प्रधानमन्त्रीद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले पाल्पाका पार्टीका नेता विजयराज घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सभापति देउवाले घिमिरेको निधनमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

क्यान्सर रोगबाट पीडित घिमिरेको भदौ ३० गते बिहीबार राति ८.१५ बजे उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । वि.सं २०५६ र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नं १ बाट कांग्रेसको उम्मेदवार बनेका घिमिरे कांग्रेस केन्द्रीय लेखासमितिको पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य थिए । वि.सं २०२५ मा जन्मेका घिमिरेले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पार्टीको तर्फबाट सक्रिय भूमिका खेलेका थिए । उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने मुख्यसचिव पौडेलले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *