योग्यताका आधारमा आउने हुन्, छोरी भनेर छेक्नु पनि हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताए । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनका लागि स्थानीय तहको निर्वाचनमा गठबन्धनले जित्नु आवश्यक रहेको बताए ।

पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएको भन्दै उनले गठबन्धन दललाई केही न केही फाइदा भएको बताए । उनले भने, “अहिले पनि कतिपय ठाउँमा मिलेको छैन । म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।”

दलहरुबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्दै उनले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको बताए । उनले भने, “दुई पटकसम्म संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो ।” प्रतिगमनकारी कदमको हामीले विरोध नगरेको भए देश अवनतिको बाटोमा जान सक्ने नेपालले बताए । दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्ने र लोकतान्त्रिक गठबन्धनलाई आघात पुग्ने गरी नलाग्न उनले आग्रह गरेका छन् ।

भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने उनको भनाइ छ । उनले भने, “रेनुलाई पुष्पकमल दाहालको छोरीका रुपमा मात्रै हेर्नुहुन्न, कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *