प्रेस स्वतन्त्रता हनन्का ७५ घटना

काठमाडौँ । वितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन इकाइको तथ्याङ्कअनुसार यसवर्ष पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३०० भन्दा बढी उजुरी परेका छन् ।

प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा ५४ वटा घटना भएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिएका छन् । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६ वटा हननका घटना भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने यो पटक हननका घटना भएको पाइएको छैन ।

प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुुँदा २७२ सञ्चारकर्मी, ९ सञ्चारगृह र ३३ महिला पीडित भएको पोखरेलले बताए । “अघिल्लो वर्ष महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका ४५ घटना थिए भने ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चार संस्था पीडित बनेका थिए, ५८४ पत्रकारमध्ये ७७ पत्रकार महिला थिए”, उनले भने ।

महासङ्घको अभिलेखअनुसार यो वर्ष तीन पत्रकार गिरफ्तारीमा परेका छन् भने आक्रमण, दुव्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन् । त्यस्तै पेशागत असुरक्षाको पीडा ३१ पत्रकारले खेप्दैछन् । कानुन बनाएर प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्न खोज्ने काम तीन पटक भएको छ ।

उल्लिखित तथ्याङ्कका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न सकिने अवस्थामा नभएको महासङ्घको भनाइ छ । पत्रकार महासङ्घले तीन तहका सरकारले निर्माण गर्ने प्रेससँग सम्बन्धित कानून प्रेसमैत्री हुनुपर्ने माग गर्दै आएको छ । भर्खरै संशोधन गरिएको प्रसारण नियमावलीका प्रावधान सच्याउनुपर्ने महासङ्घको माग छ ।

नागरिकको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउन प्रेस स्वतन्त्रता अनिवार्य हुने अध्यक्ष पोखरेलको भनाइ छ । “प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अङ्ग पनि हो, नेपालको संविधानको प्रस्तावमै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए तापनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन”उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *