यस्ता छन् छ दलका घोषणापत्रमा पर्यटन विकासका खाका

काठमाडौँ । कोरोनाको महामारीले सबैभन्दा बढी असर पारेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्गिँ्रदै छ । अहिले विदेशी पर्यटकको आगमन पनि क्रमशः बढिरहेको छ । राजधानी काठमाडौँसहित प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढ्नाका साथै भरिभराउ पनि भएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस वर्षको अप्रिल महिनाको पर्यटक आगमन कोरोना महामारीपछि सबैभन्दा बढी हो । यस वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटकको आगमन बढिरहेको छ ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६ र मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको याम भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । यतिखेर पर्वतारोहण र पदयात्राको उपयुक्त बेला भएकाले पनि विदेशी उल्लेख्य सङ्ख्यामा आइरहेका छन् । पर्यटन विभागका अनुसार सगरमाथासहित हिमाल आरोहणका लागि ११ आरोही समूहका ८९९ आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०२१ मा डेढ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा दुई लाख ३० हजार र सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक भित्रिएका थिए । यो वृद्धि १२दशमलव पाँच प्रतिशतले भएको थियो ।

पन्ध्रौँ पञ्चवर्षीय योजनामा पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा लिइएको छ । नेपालले विश्वकै आकर्षक गन्तव्य विकास र गुणस्तरीय पर्यटन सेवा दिने नीति लिएको छ । स्थानीय तहको निर्वाचन देशभर यही वैशाख ३० गते हुँदैछ । स्थायी सरकारको महत्वपूर्ण संरचना जनतासँग प्रत्यक्ष जोडिने भएकाले पनि स्थानीय तहको चासो स्वभाविक हुन्छ । सोही निर्वाचनलाई लक्ष्य गरेर राजनीतिक दलले आ–आफ्ना निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका छन् । देशको अर्थतन्त्रको दरिलो आधारका रूपमा रहेको पर्यटनलाई प्रमुख राजनीतिक दलले पनि उच्च प्राथमिकता दिएर आगामी रणनीतिहरू बनाएका छन् । उनीहरुले पर्यटन क्षेत्रलाई राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा अघि बढाउन उच्च प्राथमिकता दिएका हुन् । नेपाललाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा यसलाई अघि बढाउन उच्च प्राथमिकता दिइने दलको प्रतिबद्धता छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत पार्टीले आ–आफ्नो चुनावी घोषणपत्रमार्फत पर्यटन प्रवद्र्धनका महत्वकाङ्क्षी योजना अघि सारेका हुन् ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसले पर्यटनबाट समुन्नत राष्ट्र बनाउन प्रशस्त आधार भए पनि अपेक्षित लाभ लिन नसकिएको अवस्थामा एकीकृत र व्यवस्थित विकाससँगै आगामी दशकमा यस क्षेत्रबाटै देशको अर्थतन्त्रमा अगुवाइ गराउने लक्ष्य लिएको छ । नेपाललाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा अघि बढाउन उच्च प्राथमिकता दिइने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले पर्यटकलाई बचाउन, फर्काउन र फैलाउनका लागि गन्तव्य प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास, विस्तार र स्तरोन्नति गर्ने, नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने बनाउने लक्ष्य लिएको छ । विशिष्ट सांस्कृतिक सम्पदाहरू र परम्परागत तथा पुरातात्विक महत्वका सामग्री सङ्कलन गरी हरेक स्थानीय तहमा कम्तीमा एउटा सङ्ग्राहलय निर्माण र वातावरणमैत्री व्यवसायका रूपमा पर्यटन प्रवद्र्धन गरिने कुरा पनि उल्लेख छ ।आकर्षक गन्तव्य र गतिवधिहरूको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नाका साथै उनीहरुसँग सहकार्य गर्ने, स्थानीय तथा बाह्य लगानीकर्तालाई पर्यटकीय गन्तव्य निर्माण र गतिविधि सिर्जना गर्नका लागि लगानीमा प्रेरित गर्ने बताइएको छ । पर्वतारोहण, पदयात्रा, जलयात्रा, जङ्गल सफारीजस्ता जोखिमयुक्त गतिविधिमा काम गर्ने जनशक्तिको जीवनलाई सहज र सुरक्षित बनाउने, परम्परागत शैलीमा निर्माण गरिएका घर संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माण गर्न खोज्ने स्थानीयवासीलाई सहुलियतको व्यवस्था गर्ने भनिएको छ ।

नेकपा एमाले

मौलिक कला, संस्कृति र पर्यटनबाट समृद्धिको अवधारणा ल्याएको नेकपा ९एमाले०ले तिनको जगेर्ना गर्दै स्थानीय पहिचानका क्षेत्रलाई अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । प्रत्येक पालिकाको गौरवका प्राकृतिक र सांस्कृतिक विषय छनोट र विकास गर्ने भनिएको छ । पर्यटकीय प्राकृतिक सम्पदा संरक्षण, ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन, मानव निर्मित पर्यटकीय वस्तुको विकास, मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरिने जनाइएको छ । सम्बन्धित पालिकाका र मुलुककै सांस्कृतिक पहिचान र गौरवको रक्षा गर्ने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदा एवं स्थानीय मेला, पर्व एवं जात्राको संरक्षण र व्यवस्थापन गर्ने एमालेको घोषणापत्रमा लेखिएको छ ।

प्राकृतिक पर्यावरणीय, साहसिक आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जन पर्यटन क्षेत्रको पहिचान, प्रवद्र्धन, विकास र संरक्षण गर्ने, जैविक र पर्यावरणीय विविधतासहितको ‘इको टुरिजम’को संरक्षण र विकास गर्ने एमालेको नीति छ । प्रत्येक वडामा बगैँचा तथा उद्यानको विकास तथा व्यवस्थापन गर्ने, पालिकाहरुमा पर्यटन प्रवद्र्धनका लागि होटल, रेष्टुरेन्ट, घरबास खोल्न प्रोत्साहन गरिने उल्लेख छ । पदमार्ग, पर्यटन सूचना केन्द्र पर्यटन प्रहरीको विकास, केबुलकार, प्याराग्लाइडिङ, बञ्जीजम्प, ¥याफ्टिङ, हटएयर बेलुन, हेलिप्याडलगायत पूर्वाधार तथा सेवा सुविधाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने योजना पनि एमालेकोे छ ।

नेकपा (एकीकृत समाजवादी)

नेकपा (एकीकृत समाजवादी)को घोषणापत्रमा स्थानीय सरकारले आफ्नो भूगोलभित्रका पर्यटकीय स्थानको विकास र संरक्षण गर्नाका साथै पर्यटक आकर्षित गर्न सकिने नयाँ–नयाँ योजना अगाडि सार्ने उल्लेख छ । यसका लागि स्थानीय साधन तथा स्रोतलाई अधिकतम प्रयोग गरी पालिकास्तरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेर आर्थिक गतिविधि बढाउने र रोजगारीका अवसर सिर्जना गरिनेछ । त्यसका लागि पर्यटन ग्राम, घरबास, पर्यटन सडक, पदमार्गलगायत पर्यटन पूर्वाधार निर्माण तथा ऐतिहासिक एवं धार्मिक पर्यटन प्रवद्र्धन गरिने एकीकृत समाजवादीको योजना छ ।

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीले हरेक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले सम्भाव्यताका आधारमा प्राकृतिक–पर्यावरण तथा धार्मिक क्षेत्रको संरक्षण ताल तथा नदीजन्य पदार्थको सही उपयोग, होमस्टे र पदयात्रा पर्यटनको विस्तार गर्दै पाँचवर्षे कार्ययोजनाका आधारमा निश्चित सङ्ख्याका स्वदेशी र विदेशी पर्यटक भित्र्याउने कार्यक्रम बनाउने नीति लिएको छ । पर्यटक आकर्षित गर्ने होटल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो पाँच वर्षसम्म आयकरमा ७५ प्रतिशत छुट दिइने बताइएको छ । होमस्टे सञ्चालन गर्न चाहने महिलाको समूहका लागि रु ५० लाखसम्म लिएको ऋणको पाँच प्रतिशतभन्दा बढी ब्याजमा अनुदान दिइने भनिएको छ ।

नेकपा (माओवादी केन्द्र)

माओवादी केन्द्रले पनि आफ्नो घोषणापत्रमा पर्यटन प्रवद्र्धनको नीति अघि सारेको छ । पर्यटनको प्रतिफल गाउँ–गाउँमा पु¥याउन, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न र पर्यटकीय पदमार्गको विस्तार तथा पर्यापर्यटनको विकासमा जोड दिइने घोषणापत्रमा उल्लेख छ । घरबासलगायत पर्यटनमैत्री वस्तु उत्पादन गरी आयआर्जनमा टेवा पु¥याइने तथा पर्यटनबाट हुने आयको न्यूनतम ५० प्रतिशत सम्बन्धित स्थानीय तहमै खर्च गर्ने नीति लिइएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीले थप पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण एवं प्रचार–प्रसार गर्ने योजना बनाएको छ । प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पन्नताको कारणले नेपालको हरेक पालिकाको कुनै न कुनै विशेषता रहेकाले उक्त दलले पर्यटकीयस्थलको पहिचान गर्ने र पर्यटनलाई पालिकास्तरसम्म नै लैजान विशेष व्यवस्था गर्ने योजना बनाएको छ ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका थप स्थलको प्रवद्र्धन गरिनेछ । नयाँ पहिचान भएका पर्यटकीय महत्वका स्थलको विकासका लागि आवश्यक सडक र अन्य पूर्वाधारको निर्माण गर्ने उद्देश्य लिइएको छ । पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि वेबसाइट र अन्य सामाजिक सञ्जालको प्रयोग गरिनेछ । पर्यटकीय स्थलको निर्माण, संरक्षण, पर्यटक ओसारपसार र प्रचारका लागि प्रादेशिक तथा सङ्घीय सरकारसँग सहकार्य गरिने लोसपाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *