‘लक्ष्मी ह्यग्रीव’ मन्दिरको प्राण प्रतिष्ठा वैशाख २६ गते हुने

लेखक-मिश्र

काठमाडौँ । भगवान् विष्णुका २४ अवतारमध्येको एक ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमतेश्वर क्षेत्रमा भएको छ ।

मन्दिर यही वैशाख २६ गतेको शुभ साइतमा प्राण प्रतिष्ठा गरिने भएको छ । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकोलाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गर्नुभएको थियो । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिनुभएको वर्णन विभिन्न वैदिक एवं शास्त्रीय ग्रन्थमा गरिएको छ ।

ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले ह्यग्रीव रूप धारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको लक्ष्मी ह्यग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदिश प्रपन्नाचार्यले राससलाई जानकारी दिनुभयो । ह्यग्रीव रुपधारण गरेर भगवान् विष्णुले वेदको उद्धार गर्नुभएको सन्दर्भ श्रीमद्भागवतको द्वितीयस्कन्ध सात अध्यायको ११ औँ श्लोकमा वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको छ ।

भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ । ह्यग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकून् भनी वर मागेकाले भगवान् विष्णुले ह्यग्रीव रूप धारण गर्नुभएको हो । भगवान् ह्यग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुभएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदिश प्रपन्नाचार्य बताउनुहुन्छ ।

कोलमतेश्वर तीर्थको धार्मिक, पौराणिक महत्त्व

स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तीर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो”, उहाँले भन्नुभयो ।

कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्त्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको हो । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी जगदिश प्रपन्नाचार्य बताउनुहुन्छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।

यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रुपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२ औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदिशको विश्वास छ । सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो ।

नेपाल माहात्म्यको ३२ औँ अध्यायको २८, २९ र ३० औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् ह्यग्रीव बस्नुहुन्छ भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्य युगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
धार्मिक महत्त्व भए पनि गोकर्णेश्वर उत्तरबाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको थियो । यहाँको प्राचीन महत्त्व थाहा पाएपछि स्थानीयवासी मन्दिर निर्माणमा जुटेका हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासी जुटेका छन् ।

मन्दिर व्यवस्थापन एवं निर्माण समितिका अध्यक्ष ध्रुव सिम्खडा लक्ष्मी ह्यग्रीव मन्दिर र कोलमतेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको बताउनुहुन्छ । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाकै सहयोग यस क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयन हुन लागेको उहाँले सुनाउनुभयो ।

कोलमतेश्वर क्षेत्रमा गौशाला र गुरुकुल

कोलमतेश्वर र लक्ष्मी ह्यग्रीव मन्दिरमा गाईको दूध चढाउन मन्दिर व्यवस्थापन समितिले गौशाला सुरु गरेको छ । गौशालामा स्थानीय जातका गाईका माउ बाच्छी र एउटा साँढे ल्याइएको छ । भक्तपुरको छालिङस्थित पञ्चमहालक्ष्मी मन्दिरबाट स्थानीय जातका गाईका माउ बाच्छीसहित साँढे ल्याइएको हो ।

मन्दिर क्षेत्रमा यसअघि नै गुरुकुल सञ्चालनमा आइसकेको छ । गुरुकुलमा आवासीय सुविधासहित १५ जनाको क्षमता भए पनि कोरोनापछि सात जनामात्र छन् । यहाँको गुरुकुलमा जुनसुकै जातकालाई पनि अध्ययन गर्ने अवसर दिइन्छ । कोलमतेश्वरमा स्वामी जगदिश प्रपन्नाचार्यले विसं २०७२ आश्रम सुरु गर्नुभएको हो । यसअघि उहाँले विसं २०६८ कात्तिकमा रिडीमा श्री सत्सङ्ग जागरण आश्रम सुरु गर्नुभएको थियो । हाल यो आश्रम कोलमतेश्वर र पनौतीमा पनि बिस्तार गरिएको जनाइएको छ ।

कोलमतेश्वरमा आश्रम निर्माण हुनुअघि एउटा पाटीमात्र भक्तजनका लागि उपलब्ध थियो । रिडीको ऋषिकेश मन्दिरमा आश्रम स्थापना गरेपछि धार्मिक क्षेत्रको सार्वजनिक जग्गामा निर्माण भएका रेष्टुराँ हटाएर फूलप्रसाद पसल स्थापना गरिएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा भने जग्गा लिएर आश्रम बनाउन तयारी भइरहेको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.