पुस्तक समीक्षा : बौद्धदर्शन र आमसञ्चारको पाँचौँ शान्ति सिद्धान्त

काठमाडौँ । पत्रकार बालकृष्ण चापागाईँले गत वर्ष लुम्बिनी विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभयो र आफ्नो अध्ययनानुसन्धानको सामग्रीलाई सोही नामबाट कृतिका रूपमा प्रकाशन (डा. सदीक्षा चापागाईँ, २०७८) मा ल्याउनुभयो ।

शाक्यमुनि बुद्धद्वारा प्रतिपादित धर्मदर्शन र त्यसले विश्वमा पारेको प्रभावका आधारमा आमसञ्चारको पाँचौँ सिद्धान्तका रुपमा शान्ति सिद्धान्तको नयाँ अवधारणाको विवेचना कृतिमा गरिएको छ । बुद्ध र उनका शिक्षा, वा उपदेश वा दर्शन वा धर्मलाई अहिंसा वा शान्तिका रुपमा मात्र बुझिरहेकाले वास्तविक सिद्धान्त बुझ्न अध्ययन गर्न थाले भने जटिल र अनौठा विषय भेटाउन थाल्छन् ।

बुद्ध स्वयंले आफ्नो बुद्धत्व कठिन मानी सुरुमा आफूमा मात्र सीमित राख्न चाहेको तर कसैले उनी लोकमा मानवको उद्धार गर्न जन्मेको भनी सम्झाइदिएपछि आफ्नो ज्ञान प्रचारमा लागेको भनाइ बौद्ध साहित्य भेटिन्छ । पहिलो चोटि ज्ञान पाउनेले नै जटिल भनेको विषयलाई अरूले कति बुझ्ने हुन् र तिनले फेरि अरूलाई कसरी बुझाउने हुन्, भन्न गाहै्र छ । विविध विषयमा सामान्य ज्ञान मात्र राख्ने पत्रकारमाझ चापागाईँले बौद्धदर्शन वा धर्मजस्तो जटिल विषयमा प्रवेश गरी आफ्नै कार्यक्षेत्र सञ्चारसँग जोडेर पिएचडी गर्नु पत्रकारका लागि पनि गौरव र प्रेरणाको विषय हुँदै हो, राज्यसत्ताको विकासक्रमसँगै विश्वमा आमसञ्चारका पनि विभिन्न सिद्धान्त जस्तै निरङ्कुशतावादी, उदारवादी, सामाजिकउत्तरदायित्व र साम्यवादी सिद्धान्तबारे अध्ययन भइरहेका अवस्थामा आएको सञ्चारको शान्ति सिद्धान्त आमसञ्चारकर्मीका लागि पनि उत्सुकताको विषय हो ।

बौद्ध धर्म वा दर्शनका प्रचारमा पहिले बुद्ध स्वयं लागेका थिए र आफ्ना अनुयायी तयार गरी यसको प्रसारमा योगदान गरेका थिए । चतुर्आर्यसत्यका रुपमा रहेका दुःख, दुःखका कारण छ, दुःख हटाउन सकिन्छ र दुःख हटाउने उपाय छन् भन्ने सिद्धान्त र दुःखलाई हटाउने आर्यअष्टाङ्गिक मार्ग(सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधिअर्थात् प्रज्ञा, शील र समाधि) बुझ्न सकेमा बौद्धदर्शनको मर्म सामान्य रूपमा बुझ्न सकिन्छ । कारण र कार्य बुझाउने प्रतीत्यसमुत्पाद सिद्धान्तले भने अज्ञान वा अविद्याका कारण जन्मने तृष्णा हटाउन सके निर्वाण वा मुक्ति पाउने जनाउँछ । यस जगत्को मुख्य समस्या नै दुःख हो र त्यसमा फसिरहेका मानिसलाई उद्धार गर्न बाटो देखाइदिने गौतम बुद्ध हाम्रै भूमिमा जन्मेर एशियाका प्रकाशबाट विश्वका ज्योतिसम्म बन्न सफल भएका थिए ।

आफ्नो राजकीय भोगविलास त्यागेर संसारका मानिसको मुक्तिका लागि बाटो देखाइदिने ती शास्तालाई पहिले नेपालभूमि र नेपालीले बुझ्न सक्नुपर्छ र अरूलाई चिनाउन सक्नुपर्छ । पत्रकार चापागाईँले मोटै पुस्तकबाट बुद्ध र बौद्धदर्शनबारे बुझाउन धेरै प्रयास गर्नुभएको छ । खासगरी बौद्धधर्मको प्रचारक लागि अपनाइएका बौद्धकालीन सञ्चार व्यवस्था तथा वर्तमान सञ्चार प्रणालीको प्रस्तुतिमा बौद्धदर्शन र शान्तिको विषयसँग जोडेर गर्नुपर्ने मुख्य कुरा कृतिमा उठाइएको पाइन्छ ।

बौद्धदर्शनको शाश्वत आधार भनेको दुःख हो । बौद्धदर्शनमा निहित तत्त्वहरूको लोकप्रियता र व्यापकताका निम्ति समसामयिक सञ्चारको महत्वपूर्ण भूमिका रह्यो, आधुनिक कालमा पनि सञ्चारको भूमिका उत्तिकै रहेको छ र भविष्यमा पनि रहिरहने छ । कृतिमा विभिन्न विद्वान्हरूका कृतिका अध्ययनबाट प्राप्त प्रामाणिक आधार, ज्ञान, शिक्षा एवम् समग्रमा पूर्वसाहित्यका रूपमा रहेका सामग्रीको प्रशस्त समीक्षा गरिएको छ । समाजमा असल विचार सञ्चारित हुँदा सभ्य समाज निर्माण भई शान्ति प्राप्त हुन्छ । विश्वमा बौद्धदर्शन मानवकल्याण र शान्तिको पथप्रदर्शकका रूपमा स्थापित छ । यसलाई जनमानसमा प्रभावकारी सञ्चार गराउन सक्दा मानिसमा सकारात्मक सोच र चिन्तनको विकास भई विश्वशान्ति स्थापना हुन सक्ने लेखकको अभिप्राय छ ।

गौतमबुद्ध आफ्नो जीवनकालमै विश्वकल्याणकारी विचारलाई मानव समाजमा सम्प्रेषित गरी सकारात्मक प्रभाव दिन सफल भएका थिए भने महापरिनिर्वाणपछि आफ्ना शिष्य एवम् अनुयायीले उनका विचारलाई मानव समाजमा पु¥याएको छ । बुद्धले ज्ञान प्राप्त गरेपछि ४५ वर्षसम्म विश्वकल्याणकारी उपदेश जीवनपर्यन्त दिइरहे । उनको महापरिनिर्वाणपछि ती विचारलाई संरक्षण र संवद्र्धन गर्ने काम उनकै शिष्य र अनुयायीबाट सुरु गरियोे, विभिन्न सङ्गायन (बौद्धभेला) गरिए, बौद्ध शैक्षिक प्रतिष्ठान तथा सङ्घसंस्था स्थापना गरिए ।

महापरिनिर्वाणको पहिलो वर्षमै सम्पन्न प्रथम सङ्गायनदेखि छैटौँ संगायन (सन् १९५६) सम्म आइपुग्दा बौैद्धधर्म–दर्शनको विकास एव विश्वमा यसको प्रभाव विस्तार भएको पाइन्छ । यसको विकास र विस्तारमा मानवीय सञ्चारका तत्व एवं प्राचीनकालदेखि चलिआएका सञ्चारका विभिन्न तरिका एवं साधन र आधुनिक सञ्चारमाध्यमका रूपमा विकसित छापा, रेडियो, टेलिभिजन, इमेल–इन्टरनेटजस्ता नयाँ सूचना प्रविधि एवं न्यु मिडियाको प्रयोगले विश्वमा बौद्धदर्शनको प्रचारप्रसारमा तीव्रता आएको पाइन्छ ।

उनले तर्क, बुद्धि, विवेक, न्याय र प्रज्ञामा आधारित ज्ञान÷उपदेश दिए र मानिसका लागि स्वतन्त्रता, सामाजिक न्याय र समानतामा जोड दिए । बौद्धदर्शनका नयाँ परिभाषाका रूपमा वैभाषिक मत, सौत्रान्तिक मत र माध्यमिक मतलगायत अनेकाँैं मत तथा हीनयान, महायान, वज्रयानजस्ता सम्प्रदायको पनि विकास भएको पाइन्छ । शाक्यमुनि बुद्धका शान्ति र समभावका विश्वव्यापी दृष्टिकोणको प्रचारप्रसारमा विभिन्न सञ्चारको उपयोग गरियो । जीवनपर्यन्त विश्वकल्याण र शान्तिको सन्देशबाहक बनेका गौतम बुद्ध शान्ति सञ्चारको अग्रनायकका रूपमा रहेको लेखक बताउनुहुन्छ ।

बुद्धका विचारले विश्वराजनीति, द्वन्द्व व्यवस्थापन र शान्तिका लागि प्रभाव पारेको देखिन्छ । विश्वका विभिन्न मुलुकमा बौद्ध धर्मदर्शनलाई आधार मानेर राज्य सञ्चालनका लागि मार्गदर्शनका रूपमा लिएको समेत पाइन्छ । विश्वशान्तिको कुरा आउनेबित्तिकै बुद्धका विचारको महत्त्वबारे स्वाभाविक चर्चा हुने गर्छ । संयुक्त राष्ट्र सङ्घले समेत बुद्धका विचारलाई मार्गदर्शनका रूपमा स्वीकार गरेको पाइन्छ । विश्व–शान्तिका बारेमा विभिन्न सिद्धान्तको चर्चा, व्याख्या र विवेचना भएको पाइए पनि बौद्ध दर्शनको आलोकमा शान्तिका लागि सञ्चारले खेल्दै आएको भूमिका बारे उच्च महत्वका साथ आवश्यक चर्चा र विवेचना भएको नपाइएको ठहर गरी उहाँलाई लुम्बिनी विश्वविद्यालयले सो विषयमा विद्यावारिधि गराई ‘सञ्चारमा शान्ति सिद्धान्तको प्रतिपादन र औचित्य पुष्टि गराएको छ । सो सिद्धान्तले विश्वका राज्य सञ्चालकबाट सञ्चार नीति बनाउँदा र सञ्चारमाध्यममा विषयवस्तु प्रस्तुत गर्दा समाजमा शान्तिका लागि योगदान पुग्न सक्ने सूचना, समाचार र विचारलाई उच्च महत्त्वका साथ सञ्चारित गर्न आवश्यक ठानेको छ ।

लेखकले बुद्धकालमा मूलतः मौखिक सञ्चार नै सूचना, समाचार र विचार सम्प्रेषणको प्रमुख आधार रहेको तथा स्वर्णपत्र, ताम्रपत्र, शिलालेख आदि माध्यमको प्रयोग पनि भएको पाइएको जनाउँदै आफ्नो कालमा आधुनिक सञ्चारमाध्यमको विकास नभए पनि सूचना, समाचार र विचार सम्प्रेषण गर्ने विभिन्न तरिकालाई गौतम बुद्धले प्रयोग गरेका थिए । तिनमा पहिलो अन्तर्मुखी सञ्चार, दोस्रो अन्तर्वैयत्तिक सञ्चार, तेस्रो समूह सञ्चार पद्धति र चौथो धर्मसभाहरूलाई प्राचीन आमसञ्चारका रूपमा प्रयोग गरेको कृतिमा उल्लेख छ । हिंसा र द्वन्द्वग्रस्त आधुनिक विश्वमा आणविक हातहतियारको प्रयोग गरी खोजिने शान्ति असफल भइरहेका अवस्थामा वैज्ञानिक शान्ति मार्ग बौद्ध–दर्शनमा रहेको जनाउँदै आधुनिक सञ्चारमाध्यमले मानिसलाई सरल र प्रभावकारी ढङ्गले वैज्ञानिक विधि र शैलीद्वारा बौद्ध दर्शनबारे जानकारी गराई सकारात्मक प्रभाव दिन सक्दा विश्वमा शान्ति स्थापना हुने विश्वास लेखकले गर्नुभएको छ । “विश्व–शान्तिका लागि बौद्ध–दर्शन र सञ्चार परिपूरकका रूपमा रहेका छन् । यसलाई सँगै जोडेर समान रूपमा अगाडि बढाउन आवश्यक देखिन्छ । बुद्धका विचारको प्रभावकारी सञ्चार हुँदा समाजमा शान्ति स्थापना हुने देखिन्छ । विश्वमा देखा परेको मानव–मानवबीचको वैमनस्यताको न्यूनीकरण र नैतिक जीवनका लागि प्रेरित गर्ने गरी छापा, चलचित्र, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, अनलाइनका साथै पछिल्लो समयमा सूचना–प्रविधिको विकाससँगै आएका न्यु मिडियाहरूले गौतम बुद्धका विचारलाई आम जनताका बीचमा सरल र सहज ढङ्गले बुझ्ने गरी प्रचारप्रसार गर्नु आवश्यक देखिन्छ, सञ्चारमा शान्ति सिद्धान्तका प्रतिपादक एवं व्याख्याता डा. चापागाईँको सुझाव छ । आमसञ्चारमा आफ्नो नयाँ सिद्धान्तले विश्वव्यापी प्रभाव पार्ने र विश्वका विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा यसले उचित स्थान प्राप्त गर्ने विश्वास पनि लेखकको छ ।

बौद्धदर्शनका अनेक आयाम सूक्ष्म र विस्तृत चर्चाका साथ उठाइएको कृति पत्रकारका लागि सङ्ग्रहणीय त छँदै छ, बौद्धदर्शनका अध्येता र अनुसन्धाताका लागि पनि उपयोगी छ । विद्यावारिधिमा प्रक्रिया पु¥याउन लेखिने अनेक प्रसङ्ग अहिले कृतिका रूपमा ल्याउँदा हटाइदिएको भए धेरै पृष्ठ छोटिने कुरालाई लेखकले हेक्का राख्न सक्नुपथ्र्यो । कृतिमा अति नै पुनरुक्ति दोष छन् र वर्णविन्यासमा पनि प्रशस्तै अशुद्धि पाइन्छन् । जे होस्, यसले अन्य पत्रकारलाई पनि नेपाली भूमिबाट जन्मेको बौद्धदर्शनको अध्ययनअनुसन्धान गर्न र अरू विषयमा पनि विद्यावारिधि गर्न प्रेरणा भने अवश्य दिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.