कांग्रेस आम नेपाली नागरिकको ढुकढुकी भएको पार्टी हो : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् ।

‘सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन् । अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । स्थानीय तह सङ्‍घीय शासन प्रणालीको आधारस्तम्भ पनि भएको उनको भनाइ छ ।

हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा पनि स्थानीय सरकार भएको भन्दै देउवाले निरन्तर लोकतान्त्रिक सङ्‍घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारहरूलाई मत दिन आग्रह गरेका हुन् । उनले कांग्रेसलाई आम नेपाली नागरिकको ढुकढुकी भएको पार्टी रूपमा पनि चित्रण गरे । ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्‍नत नगर’ नारा लिएर निर्वाचन अभियानमा रहेको कांग्रेस उम्मेदवारहरूलाई ‘रुख’ चिह्नमा मतदान गर्न प्रधानमन्त्रीसमेत रहेका देउवाको आग्रह छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *