‘एड्स तथा एचआइभी सङ्क्रमितलाई लाञ्छना र भेदभाव नगरौँ’

काठमाडौँ । एचआइभी तथा यौन रोग लागेकालाई समाजले लाञ्छना र भेदभाव गर्न नहुनेमा जोड दिइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्वारा आज यहाँ आयोजित ‘एचआइभी तथा यौन रोगसम्बन्धी लाञ्छना र भेद्भाव न्यूनीकरणसम्बन्धी’ अन्तक्र्रियाका सहभागीले त्यस्ता व्यक्तिलाई लाञ्छना वा भेद्भाव नगर्दा एचआइभी तथा यौन रोग न्यूनीकरणमा सहयोग पुग्ने सुझाव दिनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले समाजमा जनचेतना कम रहेकाले एचआइभी तथा यौन रोग लागेकालाई अझै लाञ्छना र भेद्भाव रहेको बताए । स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले समाजमा रहेको लाञ्छना र भेद्भाव हटाउन सके मात्र एचआइभी र यौनरोग भएकाका लागि समाजमा पुनःस्थापना गर्न सकिने धारणा राखेका छन् ।

सन् २०२६ सम्म एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, सङ्क्रमण पुष्टि भएकाका ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेका सङ्क्रमितमध्ये ९५ प्रतिशतको भाइरल लोड कम गर्ने लक्ष्य राखिइएको छ । मन्त्रालयले सन् २०२१ सम्म सङ्क्रमितमध्ये ८५ प्रतिशतको पहिचान, ८६ प्रतिशतको उपचार र ५१ प्रतिशतको भाइरल लोड कम गर्ने जनाएको छ ।

केन्द्रका निर्देशक डा. सुधा देवकोटाले एचआइभी तथा यौनरोग सङ्क्रमितलाई अझै पनि लाञ्छना र भेद्भाव कायम रहेको जनाउँदै सबैको सहयोगले हटाउनुपर्ने बताए । नेपालमा पहिलो एचआइभी सङ्क्रमित व्यक्ति सन् १९८८ मा पहिचान गरिएको थियो । सुइद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च छ ।

केन्द्रका अनुसार नेपालमा एचआइभी सङ्क्रमित ३० हजार रहेका छन् । तीमध्ये १६ हजार चार सय पुरुष र १३ हजार छ सय महिला तथा जन्मदेखि १४ वर्ष उमेर समूहका बालबालिका एक हजार दुई सय रहेका छन् । नेपालमा वार्षिक छ सय ८० नयाँ एचआइभीका सङ्क्रमित र एड्सबाट वार्षिक पाँच १० जनाको मृत्यु हुने गरेको केन्द्रका निर्देशक डा. देवकोटाले जानकारी दिएका छन् । नेपालमा पहिलोपटक १९८८ मा एचआइभी सङ्क्रमणको पुष्टि भएको हो । राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ अनुसार एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्र्ने सरकारको लक्ष्य रहेको छ ।

सरकारले एचआइभी रोकथाम र उपचारका लागि एचआइभी परामर्श र परीक्षण सेवाकेन्द्र ७७ जिल्लामा एक सय ८९ वटा, एचआइभी उपचार केन्द्र ६१ जिल्लामा ८४, एआरभी विरतण केन्द्र ४५ जिल्लामा ४५ केन्द्र र ओपिओइड प्रतिस्थापन केन्द्र १० जिल्लामा १२ वटा स्थापना गरेको छ । रणनीतिअनुसार एचआइभी सङ्क्रमित तथा मुख्य समूहमा एचआइभी सम्बन्धित असमानतामा कमी ल्याउने बताइएको छ ।

हेपाटाइटिस ‘सी’को उपचार पनि अब केन्द्रले गर्ने भएको छ । यसअघि एचआइभी तथा यौन रोग भएकालाई मात्र हेपाटाइटिस ‘सी’को उपचार गरे पनि अबदेखि हेपाटाइटिस ‘सी’का बिरामीको पनि उपचार गर्ने केन्द्रका निर्देशक डा. देवकोटाले जानकारी दिएका मछन् । उनका अनुसार अहिले छ जिल्लाका नौवटा एचआइभी उपचार केन्द्रबाट हेपाटाइटिस ‘सी’को उपचार गरिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *