बागमती प्रदेश कांग्रेस प्रतिनिधि परियारको हत्या, सहमतिपछि शव उठ्यो

काठमाडौँ । धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको हो । यससँगै भरतपुर अस्पतालको शवगृहमा रहेको परियारको शव परिवारले दाहसंस्कार गरेका हुन् । परियारको आइतबार साँझ अबेर भरतपुर महानगरपालिका–७ कृष्णपुरमा हत्या भएको थियो ।

बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सहमति भएको हो । श्रेष्ठले राहत तत्काल दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कुराकानी गरेको बताए । स्थानीय प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग आफ्नो रहेको बताए । नेपाली कांग्रेस चितवनले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र सहिद घोषणा गर्न माग गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले सहिद घोषणाका लागि पार्टीको केन्द्रमा लेखी पठाउने बताएका छन् । हत्यामा सङ्लग्न भएकाहरूको पहिचान भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । हत्यापछि कांग्रेस र तिनका भातृ सङ्गठनले विरोध प्रदर्शन गर्दै आएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *