लोकतन्त्रका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा आज उनले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई विजयी गराउनुुपर्ने आवश्यकता औँल्याए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नेपालको संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण र सुदृढीकरण गर्न पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उनले सोहीअनुरूप लोकतान्त्रिक र परिवर्तनकारी शक्तिका बीचमा आवश्यकताअनुसार चुनावी तालमेल र सहकार्यसमेत अघि बढेको धारणा व्यक्त गरेका छन् ।

गठबन्धनको अपरिहार्यतालाई आत्मसात् गर्दै लोकतान्त्रिक र परिवर्तनकारी पक्षधर उम्मेदवारलाई सबैले सहयोग गर्ने उनको अपेक्षा थियो । प्रधानमन्त्री देउवाले कांग्रेस सदैव लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि सङ्घर्ष गर्दै आएको र त्यसमा सदैव अडिग रहेको उल्लेख गर्दै कांग्रेस बलियो भएमात्र लोकतन्त्र सुदृढीकरण हुने बताए ।

भेटमा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको आसन्न नवौँ महाधिवेशनको तयारी, लोकतन्त्र रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका, मुलुकको सञ्चार क्षेत्रको अवस्थालगायत विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । भेटमा युनियनका, उपाध्यक्ष ईश्वरी ओझा, कावा महासचिव भीष्मराज ओझा र कोषाध्यक्ष सरोज अधिकारी सहभागी थिए । युनियनले नवौँ महाधिवेशन आगामी जेठ १३ र १४ गते मकवानपुरको हेटौँडामा गर्ने तय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *