अब नागरिकताको समस्या समाधान हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् । जसलाई प्रचण्डले ‘लज्जास्पद’ स्थिति भनेका छन् । उनले नागरिकता समस्या गम्भीर र जटिल भएको तर समस्यालाई समाधान गर्न चाहेको बताए ।

मधेस प्रदेशको धनुषास्थित मिथिला नगरपालिकामा आज पार्टी कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश ल्याएर नागरिकता समस्या समाधान गर्न खोजिँदा सर्वोच्च अदालतमा रिट परेको र रिटको सुनुवाइ गर्दै अदालतले संसद्बाटै छलफल गरेर निर्णय गर्न आदेश दिएको बताए ।

‘मधेसमा नागरिकताको समस्या अलिक गम्भीर र जटिल रूपमा रहेको छ । मैले पनि पहिले पनि भनेको छु, यो नागरिकताको समस्या छिटोभन्दा छिटो समाधान गरिनुपर्छ’, प्रचण्डले भने, ‘गठबन्धनको सरकार बनिसकेपछि प्रधानमन्त्रीसँग र गठबन्धनका सबै नेतहरूसँग नागरिकता समस्या टुंग्याउनेबारे अध्यादेशबारे अदालतमा रिट पर्‍यो अदालतले संसद्बाटै छलफल गरेर निर्णय लिनू भनेको छ ।’

तर, संसद् भने प्रमुख विपक्षी नेकपा एमालेले चल्न नदिएको प्रचण्डले आरोप लगाए । संसद् चलेको भए नागरिकता समस्या समाधान गर्न ऐन कानुन बन्ने उनको दाबी छ । उनले नागरिकताकै कारण मधेसमा धेरै युवायुवतीले जागिर खान नपाएको भन्दै चिन्ता पनि प्रकट गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *