‘के हामी भोट बैंक मात्रै हौँ ?’

जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन दिएका थिए ।

“चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भनेका थिए”, उहाँले दुःखेसो पोख्नुभयो, “तर जितेर गएपछि एउटा वैशाखी पनि दिएनन् ।” यस्तै भेरी नगरपालिका–११ कटीगाउँका डेढसयभन्दा बढी घरपरिवार हाल ऋणगरी जिविकोपार्जन गर्न बाध्य भएको स्थानीय बताउँछन् । ऋण तिर्नका लागि स्थानीय भारतसहित अन्य मुलुकमा गइरहेका छन् भने केही परिवार गाउँबाट विस्थापितसमेत भइसकेका छन् ।

निर्वाचनका बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरेपनि जितेर गएपछि गाउँ फर्केर नआएको कटिगाउँका नरबहादुर वरले बताउनुभयो । “हामी त भोट बैंक मात्रै भयौँ, मत माग्नका लागि चुनावैपिच्छे झुटो आश्वासन दिन्छन्, जितेपछि गाउँलाई फर्केर पनि हेर्दैनन्”, उहाँले भन्नुभयो । यसपटक ऋण तिर्ने गरी आयआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उहाँको भनाइ छ ।

वर्षौँदेखि दलहरूले सपना मात्रै बाँडिरहेको वर बताउनुहुन्छ । “गाउँमा मजदुरी नपाउँदा अधिकांश युवा कमाइ गर्न भारत गएका छन्, पुख्यौली पेशा पनि सङ्कटमा परेपछि जीविकोपार्जनमा समस्या हुँदै आएकोमा कसैले चासो दिएका छैनन्”, उहाँले भन्नुभयो । गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उहाँको भनाइ छ ।

झन्डै तीन–चार वर्षदेखि यस गाउँका अधिकांश नागरिक ऋण गर्दै दैनिक गुजारा गर्नुपर्दा गाउँ छाड्न बाध्य बनेका पाइन्छ । हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्ने दलहरूले दलित समुदायको समस्याका कुरा वर्षौँदेखि बिर्सिरहेको उनीहरुको गुनासो छ ।

“गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकोमा निकै दुःख लागिरहेको छ, यसअघिको निर्वाचनमा गरेका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने बेला आएको छ”, कुशे गाउँपालिका–४ का दत्तबहादुर नेपालीले भन्नुभयो । लिखित प्रतिबद्धताविना मत नदिने उहाँको तर्क छ । “अहिले त हामी गाउँका सबैले उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौँ”, उहाँले थप्नुभयो, “नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्ने बाध्यता छ ।”

यस भेगका दुई हजारभन्दा बढी परिवार मजदूरी गर्न बाहिर गएको नेपालीले बताउनुभयो । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेण्डा फेरि दोहोरिएको नलगाड नगरपालिका–३ का गङ्गराम नेपालीले बताउनुभयो । “यसपल्ट पनि हाम्रा लागि फकाउने पूरानै एजेण्डा मात्रै छन्”, उहाँले भन्नुभयो, “अब त यो चुनावमा पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *