किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग


काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।

सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताउनुभयो ।

सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बीउ सकिएको र नयाँ बीउ देशभर पु¥याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताउनुभयो । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको आएको बताउनुभयो ।

सांसद सरलाकुमारी यादवले सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताउनुभयो । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको बताउनुभयो ।

सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भूभागलाई कोसी कटानले क्षत्विक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सांसद लक्ष्मीकुमारी चौधरीले बलत्कारका घटनामा सत्यतथ्य बुझेर र पीडितले न्याय पाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गका पुल २०६८ सालमा ठेक्का भएकामा अझै ५० प्रतिशत नसकिएकाले निर्माण कम्पनीलाई कारवाहीको माग गर्नुभयो । सांसद लीलादेवी सिटौला (गौतम) ले नेपालमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्ने, केन्द्रमा पाँच÷छ मन्त्रालय राख्नुपर्ने र विकासको पुँजी विकेन्द्रीकृत गर्नुपर्ने बताउनुभयो ।

सांसद विद्या भट्टराईले प्राध्यापक र सहप्राध्यापकको अन्तवार्ता एक वर्षसम्म नहुँदा शिक्षामा सुधार नआउने उल्लेख गर्नुभयो । सांसद बीनाकुमारी श्रेष्ठले दक्षिणकाली क्षेत्रमा जथाभावी उत्खनन भएकाले पहिरोको जोखिम रहेकाले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सांसद वृन्दा पाण्डेले काठमाडौँलगायतका सहरी क्षेत्रमा फोहर बढिरहेको र अशुद्ध पानीका कारण हैजा फैलिरहेको बताउनुभयो ।

सांसद विशाल भट्टराईले बूढीगङ्गामा पहिले विनाकारण निर्वाचन राकिएको र अहिले एमालेकै उम्मेदवार विजयी भएको बताउनुभयो । सांसद शक्तिबहादुर बस्नेतले शिक्षामा राज्यको लगानी कम भएको र भएको लगानी पनि सदुप्रयोग नभएको औँल्याउनुभयो ।
सांसद डा शिवमाया तुम्बाहाम्फेले राष्ट्रियसभामा सर्वोच्च विचाराधीन मुद्दामा छलफल भइरहेकाले त्यसो हुनु नहुने उल्लेख गर्नुभयो ।

सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक सङ्कटग्रस्त घोषणा भए पनि सरकारले नागरिकलाई त्यसबाट मुक्त बनाउन नसकेको बताउनुभयो । सांसद सत्य पहाडीले डोल्पाको दुनै पहिराका कारण जोखिममा रहेको र त्यसको व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उल्लेख गर्नुभयो । सांसद सरिताकुमारी गिरी कानुनको कारवाही हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद सरवत आरा खानमले सरकारले इदमा बिदा दिएर मुस्लिम धर्मावलम्बीलाई देशप्रति अपनत्वको महसुस गराएको बताउनुभयो । सांसद सीताराम महतोले इटहरी उपमहानगरपालिकामा शिक्षा र स्वास्थ्यमा सुधारको आवश्यकता औँल्याउनुभयो । सांसद डा सूर्यप्रसाद पाठकले जापानका लोकप्रिय नेता गुमाउँदा शोकमा डुबेको बताउनुभयो । सांसद हिरा गुरुङले भारत र चीनमा कोभिड सङ्क्रमण बढिरहेकाले सरकारको तयारी अघि बढाउनुपर्ने बताउनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *