मुद्दाको वर्गीकरण र प्रविधिको प्रयोगले सहज बन्दै न्यायसम्पादन

गलकोट । अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा एक वर्ष नाघेका जम्मा एक थान मात्रै मुद्दा छ । अदालतमा पुराना मुद्दा फछ्र्योटले तीव्रता पाएसँगै पुराना मुद्दाको सङ्ख्या ह्वात्तै घटेको छ । मुद्दाको प्रकृतिका आधारमा वर्गीकरण र प्रविधिको प्रयोगले न्याय सम्पादन छिटो र सरल बन्दै आएको छ । यस अदालतमा एक वर्षभित्रका बाँकी जम्मा एक सय ११ मुद्दा मात्रै छन् । अदालतामा सुरु मुद्दा र पुनरावेदन भएर आएका ९९, रिट निवेदन सात, फुटकर निवेदन एक र प्रतिवेदन चार मुद्दा मात्रै गत वर्षदेखि जिम्मेवारी सरेर आएका हुन् ।

अदालतले मुद्दाको प्रकृतिका आधारमा सरलमार्गमा रहने मुद्दालाई छ महिनाभित्र, सामान्य मार्गमा रहने मुद्दालाई एक वर्षभित्र, विशेष मार्गमा रहने मुद्दालाई अठार महिना र निवेदन तथा प्रतिवेदनलाई एक महिनाभित्रै फछ्र्योट गर्ने लक्ष्यअनुसार पुराना मुद्दाको सङ्ख्यामा कमी आएको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधीश कृष्ण गिरीले जानकारी दिनुभयो ।

न्यायाधीश गिरीका अनुसार चालू आर्थिक वर्षमा तीन सय ७० मुद्दा दर्ता हुने र दुई सय ४० मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकामा भदौ मसान्तसम्म ४२ मुद्दा दर्ता भएका छन् भने लगत मुद्दासहित भदौ मसान्तसम्म ६१ मुद्दा फछ्र्योट भइसकेका छन् ।

“अदालतले पारदर्शी र प्रविधिमैत्री गराउँदै लैजाँदा न्यायसम्पादन छिटो र छरितो भएका कारण न्याय माग्न आउनेलाई समय र खर्च दुवैको बचत भएको छ”, गिरीले भन्नुभयो, “हामीले अदालतको वेबसाइट सञ्चालन गर्ने, सूचना पार्टी र सूचना र सहायता कक्ष स्थापना गर्ने, प्रत्येक एक महिनामा एक दिन मिट द जज कार्यक्रम गर्ने, सूचना अधिकारीको व्यवस्था गर्ने, एसएमएसबाटै मुद्दाका विषयमा जानकारी दिने फैसलाको नक्कल खाममा अदालतका सेवाका विषयमा जानकारी दिने र वैतनिक कानून व्यवसायीको व्यवस्थापन गर्ने गरेका छौँ ।” उहाँले भन्नुभयो । अदालतभित्र स्वयंसेवीको व्यवस्था, निश्चित प्रकृतिका सेवा एक घण्टाभित्रै उपलब्ध गराउने, अनलाइन तारिखको व्यवस्था, सेवाग्राही मैत्री कर्मचारीलगायतका कारण न्यायसम्पादन सरल बन्दै आएको र जनतालाई अदालतप्रतिको विश्वास बढ्दै आएको छ ।

जनतामा न्याय महँगो छ, ढिलासुस्ती छ भन्ने भ्रम चिर्न न्यायालयले आफूलाई छिटोछरितो बनाउनका लागि डिजिटल प्रविधिलाई आत्मसात् गरेको छ । अहिले घरमै बसेर मुद्दा नम्बरका आधारमा फैसला र पूर्णपाठ अनलाइनमै पढ्न पाउने व्यवस्था गरिएको मात्र छैन, मुद्दाको पेसी तथा फैसलाको सूचीसमेत वेबसाइटमा हुन्छ ।

अदालतमा फैसलाको पूर्णपाठ एक हप्तामै तयारसमेत गर्ने गरेको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार नेत्र भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार अनलाइन तामेली तथा सूचना प्रविधिको उच्चतम् प्रयोग गरी छिटोछरितो म्याद तामेल गर्ने, फैसलाको नक्कल पाउँ भनी निवेदन दिएको १५ मिनेटभित्रै उपलब्ध गराउने र दोभासेका लागि साङ्केतिक भाषाका लागि जनशक्ति तयारीसमेत गरेको बताउनुभयो ।

अदालतको वेबसाइटमा प्रमाणीकरण भएका फैसला, दैनिक पेसी सूची, साप्ताहिक पेसी सूची, पूरक पेसी सूची, मुद्दाको विस्तृत विवरण, फैसलाको पूर्णपाठ तथा वार्षिक कार्ययोजना राख्दा न्यायालय पारदर्शी बनेको छ । मुद्दाको विवरण सफ्टवयरमा भर्नासाथ मुद्दाको फैसला गर्ने अवधिसमेत सफ्टवयरले दिने गरेको, सञ्चारकर्मीसँग निरन्तर अदालतमा भएको मुद्दा फछ्र्योटका विषयमा अन्तक्र्रिया गरिएको जसकारण अदालत र जनताका सम्बन्ध नजिक हुँदै आएको रजिष्ट्रार भुसालको भनाइ छ ।

मुद्दा दर्ता गर्ने समयमा मोबाइल नम्बर उपलब्ध गराएमा पेसीको जानकारीलगायतका सूचना एसएमएसमार्फत प्रदान गरिएको र फैसला वेबसाइटमा प्रमाणित भएको १० मिनेटमै अपलोड गर्ने गरिएको छ । उच्च अदालत पोखरा बागलुङ इजलासमा डिजिटल अभिलेखसमेत राख्न थालिएको छ । मिसिल कुहिने, हराउने र बिग्रिँने समस्या रोक्न अदालतले डिजिटल अभिलेख राख्न थालेको हो । डिजिटल अभिलेख राख्दा अन्य अदालतबाट मिसिल झिकाउना साथ डिजिटल कपी तुरुन्तै पठाउनसमेत सहज भएको छ । यसबाट अदालतबीचसमेत समन्वयमा सहजीकरण भइरहेको छ । सबै मिसिलको स्क्यान कपी राख्ने अदालतमा तयारी छ ।

सेवाग्राही मैत्री अदालतका लागि अदालत परिसरमा शुद्ध चिसो र तातो पानीको व्यवस्था, साबुन र स्यानिटाइजरको व्यवस्थापन, प्राथमिक स्वास्थ्योपचार सामग्रीको व्यवस्थापन, श्रव्यदृश्यमार्फत मुद्दाको सुनुवाइ र आफूलाई पायक पर्ने अदालतबाट तारिख लिन पाउने व्यवस्था गरिएको छ । अदालतले सार्वजनिक सरोकारका रिट तथा मुद्दामा पत्रकारलाई समेत सहभागी गराउने परिपाटीको सुरुआत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *