खराब को हुन्, जनता कि नेता ?

काठमाडौँ । नेपालमा नेता धेरै छन. तर असल नेताको खोज जारी नै रहेको छ । राजनीतिक दलमा आबध्द हुने र पद पाउने र चुनाव जिते पछि नेता हुने हाम्रो चलन नै भैसकेको छ । तर समाजको अगुवाई गर्ने, जनतालाई संगठित गर्ने र सामुहीक (समुदायको) मुद्दाको नेतृत्व गर्नेलाई खासमा नेता मान्नु पर्ने हो । हाम्रो देशमा यस्तो भइरहेको छैन्। नेताले समाजको उत्तरदायित्व लिनु पर्छ । तर हाम्रो देशको राजनीतिक दलका नेता भनिएका वा दलका नेतृत्वकर्ता कसैले न त जनविश्वास जित्न सकेका छन्, न समाजको उत्तरदायित्व लिन सकेका छन् ।

सबै आफ्ना स्वार्थ पुर्ति गर्ने चक्करमा छन् , देश र समाजको स्वार्थले कसैलाई आकर्षित गरेको देखिदैन् । पार्टिहरूमा नीति भन्दा नेता हाबि छन् भने देश कानुन, विधि, विधान, प्रक्रिया र पध्दतिमा चलेको आम जनताले विश्वास नै गर्न सकेका छैनन् । राजनीतिक दल र तिनका नेताहरूको व्यवहार र कार्यशैलीकै कारण उनीहरू आम जनताको शंकाको घेरामा पर्ने गरेका छन् । जबकी उनीहरूको आफ्ना व्यवहार र कार्यशैलीले सिङ्गो सामाजलाई नै प्रभाबित पारेर समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नु पर्ने हा े। तर ठ्याक्कै यसको विपरित राजनीतिक दल र तिना नेताहरूको व्यवहार र कार्यशैली रहेका छन ्। अहिले पनि हामी जो कोहीले एटा बुढो मान्छे जसले ठूलो सिसा भएको चश्मा लगाएको र हातमा लाठी लिएको तस्विर देख्ने वितिकै महात्मा गांधीलाई सम्झिने गरेका छौं ।

अर्को एउटा बुढो मान्छे जसको एउटा हातमा सुराही, काखीमा छाता च्यापेको र अर्को हातमा टिनको बाकस बोकेको तस्विर देख्ने वितिकै किसुनजी अर्थात कृष्णप्रसाद भट्टराईलाई सम्झिने गरेका छौं । त्यसतै जनताको बहुदलीय जनवादको कुरा उठ्नसाथ मदन भण्डारीलाई सम्झिने गरेका छौ ं। लेलिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्रसवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे भण्डारीले । मदन भण्डारीलाई जनताको मन मष्तिष्कमा वस्न प्रधानमन्त्री र मन्त्री हुनु परेन । उनको विचारले नै स्थापित गरी दियो । अहिले पनि एमालेजन मदन भण्डारीको कार्यकर्ता हुनुमा र काँग्रेसजन बिपि कोइरालाको कार्यकर्ता हुनुमा गर्व गर्ने गरेका छन् । खराब को हुन्, जनता कि नेता ? यसो भनिरहँदा अहिलेका नेताहरूले पनि महात्मा गांधी र किसुनजी जस्तै जिवनशैली अपनाउनु पर्ने कुरा कदापि भन्न खोजिएको होईन । केवल नेताको जिवनशैली समाजको लागि उदाहरणिय र समाजमा सजिलै पच्ने खालको हुनु पर्छ ,अहिलेका नेताहरू जस्तो समाजले पचाउनै नसक्ने र आफ्नै धारातल बिर्सेको खालको हुनु भएन भनेर भन्न मात्र खोजेको हो । निष्ठा, ईमन्दारिता, देश र जनताप्रतिको लगाव र दुरदर्शिता उनीहरूकै जस्तो हुनु पर्ने कुरालाई संकेत गर्न मात्र खोजिएको हो । आफ्नै आदर्श पुरूषले सिकाएका कुराहरू अहिलेका नेताहरूले बिर्सेकोमा सम्झाई दिन मात्र खोजेको हो ।

सर्वोच्च कमाण्डर, त्यागी र लौह पुरूष जस्ले २०४६ सालको जनआन्दोलनको गणेशमान सिंहले सार्वजनिक रूपमै नेपाली जनतालाई भेडा भनेका थिए । उनको यो अभिव्यक्तिमा धेरै आक्रोश र केही मात्रामा यथार्थ पनि मिश्रित थियो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्रको पुनःस्थापनापछि भएको आमनिर्वाचनमा असल उम्मेदवारलाई जनताले पराजित गरेको अनुभव गरेर उनले यो अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिमा आफ्नी श्रीमती र पुत्रको पराजयलाई पचाउन नसकेको आक्रोश धेरै मात्रामा थियो भने सन्त नेता कृष्णप्रसाद भट्टराईलाई जनताले पराजित गरेर असल उम्मेदवारलाई पराजित गरी दिएको यथार्थ पनि केही मात्रामा थियो । कुनैबेला जनताले नानीमैयाँ दाहाल जस्तो अराजक प्रवृतिका नेतालाई अत्याधिक मतले चुनाव जिताएका थिए । कृष्णप्रसाद भट्टराई जस्ता त्यागी, सन्त, विद्वान र अन्तर्राष्ट्रिय उचाई भएका नेता चुनावमा पराजित हुनु परेको कारणले गणेशमानले आवेगमा आएर नेपाली जनतालाई भेडा भनिदिए । तयसयता जनताको साथ पाएसम्म जनतालाई क्रान्तिकारी देख्ने, तर आफ्ना स्वार्थ विपरित लागेको अनुभुति हुन साथ तिनै जनतालाई भेडा देख्ने नेताको नियति नै बनिसकेको छ ।

राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्विकार गरेर त्यागी नेताको पहिचान बनाएका गणेशमान सिंहले नेपाली जनतालाई भेडाको पदवी दिए भने अहिलेका हाम्रा नेताहरूले जनतालाई के के पदवी दिन सक्छन् त्यो सजिलै अनुमान लगाउन सकिन्छ । अहिलेका नेताहरूमा त्यागको भावना रतीभर पनि छैन् । न त यिनीहरूको नीति राम्रो छ, न नियत नै साफ छ । २०७८ साल दलहरूको लागि महाधिवेशनको वर्षको रूपमा रहयो । २०७८ सालमा महाधिवेशन गरेका दलहरूमध्ये राप्रपा वाहेक कुनै दलको नेतृत्व परिवर्तन भएन । राप्रपा अध्यक्षमा हारेका पूर्व अध्यक्ष कमल थापाले आफुलाई राजाले हराएको आरोप लगाउदै राजतन्त्रको मुद्दा छोडदै राप्रपा छोडेर राप्रपा नेपालको अध्यक्ष भए । यसले नै नेताहरूमा कतिसम्मको पद लोलुपता रहेको संकेत गर्छ । नेतृत्व परिवर्तनको विषयले निकै चर्चा पाएको काँग्रेसको १४ औँ महाधिवेशनको उदघाटन सत्रमा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको अभिब्क्तिले निकै चर्चा पायो ।

उक्त समारोहमा उनले नेता गाउँमा जाँदा जनताले अचेल “नेतालाई कुन चाहिँ चोर आएछ भन्छन“ भनेर अभिव्यक्ति दिएका थिए । उनले जे कारणले पनि यो अभिव्यक्ति दिएको भएपनि नेताहरूले आफुहरूप्रति घटदै गएको जनविश्वास र आकर्षणको यथार्थ र त्यसो हुनुमा आफ्नै व्यवहार र कार्यशैली कारक रहेको मनन गर्न सक्नु पथ्र्यो । तर सोही समारोहमा उनीपछि बोलेका अन्य दलका नेताहरूले उनको अभिव्यक्तिको प्रतिवाद गरे । समाजिक सञ्जालमा समेत ब्यापक चर्चा पाएको लिङ्देनको यस अभिव्यक्तिकले समर्थन र बिरोध दुवैको सामना गर्नु पर्यो । उनीपछि बोलेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले तानाशाही जन्माउनका लागि लोकतान्त्रिक दल र नेताहरूलाई बदनाम गराउन खोजिएको आरोप लगाउन भ्याए । नेताहरू आए भने अहिले देशमा गाउँघरमा चोर आयो भन्छन् जनताले, के यो साँचो हो त साथीहरू ? भनेर प्रचण्डले मञ्चबाट काँग्रेस नेता–कार्यकर्तालाई प्रश्न गरे । प्रचण्डको अपेक्षा विपरित मासले हो भनिदिए । प्रचण्डले होईन, यो गलत हो, भने तर मासबाट फेरि पनि हो नै जवाफ आयो । नेकपा (एमाले) अध्यक्ष ओलीले भर्खर भर्खर को बाच्छो हिँड्न जान्दैन अलि बढी कुद्छ भनेर टिप्पणी गरे र भर्खर भर्खर अध्यक्षमा चुनिएको राप ताप को संज्ञा दिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले अब प्रतिगमनहरू नसल्बलाए हुन्छ । लक्षण राम्रो नदेखिएको भनेर चेतावनी नै दिए ।

यसले नेताहरू गाउँघरमा के भईरहेको छ र लिङ्देनको अभिव्यक्तिमा सत्यता छ की छैन् भनेर बुझ्नै नखोजेको संकेत गर्यो । नेताहरू भुईमान्छेको कुरा सुन्दै नसुन्ने गरेको र गणेश प्रवृति भएकाहरूका कुरा मात्र पत्याउने गरेको प्रष्ट भयो।साँघुरो घेरामा रहेर कोही कसरी राज्यको नेतृत्व गर्न सक्छन् । दल र नेताहरूले भुईको आवाज सुन्न नसकेकै कारण आफ्ना व्यवहार र कार्यशैलीमा सुधार गर्न नसकेका जस्तो लाग्यो । दल र नेताहरू आफुहरू सच्चिनु पर्ने अवस्थाको महसुश समेत गरेका देखिएनन् । सो समारोहमा लिङ्देनले जोड दिएका अन्य कुरामा कुनै नेताले ध्ययान समेत दिएनन् । नेताहरू सुध्रिनु पर्ने र सुधार गर्नु पर्ने विषयहरू समेत उनले उठाएका थिए । तर सुध्रिन र सुधार गर्ने तर्फ कुनै पनि नेता गम्भिर भएन । सबै नेता चोर शब्दकै पछि लाग्यो । सबै नेता चोर नै हुन भनेर पक्कै पनि लिङ्देनले भनेका होईनन् होला । आमजनतामा नेताप्रति रहेको धारणा र आक्रोसको रूपमा नेताहरूले लिङ्दिनको सो अभिब्यक्तिलाई लिनु पर्थ्यो । सायद लिङ्देनको सो अभिब्यक्तिको सत्यता पनि यो नै हो । जनताबिनाको नेता हुदैन् । अर्थात जनताले नै नेता पैदा गर्ने हो । जनता र सामाजलाई सही बाटो देखाईदिन र नेतृत्व गर्न नेता चाहिन्छ । नेता असल भए जनता र समुदायले असल नेतृत्व पाउछ र प्रगतिको पथमा अगाडी बढछन् । नेता खराब भए जनता र समुदायकै दुर्गति हुन्छ ।

कतिपयले जनता खराब भएर नेता खराब भएको भन्ने गरेका पनि सुनिन्छ । जनताको चेतनास्तर अनुसारको नेता पैदा हुने गर्छ । जनताको चेतनास्तर राम्रो भयो भने नेता असल नभई सुखै पाउदैन् । यो पनि सही हो । तर के सही होईन भने जनता खराब भएकै कारण नेता खराब भयो । जनतालाई चेतना र सचेतना दिने काम राजनीतिक दल र नेताकै हो । जनता र समुदायको चेतनास्तर नउठाई कुनै असल नेताले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैनन ।

असल नेता आफु सफल हुनैका लागि भएपनि जनता र समुदायको चेतनास्तरलाई असल बनाउनै पर्छ।खराब नेता मात्र जनता र समुदायमा चेतनाको विकास नहोस भन्ने चाहना राखेका हुन्छन् । किनकी उनीहरूलाई राम्रोसँग थाह हुन्छ कि जनतामा चेतना आयो भने आफ्नो सारा खेल समाप्त हुन्छ । तसर्थ असल नेता जनतामा चेतनाको विकास होस भने चाहना राखेका हुन्छन् र त्यसको लागि सक्दो प्रयास गर्ने गरेको पनि देखिन्छ, भने खराब नेता जनतामा चेतनाको विकास होस् भनेर सोच्नै सक्दैनन् । बरू जनतालाई अल्छी, बेईमान, लोभि र पापि बनाएर आफ्ना निजि स्वार्थ पुरा गर्ने दाउमा हुन्छन् । नेताले आफ्ना दलका हरेक सदस्य र समुदायका साथ लिन सक्नु पर्छ । उनीहरूको क्षमताको उचित र उच्चतम प्रयोग गर्न सक्नु पर्छ । हरेक परिस्थितिको सामना गर्दै आफ्नो लक्ष्य प्रप्त गर्नु पर्छ । नेताले आफ्नो लक्ष्य प्राप्त गर्न जनतासँग मिलेरै प्रयास गर्नु पर्छ । नभए उसले लक्ष्य प्राप्त गर्न सक्दैनन । अब भन्नुहोस जनता खराब भएर नेता खराब भएको हो कि नेता आफु असल नभएर जनतालाई खराब बनाई राखेका हुन् ? अर्थात खराब को हुन् , जनता कि नेता ? यो प्रश्न आमपाठकहरूकै लागि छोडन चाहन्छु । lkskeshariaaryan@gmail.com

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.