मतदानस्थल तयार : बढ्यो निर्वाचनको रौनक

काठमाडौँ । सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपराह्न साढे चार बजे मतदानस्थल पुग्यो । झण्डै ६० किलोमिटर टाढा रहेको बरेङ गाउँपालिका–४ स्थित सल्यान सुखौरा माध्यामिक विद्यालयस्थित मतदानस्थलमा पुग्दा सर्वसाधारण उहाँहरूको स्वागतका लागि विद्यालयमै थिए । स्वागतपछि स्थानीयवासीले कर्मचारी र सुरक्षाकर्मीको समूहलाई आवश्यक बन्दोबस्त र खानपानको प्रबन्ध गरेका थिए । निर्वाचनको समय भएकाले सर्वसाधारणको खटनपटन र साथ सहयोगको कमै आशा राखेका कर्मचारी र सुरक्षाकर्मीले स्वागतयोग्य सहयोग पाएका थिए ।

“मतदानको दिनसम्म यहाँको वातावरण यस्तै रहनेछ, हामी आशा गरौँ नमूना मतदान केन्द्रको रुपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेर हामी फर्किने छौँ”, मतदान अधिकृत जिसीले भन्नुयभोे, “मैले योसँगै चारवटा निर्वाचनमा अधिकृत भएर काम गरेको छु, यो स्थानीय तहको निर्वाचनमा जनताको उत्साह निकै राम्रो भेटेँ ।” उहाँले जस्तै जिल्लाभर खटिएका २३० मतदान अधिकृतले पनि सर्वसाधारणबाट यस्तै व्यवहार पाएका थिए ।

मङ्गलबार साँझ पुगेको मतदान अधिकृतको समूहले बुधबारदेखि धमाधम मतदानका लागि आवश्यक संरचना तयारीको काम गरिरहेको छ । बुधबार दिउँसो सर्वदलीय बैठक राखेर मतदान अधिकृत जिसीले शान्तिपूर्ण निर्वाचनका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । मतदानस्थलको सरसफाइ, व्यवस्थान होस् वा मतदान केन्द्रको तारबारको काममा मतदान अधिकृतहरूले साथ पाएको उहाँले बताउनुभयो । जिल्लाभर रहेका १०३ मतदानस्थलका २३० मतदान केन्द्र यो समाचार तयार पार्दासम्म धमाधम तयार भइरहेका थिए । मौन अवधि सुरु भएकाले दल तथा उम्मेदवारको मत माग्नेको चहलपहल घटे पनि मतदानस्थल तयार भएपछि भने निर्वाचनको रौनक थपिएको छ ।

“नयाँ मतदाताका लागि मतदाता परिचयपत्र वितरण भइरहेको छ, युवायुवती उत्साजकनक तरिकाले परिचयपत्र लिन आएका छन्”, बागलुङ बजारको बुद्धबिहार मतदान केन्द्रका मतदान अधिकृत ईश्वरीप्रसाद शर्माले भन्नुभयो, “मतदाता मत दिन उत्साहित छन् भन्ने बुझिन्छ ।” निर्वाचनका बेला जिल्लाका विभिन्न भागमा अवाञ्छनीय घटना भएका पहिलादेखिको उदाहरण छन् । विसं २०६४ मा भएको संविधानसभा निर्वाचन होस् अथवा २०७० को दोस्रो निर्वाचन । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा समेत अवान्छित गतिविधि भएका थिए तर यस वर्षको स्थानीय तहको निर्वाचनमा मतदानको समय एक दिनमात्रै बाँकी रहँदा शान्तिपूर्णरूपमा निर्वाचनको तयारी हुनुलाई सर्वसाधारणले सुखद् भनेका छन् ।

“यस जिल्लाले यो वर्ष नमुना निर्वाचन गरेर देखाउँछ, अहिलेसम्म अप्रिय केही भएको छैन र हुँदैन पनि”, मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले भन्नुभयो, “शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्न हामीले सबैलाई आग्रह गरेका छौँ ।” जिल्लाभर मतदानस्थल तोकिएका अधिकांश विद्यालय सिङ्गारिएका छन् । मतदानस्थलमा देखिएको उत्साहले निर्वाचनलाई थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *