ए डिभिजन लिग आगामी पुस ८ गतेदेखि


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) यस सिजनको शहीद स्मारक ए डिभिजन लिग आगामी पुस ८ गतेदेखि गर्ने गरी विशेष साधारण सभाबाट अनुमोदन गरेको छ । यसअघि साउन २६ मा बसेको कार्यसमिति बैठकले पुस ८ देखि ए डिभिजन लिग गर्ने गरी मिति प्रस्ताव गरेको थियो । त्यही प्रस्तावित मिति अनुसार पुस ८ देखि चैत ४ गतेसम्म ए डिभिजन लिग गर्ने एन्फा विशेष साधारणसभाले अनुमोदन गरेको हो । विशेष साधारणसभाले एन्फाको वार्षिक बजेट र वार्षिक कार्यक्रम पारित लगायत विभिन्न निर्णयहरु समेत गरेको छ । तर, एन्फाले देशकै मुख्य लिग मानिने ए डिभिजन लिगका लागि स्पष्ट खाका भने अझै सार्वजनिक गर्न सकेको छैन । एन्फा प्रतियोगिता निर्देशक सन्जीव मिश्रले वार्षिक कार्यक्रम पुस ८ देखि चेैेत ४ सम्मकै लिग गर्ने तयारी भए पनि यसमा क्लबहरुसँग छलफल गरेर परिमार्जन गर्न सकिने संकेत गरे । यसअघि विभिन्न खालको प्रयोग गर्दै आएको एन्फाले अझ एक पटक नयाँ प्रयोग गर्न सक्ने बाटो खुल्ला गरेको छ । ए डिभिजन लिगमा अहिले १४ क्लबले प्रतिस्पर्धा गर्दै आएका छन् । यस पटक पनि अहिलेसम्मका लागि कम्तीमा त्यही सिंगल राउण्ड रोविना लिग हुने र विकेन्डमा खेल खेलाइने पक्का छ ।
एन्फाले लिगलाई देशव्यापी रुपमा लैजाने भन्दै गत वर्ष लिगका केही खेललाई मोफसलमा समेत खेलाएको थियो । यसपटक एन्फाले राष्ट्रिय टिमको लक्ष्य र घरेलु फुटबलका लागि भन्दै साधारणसभाले रणनैतिक योजनाको रुपमा आगामी ८ वर्षको लागि योजना अनुमोदन गरेको छ ।त्यसै अनुसार लिगलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर एन्फा अझे विज्ञसँग छलफल गरेर अघि बढ्ने तयारीमा छ । एन्फाले यस पटक सुपर लिग र रेलिगेसन लिगको नयाँ प्रस्ताव क्लबमाझ ल्याएको छ।तर, त्यो संरचना बनाउन पनि एन्फाका लागि त्यति सहज भने छैन । यसअघि विभिन्न समयमा सिंगल लिग, डबल लिग लगायत विभिन्न प्रयोग भइसकेको छ । लिगका लागि एन्फाले दशैँ तिहार लगत्तै अन्तर्राष्ट्रिय खेलाडी र डोमेस्टिक खेलाडीको विन्डो खुल्ला गर्ने पनि जनाएको छ । साधारण सभाले ए डिभिजन लिगदेखि बी र सी डिभिजन लिग मिति पनि अनुमोदन गरेको छ भने फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) का लागि आगामी चैत देखि जेठ सम्मको रिजर्भ डेट राखेको छ ।
यसअघि एन्फाको कार्यसमिति बैठकले असोज २३ देखि एनएसएलको दोस्रो संस्करण गर्ने गरी मिति तय गरेको थियो । तर एन्फा र एनएसएस आयोजकबीच विभिन्न बुँदामा संशोधनसहित नयाँ सम्झौता गर्ने तयारीमा छ । यस्तै चाडपर्वका बेला तत्काल एनएसएल गर्न सम्भव नभएकोले पनि एन्फाले एनएसएलको मित पछि सारेको हो । यसैगरी बी डभिजन लिग लिग चैत ६ गतेदेखि र सी डिभिजन लिग अर्को वर्ष बैशाख १८ देखि गर्ने एन्फाको तयारी छ । गत चैतमा भएको राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेलहरु आगामी मंसिरमा गर्ने एन्फाले जनाएको छ । पहिलो चरणको खेल चितवनमा आयोजना भएको थियो । आगामी माघमा उपमेयर कप महिला लिग गर्ने र २०७९ को राष्ट्रिय महिला लिग आगामी चैत–वैशाखमा गर्ने एन्फाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *