म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

काठमाडौँ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले चार हजार ९५०  मत पाएका छन् । रानाले चार हजार २३२ मत पाइँन् । 

म्याग्देमा १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । अघिल्लो पटक पनि म्याग्देको अध्यक्षमा यिनै दुईको चुनावी भिडन्त भएको हो । नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेद्वारी दिएकी राना दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित हुने दाउमा थिइन् । तर अपेक्षाकृत नतिजा हासिल नहुँदा उनको यात्रामा पाँच वर्षका लागि ब्रेक लागेको छ । 

गएको निर्वाचनमा म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा थियो ।  अध्यक्षमा मायादेवी रानाले चार हजार ५४२ ल्याउँदै एक हजार ८१ मतान्तरले एमालेका श्रीप्रसाद श्रेष्ठलाई पराजित गरेकी थिइन् । यसपालिका श्रेष्ठले हारको बदला लिँदै जित दर्ता गराएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले पाँच हजार ३९ मत ल्याएर विजयी भए । उनका निटतम प्रतिद्वन्द्वी एमालेकी रत्नादेवी घिमिरेले चार हजार २०० मत पाइन् । अघिल्लो पालि पनि यिनै दुईको भिडन्त थियो । तर दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ ।  गएको निर्वाचनमा बालकृष्णले चार हजार र रत्नादेवीले तीन हजार १५४ मत पाएका थिए ।

यसपालि म्याग्देमा एमालेले वडामा पनि नतिजा सुधार गरेको छ ।  वडा नम्बर १, ३ र ७ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २,४,५, ६ मा कांग्रेस उम्मेद्वार विजयी भएका छन् । वडा नम्बर १ को अध्यक्षमा मणिभद्र वाग्ले,  २ मा शिवबहादुर क्षेत्री, ३ मा टुकराज अधिकारी, ४ मा दिपककुमार श्रेष्ठ, ५ मा शिवबहादुर आले, ६ मा हिरालाल गुरुङ र ७ मा बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । अघिल्लो पटक म्याग्देको वडा नम्बर २ र ६ मा  एमालेले वडाध्यक्षमा जित हासिल गरेको थियो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *