पानीजहाज, भ्यूटावर आवश्यक छैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्ने स्थानलाई मर्यादित बनाउन आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेकपाका संस्थापक महासचिव पुष्पलालले अगाडि सारेका वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको सहकार्यका आधारमा मात्रै नेपालमा ठूलाठूला परिवर्तन भएको तथ्य पेश गर्दै अध्यक्ष नेपालले राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, जलविद्युत् उद्योगलगायतका विषयलाई प्राथमिकतामा राखिएमा प्रसन्नता व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएकाले अब त्यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिन आग्रह गरेका छन् । पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक नभएको भन्दै उहाँले नेपाली युवालाई सीपयुक्त बनाउन दूरदृष्टि राख्नुपर्ने स्पष्ट पारेका छन् ।

नेपालमा कति वटा राजमार्ग आवश्यकपर्ने विषयमा पनि वस्तुवादी दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्नेमा उनले जोड दिएका छन् । नेपालले स्वतन्त्र उम्मेदवारको जीतलाईसमेत जनभावनाका रुपमा स्पष्ट पारेका छन् । राजनीतिप्रति बढ्दै गएको वितृष्णालाई पनि हेर्नुपर्ने तथा भ्रष्टाचार समाप्त गर्नेतर्फ लाग्नुपर्ने उनले बताए । समग्र नेपालको विकासको प्रक्रियालाई आत्मसात् गर्नुपर्ने, विकास प्रगति र न्यायोचित वितरणको कामलाई अगाडि बढाउनुपर्ने नेता नेपालको धारणा छ । नेपालले मनलाग्दी तवरले विमानस्थल निर्माण गरिएकामा समेत आपत्ति प्रकट गरेका छन् ।

उनले लामो अध्ययनपछि अगाडि बढाइएको निजगढ विमानस्थल अगाडि बढाइएको भए पनि त्यसलाई रोकिएको भन्ने विषय आएकामा दुःख व्यक्त गरेका छन् । “सो विमानस्थलको विकल्प के ? रिजनल हबका रुपमा अगाडि बढाउन खोजिएको हो, विमानस्थल निर्माण रोकिनुका कारण के हो ?” पूर्वप्रधानमन्त्री नेपालले प्रश्न गरेका छन् ।

भ्रष्टाचारको जालो तोड्नका लागि सरकारी निकायको तत्परताको जरुरी रहेको उल्लेख गर्दै उनले निर्वाचनका नाममा भोजभतेर गर्ने, कसलेभन्दा कसले बढी खर्च गर्ने प्रतिस्पर्धा चलेको बताए । अध्यक्ष नेपालले हाम्रै जीवनकालका देश समृद्ध बन्ने, विकास र समृद्धिको चाहनाले साकार रुप पाउने विश्वास व्यक्त गरेका छन् ।

सांसद प्रमोद साहले पछिल्ला चार वर्षमा सरकारी पक्षले नीति तथा कार्यक्रमको समर्थन गर्ने र विपक्षीले विरोध गर्ने परिपाटी रहेमा यस वर्षको कार्यक्रमले कृषि, उद्योग, खानेपानी, विद्युत् उत्पादन प्रसारण लगायतका विषयलाई समावेश गरिएकामा प्रसन्नता व्यक्त गरेका छन् । उनले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहने गरेकाले त्यसलाई मजबुत बनाएर लागिपर्न आग्रह गरेका छन् ।

मानव सूचकाङ्कका आधारमा नीति तथा कार्यक्रम ल्याएकामा खुसी व्यक्त गर्दै उनले जनसङ्ख्याका आधारमा पनि मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारलाई आरोप लगाउनुअघि आफ्नै पालामा भएका भ्रष्टाचारका विषयमा पनि स्मरण गर्न नेकपा (एमाले)लाई आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *