चमेली साकोसमा घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व


चमेली कल्याणकारी बचत तथा ऋण सहकारीको २० औं बार्षिक साधारण सभाबाट प्रमोद घिमिरेको अध्यक्षतामा आगामी कार्यकालका लागि सञ्चालक समिति चयन गरेको छ । संस्थाको साधारणसभाबाट उपाध्यक्ष मिठाराम न्यौपाने, सचिव दिपककुमार न्यौपाने तथा कोषाध्यक्ष नवराज घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सञ्चालक समिति सदस्यहरुमा श्रीराम न्यौपाने, तिर्थराज चौलागाई, सन्तोष कार्की, अम्बिका चौलागाई घिमिरे, प्रकाश न्यौपाने, रमिला खत्री खड्का एवं विना गिरी निर्वाचित भएका छन् । साधारणसभाबाट शालिकराम घिमिरेको संयोजकत्वमा सञ्जय मिश्र र शरद रिसाल लेखा सुपरिवेक्षण समिति सदस्यमा चयन भएका छन् । साधारणसभा उद्घघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले अबका दिनमा सहकारी संस्थाहरुले कार्य क्षेत्रभित्र रहेका अन्य सहकारीसँग मर्जरको बाटोमा जानुपर्ने बताए । नेफ्स्कुनले आधुनिक यात्राको थालनी गरिसकेको हुनाले अबका दिनमा सबै सहकारीहरुले डिजिटाइजेसन, डिजिटलाइजेशन, डिजिटल ट्रान्सफरमेशन एवं डिजिटल इन्फरमेशनको मार्गमा अघि बढनुपर्ने अध्यक्ष पौड्यालले बताए ।
संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा दुई करोड ४४ लाख ३ हजार ४ सय ३७ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । संस्थाको हाल शेयर पुँजी पाँच करोड २४ लाख २१ हजार ६ सय रहेको छ भने ५५ करोड ७३ लाख ५० हजार ६ सय ३० रुपैयाँ बचत रहेको छ । संस्थाले विभिन्न शीर्षकमा ५७ करोड ८६ लाख ६५ हजार ९ सय ८५ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य एवं एसइई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने सदस्य परिवारलाई समेत सम्मान गरिएको थियो । संस्थामा हाल चार हजार २ सय ७७ सदस्य रहेका छन् । संस्थाले मुख्य कार्यालयको साथमा एक सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *