नाच्दै गाउँदै भोट माग्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन अब आठ दिन मात्र बाँकी रहँदा म्याग्दीमा दलहरूले चुनाव प्रचार–प्रसारलाई तीव्र पारेका छन् ।सहर–बजारदेखि ग्रामीण क्षेत्रसम्म निर्वाचनको रौनक छाएको छ । गणतन्त्र स्थापना पछि दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी अभियानलाई थप आकर्षित गर्न दलहरूले गीत–सङ्गीतलाई नै माध्यम बनाएका हुन् । चुनावी आमसभामा मतदातालाई आकर्षित गर्न दलहरूले कलाकारको टोली नै बोकेर हिँडेका छन् । आफ्नो पार्टीमा आस्थावान कलाकार बोकेर चुनावीसभामा पुगेपछि मतदाताको जमघटसमेत बढेको छ ।

आफ्नो पार्टीको गीतमा नृत्य प्रस्तुत गर्ने कलाकारले गाउँ–ठाउँको विकासमा केन्द्रित हुने पार्टीलाई भोट हाल्नसमेत आह्वान गरेका छन् । नेकपा (एमाले) बेनी नगरपालिकाले गीत–सङ्गीतसँगै अभिनयलाई प्राथमिकता दिएको छ भने अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले समेत हरेक वडामा हुने चुनावीसभामा कालाकारलाई समेत प्राथमिकतामा राखेको स्थानीय पत्रकार सुरेन गुरुङले बताए । “भाषणले मात्रै मतदातालाई आकर्षित गर्न नसकेपछि दलहरूले साङ्गीतिक कार्यक्रममार्फत चुनावीसभाको माहोल बनाएका छन्”, उनले भने । पत्रकार गुरुङले अन्नपूर्णका हरेक वडामा कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र)को चुनावी आमसभामा कलाकारलाई प्राथमिकता दिएको बताए । प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक सङ्गठन गीत–सङ्गीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाउन थालेपछि उम्मेदवारसमेत उत्साहित भएका छन् ।

सत्तारुढ कांग्रेसले स्थानीय कलाकारलाई पारिश्रमिकसमेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ भने एमाले र माओवादी केन्द्रले समेत चुनावी खर्चबाटै समेट्ने गरी कार्यक्रम गरेको बताएको छ । एमालेको बेनी नगरको कार्यक्रममा जिल्लामा स्थापित कलाकार नै सहभागी छन् । नाटक र अभिनयबाट अन्य दललाई आरोप लगाउन नपाइने भएकाले अनुगमनसमेत गरिने निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन आरसंहिता २०७८ ले ‘कसैको चरित्रहत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न वा कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न/नगराउन नहुने’ व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *