पार्टीको मूल्याङ्कन र वडावासीको चाहनामा उम्मेदवार बनेको हुँ : उम्मेदवार मुल्मी

काठमाडौँ । खेलकुद र समाजसेवाबाट कांग्रेस पार्टी राजनीतिमा उदीयमान नेता हुन् शरोजकुमार मुल्मी । काठमाडौं भोटेबहालका स्थायी वासिन्दा मुल्मी सफल खेलाडी, समाजसेवी र सिद्धान्तनिष्ठ नेताका रुपमा चिनिन्छन् । सफल खेलाडी भएरपनि नेपाली कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने मुल्मी इमान्दार नेता र स्पष्ट वक्ता ठानिन्छन् । सधैं गरिव, निमुखा, आवाजबिहीन, सिमान्तकृत, अल्पसंख्यक, दलित, महिला र अपाङ्गताको पक्षमा आवाज बुलन्द गर्ने उनी आपूलाई राजनीतिसँगै समाजसेवी भन्न रुचाउँछन् । मुल्मी कामनपा ११ का निवर्तमान वडा सदस्य हुन् । अहिले पुनः सोही वडामा नेपाली कांग्रेसको तर्पबाट वडा सदस्यको उम्मेदवार बनेका छन् । आसन्न स्थानीय निर्वाचनसँग सम्बन्धित रहेर मुल्मीसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

शरोजकुमार मुल्मी, वडा सदस्य उम्मेदवार, काठमाडौं महानगरपालिका–११, काठमाडौं ।
यहाँको सम्छिप्त परिचय पाउँन ?

म काठमाडौं भोटेबहालको स्थायी वासिन्दा हुँ । म अहिले नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ११ को इकाइ सभापति छु । म कामनपा–११ को निवर्तमान वडा सदस्य थिएँ । अहिले पुनः सोही वडाको वडा सदस्य पदमा उम्मेदवारी दिएको छु । नेपाली कांग्रेसका हरेक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छु । म कांग्रेस राजनीतिसँगै समाजसेवामा निरन्तर सक्रिय छु । समाजसेवामार्फत पार्टीको हितमा काम गर्दै अगाडि बढेको छु । सधैं पार्टीको नीतिनिर्देशनको अधिनमा रहेर इमान्दार रुपमा काम गर्दै अगाडि बढिरहेको छु । खासगरी मैले नेपाली कांग्रेसको सिद्धान्तमा आधारित रहेर सामाजिक सेवा र जनसेवामा आफ्नो भूमिकालाई जहिलेपनि केन्द्रित गर्ने गरेको छु ।

काठमाडौं महानगरपालिका वडा नं. ११ को वडा सदस्य हुँदा के के गर्नुभयो ?

म वडा सदस्य हुँदा कोभिड महामारी विश्वलाई आक्रन्त पारेको थियो । त्यसबाट नेपाल पनि अछुतो रहेन । त्यसताका मैले आफ्नो ज्यानको प्रवाह नगरीकन जनताका घरदैलो मै पुगेर कोभिडबाट बच्ने उपायका बारेमा विभिन्न चेतनामुलक कार्यक्रम गर्ने, स्वास्थ्य सामग्रदेखि राहत स्वरुप खाद्यान्न वितरणसम्मका काम गरेँ । त्यसबेला मुलुक लकडाउनले कर्फु लागे जत्तिकै भएको थियो । वडावासीहरु भयभित थिए । तत्कालीन सरकार त्यसमा पनि काठमाडौं महानगरपालिकाका मेयरले जनतालाई खोक्रा आस्वासन मात्रै बाँडेका थिएँ । लक्षित वर्ग, समुदायले बिहान, बेलुका खान पाएका थिएनन् । राहतको नाममा आफ्ना कार्यकर्ता र आसेपासेलाई मात्रै हेरिएको थियो । बजार व्यवस्थापन लथालिङ्ग थियो । ग्याँसदेखि खाद्यान्न, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । त्यसबेला मैले ती आक्रन्त जनताका लागि स्वास्थ्य सामग्रीदेखि दैनिक जनजीवीकाको लागि आफ्नो बलबुताले भ्याएसम्म लागिपरेर सहयोगी भूमिका निर्वाह गरेको थिएँ । सबैकुरा ठप्प भएको बेला मैले वडावासीहरुको घर–घरमा पुगेर वडाको साधनस्रोतले भ्यासम्मको सहयोग गरेको थिएँ ।

त्यसको मूल्याङ्कको आधारमा कांग्रेसले पुनः तपाईंलाई टिकट दिएको हो ?

मेरो योगदानको आधारमा त पार्टीले मलाई वडा अध्यक्षकै भूमिका दिनुपर्ने हो । किन म नेपाली कांग्रेसको १४ महाधिवेशनमा वडा नं. ११ को इकाइ सभापतिमा पनि निर्वाचित भएँ । त्यति हुँदाहुँदै पनि वडा सदस्यकै जिम्मेवारी दिएर भएपनि कांग्रेस पार्टी, आम वडावासी र अग्रज नेताहरुले मेरो भूमिकाको कदर गरेको हो भन्ने लाग्छ ।

तपाईं नै दोहोरिएर वडा सदस्य हुनुपर्ने कारण चाहीं के त ?

यस वडामा केही काम गर्नुपर्ने मेरा योजनाहरु छन् । काठमाडौं महानगरपालिका वडा नं. ११ यसअघि जे/जति कामहरु गरेँ, त्यसमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भौतिक पूर्वाधारलगायत कतिपय कुराहरुमा परिपूर्ति गर्न बाँकी रहेको देखिरहेको छु । जस्तो यस वडाको त्रिपुरेश्वर भनेको काठमाडौंको महत्वपूर्ण सेन्टर हो । यहाँ खेलकूद परिषद्, सैनिक मुख्यलय, सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, कर कार्यालय लगायत देशका महत्वपूर्ण अंगका अफिस रहेको ठाउँ हो । यो ठाउँमा सार्वजनिक सौचालय, ट्राफिक जाम व्यवस्थापन गर्नेपर्ने, टुकुचा, धोवीखोलालगायको सरसफाइ र व्यवस्थापन गर्नुपर्ने, भित्रि सडकहरु हिलो, धुलोरहित बनाउनुपर्ने लगायतका कामहरु परिपूर्ति गर्नुछ । अर्को यस वडामा अलिकति भूमिहीन व्यक्तिहरुको बसोबास छ । ती व्यक्तिहरुलाई राहत पुग्ने गरी नीतिगत कुरामा सुधार ल्याउनका लागि पनि मेरो उम्मेदवारी हो । त्यो काम मैले गर्छु भन्नेमा यहाँका तमाम वडावासीलाई थाहा छ । तेही भएर पनि मलाई पार्टीले मूल्याङ्कन गरेर पुनः टिकट दिएको हो जस्तो लाग्छ ।

दोहोेरिएर आउनुभयो, तपाईंले चुनाव जित्ने आधार के ?

यसका विभिन्न कारणहरु छन् । पहिलो त मेरो प्रतिस्पर्धी सक्षम हुनुहुन्न । किनभने मसँग चुनावमा प्रतिस्पर्धा गर्नेभन्दा यो क्षेत्र मैले धेरै बुझेको छु । मैले यहाँको भूगोल, वडावासीको मनोविज्ञान, जनसंख्या, नागरिक समाज र बुद्धिजीवी बुझेको छु । तेस्रो सबैभन्दा ठूलो कुरा यहाँको जल्दोबल्दो आवश्यकता मलाई राम्रो थाहा छ । यी सबै कुरा किन बुझेको छु भन्दा एक कार्यकाल त्यो पदमा बसेर अध्ययन गर्ने मौका पाइसकेको छु । अर्को भनेको मैले निरन्तर रुपमा पार्टी राजनीतिसँगै सामाजिक काम पनि गरिरहेको छु । त्यसकारण पनि यहाँका वडावासीमलाई एकपटक मत दिनुपर्छ । उहाँहरुको सेवा मैले नै गर्न सक्छु भन्ने लाग्छ । त्यसकारण पनि मेरो जित सुनिश्चित जस्तै छ ।

पार्टीले तपाईं पटक–पटक पत्याउनुको पछाडि के रहस्य छ ?

पार्टीभित्र पनि मूल्याङ्कन प्रणाली हुन्छ । कुनैपनि ठाउँमा कार्यकर्तालाई टिकट दिइरहँदा त्यस क्षेत्रका नागरिकको भ्वाइस के छ त्यसको पनि मूल्याङ्ककन हुन्छ । जनताको जनभावना पनि बुझ्ने गरेको हुन्छ । त्यसकारणले यसलाई टिकट दियो भने जित्न सक्छ भनेर मूल्याङ्कन गरेको हुनुपर्छ ।

घरदैलो कार्यक्रमबाट कत्तिको उत्साहित हुनुहुन्छ चुनाव जित्न ?

हाम्रो काठमाडौं महानगरपालिकाको मेयर सिर्जना सिंहसहितको टिम जुन छ यो सारै असल टीम छ । सिर्जना सिंहको नेतृत्वमा वडा नं. ११ को कुरा गर्नुपर्दा पहिलाको भन्दा बढी जनताले मलाई विश्वास गरेका छन् । त्यो कुरा कसरी आयो भन्दा हामीले जसरी चुनाव प्रचारका बेला ‘डोर टू डोर’ क्याम्पियन गर्यौं, त्यसमा अत्यन्तै उत्साहपूर्ण जनसहभागिता रह्यो । त्यसबेला स्थानीयवासीहरुले ‘शरोजजी तपाईंले हिजो हामीलाई दुःख परेको बेला निकै सहयोग गर्नुभएको छ, त्यसकारण तपाईं दोहोरिएर आउनुभएकोमा हामी खुसी छौं, अझ हामी त तपाईंलाई वडा अध्यक्षको रुपमा हेर्न चाहन्थ्यौं । तर, सदस्य नै भएपनि आउनुभयो हाम्रो सहयोग रहन्छ ढुक्क हुनुहोस्’ भन्नुएको छ । त्यसकारण पनि मेयर सिर्जना सिंहसहित हाम्रो टिमको जित सुनिश्चित छ ।

त्यसोभए वडा नं. ११ मा कांग्रेसको संगठन सुदृढ भएको हो ?

नेपाली कांग्रेस कम्युनिस्टको जस्तो क्याडर बेस पार्टी होइन, मासवेस हो । मासबेसमा जसले जनतासामु गएर काम गर्छ । जसले ‘जे बोल्छ त्यो गर्छ र जे गर्छ त्यो बोल्छ’ नेपाली कांग्रेस त्यस्तो पार्टी हो । मैले त्यसरी काम गरेको छु । जनताले त्यसलाई मूल्यांकन गरेका छन् । फेरि हाम्रा कुराहरु कसैलाई जबर्जस्ती लाद्ने हुँदैन । सबैका सहमति, असहमति राखेर विचार, छलफलबाट समस्या समाधान गर्ने हुन्छ । त्यसकारण पनि १४ औं महाधिवेशनयता नेपाली कांग्रेसको संगठन धेरै सुदृढ भएर आएको छ ।

काठमाडौं महानगरमा मेयरदेखि वडा सदस्यसम्म कांग्रेसले जित्ने माहोल देखिएयो हो ?

पछिल्लो समय काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको पक्षमा यति राम्रो माहोल देखिएको छ जनउभार नै आएको छ । किनपनि त्यस्तो देखियो भन्दा मान्छेमा कम्युस्टिप्रति विश्वास गुमेको छ । काम पटक्कै नगर्ने असम्भव कुराको हल्ला गर्ने भएर पनि कम्युनिस्टहरु खिइँदै गएका हुन् । अनि जनतामा आखिरी यो देशको लागि चाहिँने त कांग्रेस नै रहेछ भन्ने भावना जागृत भएको छ । अहिले यहाँ बुद्धिजीवी, नागरिकसमाज, सञ्चारकर्मी, न्यायिककर्मी, कलाकर्मी, व्यवसायी, विद्यार्थी, मजदुर, किसान, संस्कृतिविध जतिपनि हुनुहुन्छ, उहाँहरु काठमाडौंको मेयर महिला हुनुपर्छ भन्नुभएको छ । महानगरपालिकामा यसपटक कांग्रेसलाई जिताउनुपर्छ भनेर लागि पर्नुभएको छ । त्यसैले कांग्रेसको जित सुनिश्चित छ ।

त्यसोभए काठमाडौं ११ को वडा सदस्य मजाले जित्नुहुन्छ हो ?

मैले अगाडि नै भनिसकेको छु । कामनपा वडा नं. ११ मा मेरो प्रतिस्पर्धी नै छैन । वामपन्थी साथीपनि मेरो अनुहार देखेपछि भोट हाल्ने बेलामा एकपटक सोच्नुहुन्छ होला । त्यति चाहीं मैले काम गरेर बनाएको छु । किनभने हिजो कोरोना कहरका बेला राहतदेखि स्वास्थ्य सामग्रीसम्म व्यवस्था गर्ने शरोजकुमार मुल्मी नै हो । विकास निर्माणमा शरोजकुमार मुल्मी, समाजसेवामा शरोजकुमार मुल्मी अगाडि गइराखेको छ भने यहाँका नागरिकले भोट नदिने कुरै हुँदैन । त्यसैले पनि मलगायत नेपाली कांग्रेसको जित सुनिश्चित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *