‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छ : परराष्ट्र सचिव पौड्याल

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपालले विश्वास गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘हामी लोकतन्त्रका ‘त्रिदिशात्मक’ नतिजा अर्थात शान्ति, मानवअधिकार र विकासमा केन्द्रित भएकाले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छ,’ उनले भने । कार्यक्रममा बोल्दै परराष्ट्र सचिव पौड्यालले नेपालको संविधानले सर्वव्यापी रूपमा स्वीकार्य लोकतान्त्रिक सिद्धान्तलाई मान्यता दिएको, समानुपातिक प्रतिनिधित्व र राष्ट्रिय जीवनमा समाजका सबै वर्गको सहभागिताको प्रत्याभूति गरेको बताए ।

राजनीतिक मुद्दा टुंगिएपछि अहिले नेपाल गरिबी, अल्पविकसित र पछौटेपनविरुद्ध लडिरहेको उनले जनाए । यसको लागि नेपालको प्राथमिकतामा कृषिको आधुनिकीकरण, पूर्वाधार विकासको तीव्रता, जलविद्युतको विशाल सम्भावनाको उपयोग, पर्यटन र जनशक्ति विकास रहेको उनले जानकारी दिए । परराष्ट्र सचिव पौड्यालले कार्यक्रममा निजी क्षेत्रका लागि सिर्जना गरिएको सक्षम वातावरण र स्वदेशी तथा विदेशी लगानीलाई जोगाउन तयार गरिएको बलियो कानुनी तथा नीतिगत संरचनाबारे प्रकाश पारेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *