मधेशी दलको ‘ललिपप’ घोषणापत्र

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरू मत तान्नका लागि आ–आफ्ना नारा र प्रतिबद्धताहरू सार्वजनिक गरिरहेका छन् । आम सर्वसाधारण भने दलहरू तथा उम्मेदवारका त्यस्ता प्रतिबद्धतामाथि विश्वास गर्न सकिरहेका छैनन् । चुनावको अगाडि यस्ता प्रतिबद्धता आउने गरे पनि चुनावपछि कसैले तिनलाई ख्याल नगर्ने मतदाताको भनाइ छ । मधेशी दलहरू पनि आ–आफ्नो एजेण्डा, घोषणापत्रका साथ चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनका लागि आ– आफ्नो चुनावी घोषणापत्र जारी गरिसकेका छन् । लोसपाले आफ्नो घोषणापत्रमा हरेक पालिकामा कम्तीमा दुईवटा वारूणयन्त्र व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि लोसपाले स्थानीय तहको नेतृत्व नगरेको होइन तर एउटा पनि स्थानीय मधेशी दलको ‘ललिपप’ घोषणापत्र तहमा वारूणयन्त्र खरिद गर्न सकेको छैन ।

यसपटक घोषणापत्रमै उल्लेख गरेर उसले हरेक पालिकामा कम्तीमा दुईटा वारूणयन्त्र व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । लोसपाले हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, मुटु सेवा र आपत्कालीन सेवासहितको कम्तीमा २५ शय्याको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गर्ने घोषणा गरेको छ । तर सबै स्थानीय तहमा यसको व्यवस्थापनका लागि बजेटले धान्न सक्छ त भन्ने प्रश्न नउठ्ने होइन । त्यतिमात्र होइन, हरेक वडामा दुईटा एम्बुलेन्स राख्ने प्रतिबद्धता पनि लोसपाले जनाएको छ । मधेश प्रदेशमा मात्र एक हजार २७१ वडा छन् । प्रत्येक वडामा दुईटा एम्बुलेन्सका लागि कति बजेट चाहिन्छ र यो कति सम्भव होला भन्नेबारे लोसपा मौन छ । महिलाहरूलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, महिलाहरूका लागि सार्वजनिक यातायात पूर्ण निःशुल्क गर्ने प्रतिबद्धता पनि उसले जनाएको छ । २०७८ को जनगणना अनुसार मधेश प्रदेशमा मात्र ३० लाखभन्दा बढी महिला जनसङ्ख्या छ ।

यस्तो अवस्थामा महिलालाई उच्च शिक्षा र सार्वजनिक यातायातको भाडा निःशुल्क गर्न कति सम्भव छ ? प्रश्न नउठेको होइन । अघिल्लो निर्वाचनमा तत्कालीन राजपा नेपाल ( हाल लोसपा)ले दहेज (दाइजो) प्रथालाई निरूत्साहित गर्न कम्तीमा प्लस टु सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गर्ने उल्लेख गरेको थियो । त्यो घोषणा कहाँ कति लागू भयो भन्नेबारे सो पार्टीले केही उल्लेख गरेको छैन । अघिल्लो चुनावमा गरेका घोषणा कति कार्यान्वयन भयो वा के कारण कार्यान्वयन हुन सकेन भन्ने लेखाजोखा बिना नै अहिलेको चुनावमा त्यस्तै प्रकारका थप घोषणा गरिएको छ । लोसपाले हरेक वडामा पुस्तकालय स्थापना गर्ने प्रतिबद्धता पनि जनाएको छ । पाँच वर्षसम्म आफूले नेतृत्व गरेका पालिकामा लोसपाले एउटा पनि पालिकामा पुस्तकालय स्थापना गर्न सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *