देश र जनताको अवस्थामा परिवर्तन ल्याउने सक्ने व्यक्ति वा पार्टीलाई भोट दिनुहोस

काठमाडौँ । यही बैशाख ३० गते स्थानीय तहको निरिवाचन हुँदै छ । कुनै प्रलय भएन भने ३० गते (शुक्रबार) चुनाव हुने पक्का भइसकेको छ । त्यसैले आजबाट जम्मा २ दिन मात्रै छ । आजै राती १२ बजेदेखि चुनावलाई प्रभाव पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न पाईनेछैन ।

तसर्थ तपाईँहरु यो स्थानीय निर्वाचनमा आफ्नो मताधिकार भरपुर प्रयोग गर्न मानसिक र शारिरिक रुपमै अन्तिम तयारीमा जुटिसक्नु भएको छ । तर पनि एकपटक पुनः सोच्नुहोस्, देशमा धेरै पटक व्यवस्था फेरिएपनि तपाईँ हाम्रो अवस्था फेरिएको छैन । बरु हाम्रो अवस्था फेर्ने सपना देखाउने नेता, तिनका परिवार र आसेपसेहरुको अवस्था भने मज्जैले परिवर्तन भएको छ । त्यो हामी सबैले देखेकै छौं । त्यसैले अवको यो स्थानीय चुनाबको पूर्वार्धतिर छातिमा हात राखेर नेपाली मातृभूमीलाई सम्झेर देश र जनताको अवस्थामा सकरात्मक परिवर्तन ल्याउने पार्टी र स्थानीय नेता चुन्नै पर्दछ ।

त्यसको लागि तपाईँ हामीले यस्तो गर्नु पर्छ । नेताले पैसा दिन्छन् भने लिनुहोस्, बाईक, गाडीमा पेट्रोलर डिजेल हालिदिन्छन् भने हाल्नुहोस्, मासुभात खान दिए त्यो पनि मज्जाले आन्द्रा तन्किने गरी दबाउनुहोस् । अर्को कुरा तपाईँले आफ्नो पार्टी पनि छाड्नु पर्दैन, त्यसैले पार्टी छोड्ने र पार्टीको सदस्यता त्याग्ने काम पनि नगर्नुहोस् । तर मतदान केन्द्रमा पुगेर अन्तिममा भोट हाल्दा टक्क एक सेकेन्ड लामो स्वास तानेर, ठण्डा दिमागले सोच्नुहोस्, त्यो बेला देशका कलकारखाना बेच्ने, भूगोल बेच्ने, धर्म-संस्कृती मासेर बिदेशीका सामु लम्पसार पर्ने, बैदेशिक ऋण लिएर आफुले घिच्ने, तपाईँ हाम्रो टाउकोमा ऋणको भारि थोपर्ने यि पार्टीका नेताहरुको अनुहार सरर एकै क्लिकमा तपाईँको दिमागमा आउने छ । अनि त्यसपछि मतदान गर्नुहोस ।

आफ्नो सन्तान र तिनको भविष्य सम्झेर मत हाल्नुहोस् । यो पार्टी र त्यो नेतालाई हाल्नुहोस् भन्दिन । तर आफ्नो मताधिकार प्रयोग गर्दा भोलिको दिनमा पश्चाताप नहुने गरि नयाँ आशाको लागि भोट हाल्नुस् । यहाँ नेता बेइमान छन् भने कार्यकर्ता उनीहरुप्रति इमानदार हुनुपर्छ भन्ने छैन । आखिर चुनावका बेला बाँडिने पैंसा तपाईँ हामी जनताबाटै लुटिएको त हो नि । इमान्दारिताले कमाएको पैंसा कसैले पनि यति सजिलै बाड्दै हिंड्न् सक्दैन, यो कुराको हेक्का राख्नुहोस् र मतदान गर्नुहोस् ।

त्यसैले भोट हाल्नु अधि एक चोटी राम्रोसँग बिचार गरेर हाल्नुहोला । तपाईँले दिने मत अत्यन्तै गोप्य हुन्छ, कसैसँग डराउनु पर्दैन । डर त केवल अब देश र तपाईँ हाम्रा सन्ततिको भविष्य अन्धकार हुने हो की भन्ने कुरामा मान्नुहोस् ।, बाँकी आफै पनि एकपटक होईन, दुईपटक होईन, दश पटक सोच्नुहोस् । देश र हामी जनताको भविष्य बर्बाद हुनुमा तपाईँहाम्रो पनि दोष हुन्छ । त्यो दोष र पापबाट उन्मुक्ति हुने दिन पनि हो बैशाख ३० गते । त्यसैले फेरी पनि भन्छु आफ्नो गोप्य मत राम्रो केही गर्छु भन्ने दृढ इच्छा शक्ति भएको नेतालाई दिनुहोस् । देश बनाउने अभिभारा तपाईँ हाम्रो पनि हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *