बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास….

काठमाडौँ । स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत जीत हासिल गरेका छन् । स्थानीय तहलाई संविधानले अधिकार सम्पन्न बनाएको छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक भएको निर्वाचनले फरकफरक आयाम पनि स्थापित गरेको छ ।

काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको चर्चा भइरहेको बेला मधेस प्रदेशको एक स्थानीय तहमा २२ वर्षे युवाले इतिहास रचेका छन् । तराई मधेसमा राजनीतिमा आउन र स्थापित हुन अझै गाह्रो छ । सामाजिक तथा आर्थिक विषयले पनि त्यति सहज नभएको जानकारहरूले टिप्पणी गरिरहेको बेला राजाबाबु यादवको जीत आफैँमा महत्वपूर्ण देखिन्छ । राजनीतिमा प्रौढ र वृद्धहरूको मात्रै बोलवाला चलिरहेको छ भन्ने चर्चाका बीच युवाको सशक्त उपस्थितिले सकारात्मक प्रभाव पारेको छ । आज सार्वजनिक भएको परिणामअनुसार रामनगर गाँउपालिकाको अध्यक्षमा निर्वाचित राजाबाबु यादव मात्रै २२ वर्षका हुनुहुन्छ । उहाँले चार हजार ८१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

नेकपा ९माओवादी केन्द्र०का तर्फबाट उम्मेदवारी दिनुभएका यादव माओवादी जनयुद्धले स्थापित गरेको मूल्य र मान्यतालाई स्थापित गराउन राजनीतिमा युवाको सहभागिता बढाउनुपर्छ भन्ने मान्यताका साथ आफू जनतामा गएको बताउँदै आउनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दप्रसाद यादवले दुई हजार ३९२ मत मात्रै प्राप्त गर्नुभएको छ । राजाबाबुको समूहबाटै उपाध्यक्षमा गीता देवी निर्वाचित हुनुभएको छ । उहाँले कूल तीन हजार ५२३ मत हासिल गर्नुभएको छ । बाइस वर्षीय युवकले निर्वाचनमा जीत हासिल गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उहाँको व्यापक चर्चा भएको छ । त्यस्तै स्थानीय तहको निर्वाचनमा केही समयअघिसम्म सञ्चारकर्ममा रहेकाले समेत विजयी भएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यसमेत रहनु भएका रमेश आचार्य धादिङको धुनीबेँसी नगरपालिका–६ बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनु भएका आचार्य धादिङको पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवारी दिनुभएका आचार्यले ८१७ मतका साथ जीत हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विजय तामाङले ५३२ मत प्राप्त गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल जाजरकोटका पूर्व जिल्ला अध्यक्ष वसन्तप्रसाद शर्मा भेरी नगरपालिका ४ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ को वडाध्यक्षमा पत्रकार भोजराज कार्की निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका कार्कीले ४१२ मत ल्याएर कांग्रेसका मणिराम राईलाई पराजित गर्नुभएको हो ।

सो वडामा कार्कीको प्यानल नै निर्वाचित भएको छ । कार्की नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारले नै जीत हासिल गनुभएको छ । यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा निर्वाचित नेकपा (एमाले) का हिरासिंह धामी पनि पूर्वसञ्चारकर्मी नै हुनुहुन्छ । उहाँले चार हजार ३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले तीन हजार ३२२ मत प्राप्त गर्नुभएको थियो । पत्रकार महासङ्घ दार्चुला, बैतडी संयुक्त शाखाका संस्थापक उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएका धामीले दुई दशक बढी समय पत्रकारितामा बिताउनुभएको थियो । उहाँले निवर्तमान अध्यक्ष नरेन्द्र धामीलाई पराजित गर्नुभएको हो । सो गाँउपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित हुनुभएको छ ।

पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाएको स्पष्ट देखिन्छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेका देखिएका छन् । माओवादी केन्द्र निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिक दलले क्रमशः आफ्नो समितिभित्र युवा तथा विद्यार्थीलाई सक्रियरूपमा सहभागी गराइरहेका छन् ।

दार्चुलाको अपी हिमाल गाउँपालिकाको अध्यक्षमा विजयी भगतसिंह ठेकरे बोहोरा क्रान्तिकारीको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ को अध्यक्षमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारका रुपमा रहनुभएका माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार घनश्याम खरेल निर्वाचित हुनुभएको छ । खरेल अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । सो गाउँपालिकामा सत्तारूढ गठबन्धनले वडा तहसम्म नै तालमेल गरेको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका खरेलले ५५२ मतसहित विजयी हुनुभएको हो । सो वडामा कूल ८०० मत खसेको थियो ।

यस्तै सोही सङ्गठनका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गर्नुभएका तारा भण्डारी धादिङको गजुरी–१ को अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो समयसम्म अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्वमा रहनुभएका भण्डारी पछिल्ला दिनमा भने गजुरीमा फर्केर पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *