जनताले पाँच वर्षलाई निर्वाचित गरेको संसद बचाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन राष्ट्रिय आवश्यकता बनेको बताउँदै सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायीरूपमा जोगाउन पनि गठबन्धन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आज बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको भविष्यबारे कसैले पनि शङ्का नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको पनि स्पष्ट गरेका छन् ।

उनले नेपाली कांग्रेसको महाधिवेशनले नै वर्तमान अवस्थामा गठबन्धन आवश्यक रहेको र यसलाई बलियो बनाएर चुनावमा जाने निर्णय गरेको धारणा पनि राखेका छन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विपक्षी राजनीतिक दलहरुले सरकारका कामको विरोध जनाउँदाबित्तिकै संसद् भङ्ग गर्ने गरेकाले उक्त कदमलाई रोक्नकै लागि गठबन्धन बनाइएकोसमेत स्पष्ट पारेका छन् ।

उनले जनताले पाँच वर्षका लागि बनाएको संसद्लाई प्रधानमन्त्रीको विरोध गर्यो कि संसद् भङ्ग गरिदिने गरेको बताउँदै तर अहिलेको संविधानले जथाभावी संसद् भङ्ग गर्ने व्यवस्था नै नगरेको भएपनि उनले यसको हेक्का नराखेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले भने, “लहडका भरमा संसद् भङ्ग गर्न संविधानले दिँदैन, अदालतले न्याय गरेर संसद् पुनःस्थापना गरिदियो तर, संसद् चल्न दिइएको छैन ।” प्रधानमन्त्री देउवाले अहिले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्थाः नरहेको उल्लेख गर्दै संसदमा कसैको पनि बहुमत नरहेकाले पनि गठबन्धन आवश्यक रहेको बताएका छन् । त्यसैले पनि गठबन्धन वर्तमान अवस्थामा राष्ट्रिय आवश्यकता रहेको उनको तर्क थियो ।

उनले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले हालै संसद्बाट पारित भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट गर्दै संसदबाट एमसिसी पास भएपछि नेपाललाई अमेरिकाले दिने सहयोग थप बढ्दै जाने बताए । यस्ता अनुदान सहयोगका परियोजनाका काम राम्रोसँग पारदर्शी ढङ्गले भएमा अमेरिकालगायत धेरै मुलुकबाट समेत अनुदान सहयोग आउने उनको भनाई थियो ।

प्रधानमन्त्री देउवाले एमसिसीले सबैभन्दा फाइदा यसै क्षेत्रका जनतालाई हुने बताउँदै यो परियोजनाले बुटवलदेखि भालुवाङ हँुदै लमहीको दाङ देउखुरीसम्म अत्यन्तै बलियो, महत्वपूर्ण चौडा सडक छिटै नै बिस्तार हुने बताए ।

उनले देशैभरिका भूमिहीन, अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि सरकारले भूमि आयोग गठन गरेर आयोगले सक्रियतापूर्वक काम गरिरहेको र छिट्टै सुकुम्बासी समस्या समाधान हुने जानकारी गराएका छन् । प्रधानमन्त्री देउवाले बुटवलको समग्र विकासका लागि वर्तमान सरकार सदैव तयार रहेको बताउँदै बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र सडकको समस्या समाधानका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह पनि गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *