मेरो उम्मेदवारी भ्रष्टाचारमुक्त समाज र नागरिकमैत्री वडा कार्यालयका लागि हो : राणा

काठमाडौँ । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रविन्द्र विक्रम राणा नेपाली कांग्रेसका स्थापित नेता हुन् । काठमाडौंका स्थायी वासिन्दा राणा २०३६ सालदेखि कांग्रेसले गरेका परिवर्तनकारी हरेक आन्दोलनमा सरिक छन् । राजनीतिसँगै समाजसेवामा तल्लीन उनी सफल समाजसेवी र इमान्दार नेताका रुपमा चिनिन्छन् । सधैं गरिव, निमुखा, आवाजबिहीन, सिमान्तकृत, अल्पसंख्यक, दलित, महिला र अपाङ्गताको पक्षमा आवाज बुलन्द गर्ने उनी आफुलाई राजनीतिसँगै समाजसेवी भन्न रुचाउँछन् । समाजसेवासँगै सिद्धान्त निष्ठ राजनीतिमा पोख्त उनी इमानदार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनै राणासँग स्थानीय निर्वाचनसँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
रविन्द्र विक्रम राणा, वडा अध्यक्ष उम्मेदवार, काठमाडौं महानगरपालिका वडा नं. ३१, काठमाडौं ।

तपाईं काठमाडौं ३१ नम्बर वडाबाट अध्यक्ष उम्मेदवार हुनुहुन्छ हो ?

हो । म कामनपा वडा नं. ३१ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष उम्मेदवार बनेको छु । हामी वडावासीसँग भोट माग्ने सिलसिलामा लागेको ८, ९ दिन भयो । काठमाडौं ३१ वडा धेरै ठुलो छ । यहाँ १८ हजार हाराहारी भोटरहरु हुनुहुन्छ । भोट माग्ने क्रममा वडावासीको घरआँगनमा पुग्दा धेरै उत्साहित भएको पाइयो । म अघिल्लो निर्वाचनमा पनि यस वडाबाट अध्यक्ष उठेको थिएँ । त्यसबेला थोरै मतान्तरले पराजित भइयो । त्यतिबेला कांग्रेभित्रै असन्तुष्टि थियो । अहिले नेपाली कांग्रेसको १४ महाधिवेशनमा पनि बिनाविवाद सर्वसम्मत ढंगले अधिवेशन सम्पन्न भयो । त्यसकारण पनि आन्तरिक रुपमा कांग्रेस धेरै बलियो छ । अर्को विगतमा कम्युनिस्टहरुले जनतालाई धेरै दुःख दिएकाले पनि कांग्रेसप्रति जनताको आकर्षण बढेको छ । हिजो मैले चुनाव नजित्दा पनि जनताका जन्दबल्दा समस्याप्रति सधै दत्तचित्त भएर काम गरेको छु । त्यसैले मलाई चुनाव जित्न धेरै सजिलो छ ।

तपाईंले नै चुनाव जित्नुपर्ने आधार चाहीं के त ?

पहिला यस वडामा नेपाली कांग्रेसभित्र गुटउपगुटले गर्दा धेरै विवाधित थियो । त्यसको कारण चुनावका बेला राम्रो सहयोग भएन । अहिले १४ औं महाधिवेशनपछि काठमाडौं वडा नं. ३१ विवाद रहित ढंगले सर्वसम्मत भयो । त्यसले अहिले कांग्रेसको संगठन एकदमै राम्रो छ । अर्को यस अघि म यस वडाको अध्यक्षमा थोरै मतान्तरले पराजित भएको हुँ । त्यो बराबरको मत अहिले कांग्रेसको आफ्नै बढेको छ । त्यसमा हामीसँग सत्तासिन गठबन्धनको पनि अध्यक्ष, उपाध्यक्षमा सहकार्य छ । अर्को भनेको यस वडामा कुनै पदमा नहुँदा पनि मैले जनताका सुखःदुखमा धेरै काम गरेको छु । जसको कारण यहाँका वडावासीहरु धेरै खुसी हुनुहुन्छ । अर्को कम्युनिस्टहरुको क्रियाकलापले दिकदार भएका नागरिकहरु आखिरीमा काम लाग्ने कांग्रेस नै रहेछ भन्नेमा पुगेको मैले पाएको छु । अर्को आकर्षण भनेको काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंह जस्तो सालिन महिलाको उम्मेदवारी छ । उहाँको नेतृत्व भएकाले हामी सबैलाई चुनाव जित्न सजिलो आधारसिता तयार भएको छ । सिर्जना सिंह भनेको वीर गणशमान सिंहको परिवारभित्रको योग्य, सक्षम, सालिन र सिद्धान्त निष्ठ नेता हुनुहुन्छ ।

त्यसोभए वडा नं. ३१मा कांग्रेसको संगठन सुदृढ भएको हो ?

नेपाली कांग्रेस कम्युनिस्टको जस्तो क्याडर बेस पार्टी होइन, मासवेस हो । मासबेसमा जसले जनतासामु गएर काम गर्छ । जसले ‘जे बोल्छ त्यो गर्छ र जे गर्छ त्यो बोल्छ’ नेपाली कांग्रेस त्यस्तो पार्टी हो । मैले त्यसरी काम गरेको छु । जनताले त्यसलाई मूल्यांकन गरेका छन् । फेरि हाम्रा कुराहरु कसैलाई जबर्जस्ती लाद्ने हुँदौ । सबैका सहमति, असहमति राखेर विचार, छलफलबाट समस्या समाधान गर्ने हुन्छ । त्यसकारण पनि १४ औं महाधिवेशनयता नेपाली कांग्रेसको संगठन धेरै सुदृढ भएर आएको छ ।

काठमाडौं महानगरमा मेयरलगायत सबै पदमा कांग्रेसको जित सुनिश्चित छ हो ?

पछिल्लो समय काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको पक्षमा यति राम्रो माहोल देखिएको छ, जनउभार नै आएको छ । किनपनि त्यस्तो देखियो भन्दा मान्छेमा कम्युस्टिप्रति विश्वास गुमेको छ । काम पटक्कै नगर्ने असम्भव कुराको हल्ला गर्ने भएर पनि कम्युनिस्टहरु खिइँदै गएका हुन् । अनि जनतामा आखिरी यो देशको लागि चाहिँने त कांग्रेस नै रहेछ भन्ने भावना जागृत भएको छ । अहिले यहाँ बुद्धिजीवी, नागरिकसमाज, सञ्चारकर्मी, न्यायिककर्मी, कलाकर्मी, व्यवसायी, विद्यार्थी, मजदुर, किसान, संस्कृतिविध जतिपनि हुनुहुन्छ । उहाँहरु काठमाडौंको मेयर महिला हुनुपर्छ । महानगरपालिकामा यसपटक कांग्रेसलाई जिताउनुपर्छ भनेर लागिपर्नुभएको छ । त्यसैले मेयरदेखि वडा अध्यक्षसम्ममा कांग्रेसको जितसुनिश्चित छ ।

त्यसोभए तपाईंले वडा अध्यक्ष मजाले जित्नुहुन्छ हो ?

मैले अगाडि नै भनिसकेको छु । कामनपा वडा नं. ३१ मा मेरो प्रतिस्पर्धी नै छैन भने पनि हुन्छ । वामपन्थी साथीपनि मेरो अनुहार देखेपछि भोट हाल्नेबेलामा एकपटक सोच्नुहुन्छ । त्यतिचाहीं यस वडामा मैले काम गरेर बनाएको छु । किनभने हिजो कोरोना कहरका बेला राहतदेखि स्वास्थ्य सामग्रीसम्म व्यवस्थापन गर्ने काम गरेको छु । विकास निर्माणका क्षेत्रमा पनि मैले चुनावमा पराजित भएपनि आफ्नो बलबुताले भ्याएसम्मको काम गरेको छु । त्यो कुरा मैले भन्नुभन्दा पनि जनतामा जगजाहेर छ । त्यसैले पनि मलगायत नेपाली कांग्रेसको जित सुनिश्चित छ ।

ठ्याक्कै तपाईंले चुनाव जित्ने एजेन्डा चाहीं के त ?

अहिले जनप्रतिनिधिहरु धेरै भ्रष्ट भए, जनताको काम समयमा गरेनन् । काममा ढिलासुस्ती भयो भन्ने गुनासाहरु धेरै आएका छन् । यदि म कामनपा वडा नं. ३१ को वडा अध्यक्ष भएँ भने जनताका काममा ढिलासुस्ती हुन दिने छैन । सेवाग्रहीका कामहरु अनलाइन सिस्टमबाट परिपूर्ति गरिने छ । यसमा मेरो प्रमुख एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज, नागरिकमैत्री वडा कार्यालय, सुशासन मेरो प्रमुख एजेन्डा हो । म वडा अध्यक्ष भएँ भने सर्वसाधरणका लागि एउटा हेल्प डेक्सको व्यवस्था गर्दछु । त्यो डेक्सले ल्याएका कामलाई चुस्त, दुरुस्त ढंगले छिटोछरितो पारदर्शी रुपमा परिपूर्ति गर्दछु ।

घरदैलो कार्यक्रममा गइरहँदा जनतामा कस्ता समस्याहरु देख्नुभयो ?

त्यसरी घरदैलो कार्यक्रम अन्तर्गत हामीहरु उहाँहरु समक्ष पुग्दा अधिकांशले स्थानीय सरकार सेवक नभएर शासक जस्तो भएको, वडा, नगरबाट हुने जनचासोका कामहरुमा अत्यन्तै ढिलासुस्ती भएको । जसका कारणले नागरिकका धेरै कामहरु बिग्रिएको । नेकपा एमाले नेतृत्वको सरकारले मिठा नारा मात्रै ल्याएको तर सर्वसाधरणका काम पटक्कै नगरेको जस्तो धेरै समस्या देखियो । हामीहरु त्यसरी घरदैलो कार्यक्रममा गइरहँदा उहाँहरुको एउटै माग के थियो भने, ‘हामीलाई अरु केही चाहिएन नागरिकमैत्री वडा कार्यालय हुनुप¥य, यसअघि नेकपा एमाले नेतृत्वको सरकारले वडाबाट हुने धेरै कुरामा हैरान पारेको छ’ कम्तीमा तपाईंको नेतृत्वमा वडा कार्यालय आयो भने यसबाट हामीलाई छुटकारा दिनुहोला’, भन्नुभएको छ । अर्को वडामा फोहोर महिलाको एकदमै समस्या छ । ढलनिकास र खानेपानी समस्या त झन् काठमाडौंको स्थायी जस्तै भएको । त्यसको लागि मैले सकेसम्म परिपूर्ति गर्ने वडावासीसमक्ष प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *