नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी सन्जु रहिनन्

काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताए । उनका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो ।

प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताएका छन् । उनले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिएका छन् । खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आएकी थिइन् ।

१९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट भएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ आएकी थिइन् । बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको १३आँै सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । उनले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *