सरकारी कार्य सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको छ : सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव वैकुण्ठ अर्यालले आफ्नो कार्यालयको ९० प्रतिशत कार्य डिजिटल प्रणालीबाट (प्रविधिमैत्री) गर्न थालिएको बताए । प्रविधि पत्रकार मञ्चद्वारा प्रकाशित ‘प्रविधि’ नामक कृति विमोचन गर्ने क्रममा उनले सूचना प्रविधिको विकास छिटो हुने र दैनिक जीवनमा सहजता ल्याउने हुँदा सरकारी कार्य प्रणालीलाई सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको बताए । सरकारले निजी क्षेत्रको सहकार्य र समन्वयमा प्रविधि क्षेत्रको विकासमा सहयोग गर्ने उल्लेख गर्दै उनले समग्र बिजनेस प्रणालीलाई डिजिटल बनाउन सकिएमा उत्पादनका साथै वितरण प्रणाली सहज बनाउन सकिने बताए ।

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कुनै समय इन्टरनेट र टेलिफोन दुवैलाई विलासी सेवाका रूपमा लिइने गरेको भए पनि अहिले ती अति आवश्यक सेवाका रूपमा परिवर्तन भएको चर्चा गर्दै यस क्षेत्रको समग्र विकासका साथै नियमनका लागि प्राधिकरण स्थापना गरिएको बताए । यस क्षेत्रका विज्ञबाट डिजिटल नेपाल निर्माणका प्रावधान तथा यसलाई थप व्यवस्थित बनाउनेबारे सुझाव दिइएको उक्त समारोह रोर्बटको सहायताबाट उद्घाटन गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *