घोषणापत्रमा मात्र सीमित गरिबी न्यूनीकरण

काठमाडौं । रोल्पा नगरपालिका–२ रेउघाका ६२ वर्षीय गोपाल सुनार, ५९ वर्षीया आसार सुनार र ५७ वर्षीय प्रसाद सुनार बोल्न सक्दैनन् । जन्मजात नबोल्ने यो परिवार रोल्पा अस्पताल नजिक सरकारले बनाइदिएको घरमा बस्छ ।

गरिबी निवारण र समृद्धिको नारा लिएर नेता कार्यकर्ता धेरै पटक उनको घर हुँदै चुनाव प्रचारमा ओहोरदोहोर गरिरहन्छन् । तर पनि कसैको दृष्टिमा उनीहरु पर्न सकेका छैनन् । बोल्न नसक्ने उनीहरु हातको इसाराले मात्र कुरा गर्छन् । उनीहरु घरमा खाना नभएपछि कैयौँ रात त भोकभोकै सुत्न पनि बाध्य हुन्छन् । राजनीति नजानेको यो परिवार पनि धेरै पटक सशस्त्र द्वन्द्वको शिकार समेत भयो । 

घरमा न लत्ताकपडा छन् नत अन्नपात नै । मागेर पेट पाल्ने तीन दाजु बहिनीले हातको सारले कुरा गर्छन् । वृद्धावस्थाका कारण राम्रोसँग आँखा नदेखे पनि उनीहरुले दाम्ला, डोरी आदि बाटेर जीविका धान्ने गरेका छन् । जाडो होस् या गर्मी एक सरो कपडामा रहन्छ उनीहरु । 

उनीहरुको खुट्टाले अहिलेसम्म जुत्ता चप्पल देख्न पाएको छैन । हिउँद होस् वा वर्षा खाली खट्टा हिँड्नुको विकल्प छैन । बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा बसेका उनीहरु पछिल्लो पटक सरकारले निर्माण गरेको घरमा बस्दै आएका छन् । 

दाजु गोपाल र भाई प्रसादले गाउँलेको दाम्लो र डोरी बुन्छन् । दाम्लो र डोरी बुने वापत दिने दुई÷चार माना अन्न र सय÷पचास रुपैयाँ पाउँछन् र बाच्ने आधार यसैलाई बनाएका छन् । गाउँमा हुने विवाह तथा शुद्ध कार्यमा गएर कैयौँ दिनको छाक टार्ने गर्दछन् । 

वडा कार्यालयले गोपाललाई ज्येष्ठ दलित भत्ता वापत मासिक रु एक हजार र प्रसादलाई मासिक रु ६०० उपलब्ध गराउँदै आएको छ । आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भनेर भत्ता दिइएको छैन । 

रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो । नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भइन् । आमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो । बुबा पनि अपाङ्ग छन् । बुबाको दुवै खुट्टाले राम्रोसँग काम गर्दैनन् । घरमा १४ वर्षकी विपना, नौ वर्षकी दीपा र ८१ वर्षीय हजुरआमा नौला घर्तीमगर मात्रै छन् । दुवै खुट्टा नचल्ने भएकी उनको अचेल कम्मर मुनीको भाग पनि चल्दैन । दायाँ खुट्टामा ठूला घाउ छन् । घाउ पाकेर पिप मात्र होइन उनको २४ सै घण्टा पिसाब पनि चुहिन्छ । 

उनलाई आमा हुँदा आमाले र आमाको मृत्युपछि सानी आमाले उपचारका लागि दाङ, काठमाडौँ र काभ्रे पु¥याए तर घरको आर्थिक अवस्था कमजोर भएकी उनलाई पैसा अभावले राम्रो उपचार हुन पाएन । अस्पतालको शुल्क चर्को छ सहयोग उठाएको २÷४ पैसा र ऋण गरेको रकमले सधैँ धान्दैन । उपचारकै लागि ऋण बढ्दै गएपछि रु सात लाखमा खेत पनि बेच्नुप¥यो । 

घर अगाडि तीन महिना खान नपुग्ने पाखोबारीबाहेक उनको परिवारसँग अब अरु केही छैन । साँझ बिहानको हातमुख जोर्न समस्या छ । अहिलेसम्म सानी आमाले चामल, मकै, दालको जोहो गरिदिएकी छिन् । अहिलेसम्म जसोतसो साँझ बिहान खाने जोहो गर्दै आएको र आफ्नै परिवार पाल्न हम्मेहम्मे परिरहेको सानीआमा विर्षना घर्तीमगरले बताउनुभयो । 

रोल्पा नगरपालिका र माडी गाउँपालिकाका यी दुई÷दुई प्रतिनिधि घटना हुन् । यस्तै गरिबीको अवस्थामा यहाँका अरु पनि कैयौँ नागरिक छन् । रोल्पाको कूल जनसङ्ख्याको आधा अझै गरिबीको रेखामुनी छ । नेपाल गरिबी लघुक्षेत्र अनुमानअनुसार रोल्पामा गरिबको सङ्ख्या ५७ हजार ५०४ छ । यो जिल्लाको कूल जनसङ्ख्याको करिब आधा हो । जिल्लामा गरिबको यति ठूलो सङ्ख्या रहेपनि यहाँका राजनीतिक दलको प्राथमिकतामा गरिबी परेको छैन ।

चुनावमा तयार गरिने घोषणापत्रमा गरिबी प्राथमिकतामा नपर्ने गरेको रोल्पा नगरपालिका–२ का समाजसेवी भिमसेन घर्तीमगर बताउनुहुन्छ । पूर्वाधार लगायतका क्षेत्र रोज्ने दलहरु घोषणापत्रमै यो क्षेत्रलाई छुटाउने गरेको घर्तीमगरले भन्नुभयो । यहाँका स्थानीय सरकार गरिबमुखी कार्यक्रममा कहिल्यै अग्रसर हुँदैनन् । उनीहरु भ्युटावर जस्ता देखासिकी विकासमा लाग्ने गर्दछन् । 

सामाजिक–आर्थिक तथा अन्य दृष्टिले पछि परेको रोल्पा समग्र विकास सूचकाङ्कमा नेपालका ७७ जिल्लामध्ये ६८औँ स्थानमा छ । यहाँका राजनीतिक दल र स्थानीय सरकार भने विकासको नमूना पस्किदै यहाँका अग्ला डाँडामा भ्युटावर बनाउने प्रतिस्पर्धामा छन् । बितेको पाँच वर्षमा तीन वटा र त्यसअघि एक गरी यहाँ चार वटा भ्युटावर बनिसकेका छन् ।

विसं २०५५ मिटर उचाइमा रहेको रोल्पा नगरपालिका–३ सातदोबाटोस्थित  चुच्चे डाँडोमा भ्युटावर बनेको छ । ११२ फिट अग्लो यो टावरमा वनेको उक्त भ्युटावरको लागत रु छ करोड बढी रहेको छ । थवाङ  गाउँपालिकाले जलजलामा रु २५ लाखको लागतमा भ्युटावर निर्माण गरेको छ । अघिल्लो आर्थिक वर्षका लागि त्रिवेणी गाउँपालिकाले पनि लुम्बिनी प्रदेश सरकारको रु २५ लाख लगानीमा टिलामा भ्युटावर निर्माण आरम्भ गरेको छ । होलेरी एकीकृत पर्यटन विकासअन्तर्गत गढीलेखमा भ्युटावर निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समिति रोल्पामार्फत आव २०७०÷७१ मा रु २० लाख निकासा गरी उक्त भ्युटावर निर्माण गरिएको हो । 

गरिबी निवारण हरेक दलको प्राथमिकताको विषय हुनुपर्ने हो तर रोल्पामा यो लागू भएको छैन भन्नुहुन्छ महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष तीर्था आचार्य । उनीहरुको प्राथमिकतामा भौतिक पूर्वाधार पर्दा यो क्षेत्र छुट्ने गरेको आचार्यको भनाइ छ । 
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.