछीमा लगिन्छ । यस दिन गोकर्णेश्वर नगरपालिकाका ऐतिहासिक १० गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन् । यसरी पूजा गरेपछि स्थानीयले  आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन छ । 

वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ । वैशाख शुक्ल तृतीयाअर्थात् अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुन्छ । 

जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रसस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको पशुपतिनाथ अमालकोट कचहरी र गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेका छन् । जात्राका लागि सरोकार भएका निकायले छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुस्किल परेको गुठियारको गुनासो छ ।

कान्तिपुर नामकरण भएको जात्रा

यही जात्राको नामबाट कान्तिपुर नगरको नामकरण गरिएको विश्वास गरिन्छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका प्राध्यापक मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा भैरव परम्पराको विषय उल्लेख गर्नुभएको जात्राको विषयमा स्नातकोत्तर शोध गर्नुभएका भण्डारीले जानकारी दिनुभयो । पुस्तकमा कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएको विषय पनि उल्लेख गरिएको छ । वैशाख कृष्ण चतुर्दशीको मध्यरातिदेखि सुरु हुने जात्रा भए पनि स्थानीयवासीको सहभागिता भव्य हुन्छ । मध्यरातमा हुने जात्रा भएकाले चिरागको विशेष किसिमको बत्ती बाल्नु यो जात्राको सबैभन्दा आकर्षक पक्ष भएको स्थानीयवासी कृष्णशरण श्रेष्ठ बताउनुहुन्छ ।
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.