देशभर विभिन्न ठाउँमा कहाँ कहाँ के भयो हेर्नुहोस्

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

भोजपुर । ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुरुपयोग गरेको भन्ने किटानी जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

साइकल दुर्घटनामा चालकको मृत्यु

सिरहा । कर्जन्हा नगरपालिका-३ सुन्दरपुरस्थित सडकमा साईकल खाल्डोमा परेर मंगलबार राति दुर्घटना हुँदा साइकल चालक सोही नगरपालिका-२ बस्ने ७२ वर्षीय दुख्खी यादवको मृत्यु भएको छ । उक्त साइकल सडकको खाल्डोमा परी यादव वेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कमलामाई पोलि क्लिनिक बन्दीपुर लगेकोमा थप उपचारका लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४ वर्षीय विबेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

सप्तरी, सुरुङ्गा नगरपालिका-८ महुलिया टोल बस्ने ७५ वर्षीय कुसुमलाल दास सोही नगरपालिका-६ स्थित सुरुङगा डाँडाको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

स्याङ्जा, आँधीखोला गाउँपालिका-२ सन्दिखोला बस्ने ५६ वर्षीया सुन माया नेपाली सोही गाउँपालिका-५ ओईयापुलस्थित मान्छे नबस्ने पुरानो घरभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

कपिलवस्तु, शिवराज नगरपालिका-५ पुर्वी रहटकोल गाउँ नजिक खेतमा विजयनगर गाउँपालिका-२ बस्ने ४५ वर्षीय प्रभु थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, अन्नपूर्ण गाउँपालिका-२ ठुलाचौर बस्ने ४७ वर्षीय ओम प्रकाश दाहाल सोही गाउँपालिका-२ तारे पहरो डम्थी सामुदायिक वनको भीरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । ओम प्रकाश र  सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण प्रसाद अधिकारी लगायत ५ जना पोखरा महानगरपालिका-२३ हर्पनबाट अन्नपूर्ण-२ ठुलाचौर जाने क्रममा ओम प्रकाश हराएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थाई प्रहरी पोष्ट बम्दीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

घरको छतबाट खसेर मृत्यु

काठमाडौ । महानगरपालिका-२६ ठमेल नरसिंह चोक बस्ने ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर भुईमा खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रुखबाट लडेर मृत्यु

बर्दिया । ठाकुरबाबा नगरपालिका-२ कर्णालीपुल नजिकै राष्ट्रिय निकुञ्जको जंगलमा रुखबाट लडेर कैलाली लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने ५० वर्षीया चन्द्राकला साउदको मंगलबार दिउँसो मृत्यु भएको छ । उक्त जंगलमा रुखबाट घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनको लालरत्न अस्पताल लम्की कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नगद तथा सुनका विभिन्न गहना चोरी

काठमाडौ । बुढानिलकण्ठ नगरपालिका-८ बाँसबारी न्यूरो अस्पताल नजिक बस्ने पबित्रा अर्यालको घरबाट नगद ६५ हजार रुपैयाँ तथा सुनका विभिन्न गहना समेत गरी करिब १० लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।  उनको घरमा अपरिचित व्यक्तिहरूले मुल ढोकाको ताल्चा फुटाई उक्त मूल्य बराबरको धनमाल चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

दाङ । राजपुर गाउँपालिका-१ सुकौली बस्ने केश बहादुर सुनारको घर र गोठमा मंगलबार दिउँसो आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *