अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना

काठमाडौँ । बङ्गलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ । तीन दिन अघि नेपाल आइपुगेको बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागको सहकार्यमा बुधबारदेखि ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो । प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिनुका साथै नेपाली वरिष्ठ कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ ।

यस्तै, बेलायती कलाकार नौसीन फर्जाना र डेनमार्कका कलाकार सुसाना हेरेन्ससिनीमीको कलासमेत प्रदर्शनीमा राखिएको छ । होविगञ्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष आचार्यले आर्टशालाले पहिलोपटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिएका छन् । उनले कला प्रदर्शनीले नेपाल र बङ्गलादेशको सम्बन्ध झन मजबुद बनाएको बताए । संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको उनको भनाइ छ ।

जिपी कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागका प्रमुख एवं मिथिला येँ आर्ट ग्यालरीका श्यामसुन्दर यादवले फाउन्डेशनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकिएको छ । कला प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *