डुबान–कटान समस्या सुल्झाउनेलाई भोट

राँझा । बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको समस्या सुल्झाउन माग गरेका छन् । स्थानीय निर्वाचन नजिकिँदै गर्दा राप्ती नदी प्रभावित क्षेत्रका स्थानीयले उम्मेदवारसँग डुबान र कटानको समस्या दिर्घकालीनरुपमा समाधान गर्न माग गरेका हुन् ।

बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका उनीहरुले निर्वाचनमा मत माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन माग गरेका छन् । “बर्सेनि हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई मात्रै हामीले भोट दिने विचार गरेका छौँ”, डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लाले भन्नुभयो । उहाँले आफुहरू राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित भएकाले अहिलेसम्म सरोकारवाला निकायले समस्याको समाधानार्थ कुनै पहल नगरेको बताउनुभयो ।

लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिवसमेत रहनुभएका शुक्लाले अहिले चुनावका बेला घरघरमा आएर भोट मागे पनि चुनाव जितेपछि गाउँपालिका अध्यक्ष र सांसद फर्केर गाउँ नजाने गरेको गुनासो गर्नुभयो । बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको पीडा झेल्दै आएका छन् ।

शुक्लाका अनुसार, बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँ क्षेत्रका झण्डै पाँच हजार घरधुरीका करिब २४ हजार नागरिक बाढीबाट प्रभावित हुने गरेका छन् । स्थानीय निर्वाचनमा सबैजसो दलले आफ्नो प्रतिबद्धतापत्रमा राप्ती तटीय क्षेत्रमा हुँदै आएको डुबान तथा कटान नियन्त्रण गर्ने उल्लेख गरेका छन् । कार्यान्वयनमा भने चुनौति देखिँदै आएको छ ।

डुडुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार नरेन्द्रकुमार चौधरीले जनतालाई डुबान र कटानको समस्याबाट जोगाउन तटबन्ध गरिने प्रतिबद्धता जनाउनुभएको छ । बितेको पाँच वर्षमा डुबान र कटान रोक्न धेरै प्रयास गरिएको बताउँदै डुडुवा गाउँपालिकामा समग्र विकासको लागि आफुले पुनःगाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

यस्तै राप्ती नदी र डुडुवा खोलाले डुडुवा गाउँपालिकाका विभिन्न वडामा खेतीयोग्य जमिन कटान र बस्ती बर्सेनि डुबान हुर्ने समस्याको दिगो समाधान गर्नेगरी आफूले योजना बनाएको डुडुवा गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्षका उम्मेदवार शकील खानले बताउनुभयो । उहाँले गाउँपालिकामा आउने बजेटबाट मात्रै तटबन्धन कार्य सम्भव नहुने भएकाले प्रदेश र केन्द्रीय सरकारसँग समन्वयका आधारमा काम गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको डुबान र कटानबाट हुने क्षतिलाई तत्कालका लागि न्यूनीकरण गर्न सकिन्छ, ठूलो बजेटलाई प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गर्नेछौँ ।”

राप्ती नदीमा आउने बाढीका कारण राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दासमेत पीडित हुँदै आएका छन् । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका स्थानीय अगुवा लालबहादुर थापाले बितेको पाँच वर्षमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले बाढीपीडितको समस्या समाधानका लागि काम गर्न नसकेकाले यो निर्वाचनमा जनताको काम गर्ने व्यक्तिलाई मतदान गर्ने बताउनुभयो ।

“अन्य पूर्वाधार विकास गर्दै गरौंला तर बस्ती डुवान र कटानबाट जोगाउन अबको जनप्रतिनिधि गम्भीर बन्नैपर्छ”, थापाले भन्नुभयो । उहाँले डुवान र कटानको सममस्या सुल्झाउन प्रतिबद्धता जनाउनेलाई मात्रै भोट दिन स्थानीय ‘एकमत’ भएको बताउनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *