जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोरले एकै वर्ष गरे साढे ४ अर्बको व्यापार


काठमाडौं । शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोर एण्ड एग्रोले एकै वर्ष साढे ४ अर्बको व्यापार गरेको छ । कम्पनीहरुले सन् २०२२ मा ४ अर्ब ३८ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो । कम्पनी अनुसार सन् २०२२ मा जगदम्बा अटो ग्रुपले ३ अर्ब ४२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । त्यसैगरी, जगदम्बा फ्लोर एण्ड एग्रोले ९५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सोही अग्रो कम्पनीले सन् २०२१ मा ९४ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । अटो कम्पनीले सन् २०२१ मा ७३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०१४ देखि नेपाली बजारमा सवारी साधनको व्यापार गर्दै आएको छ । कम्पनीले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको बिक्री वितरण गर्दै आएको छ । साहिल अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ८८ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि १ अर्ब ७२ करोड ११ लाख रुपैयाँ अर्थात् एफोर प्लसको रेटिङ गराएको छ । अटो कम्पनीले १ सय सीसीदेखि ३ सय १० सीसीसम्मको मोटरसाइकल, १ सय सीसी र १ सय २५ सीसीको स्कुटर र तीन पाङ्ग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको छ । कम्पनीले टीभीएस ब्रान्डको सवारी साधनको व्यापार गर्दै आएको छ । कम्पनीअनुसार सन् २०२२ मा टीभीएस एटीओआरक्यू १ सय २५ सीसीको सवारी साधनको उच्च बिक्री हुँदा व्यापारमा उछाल आएको छ । त्यसैगरी, अहिले सरकारले आयातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा कम्पनीको व्यापारमा निकै असर देखिएको कम्पनीको भनाइ छ । त्यस्तै, जगदम्बा फ्लोर एण्ड एग्रो कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड ८४ लाख रुपैयाँ अर्थात् बी माइनस र अल्पकालीनकर्जाका लागि १ अर्ब २४ करोड १६ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ । सुलभ अग्रवाल अध्यक्ष रहेको कम्पनीले नेपाली बजारमा मैदा, आँटा, सुजी, चोकरलगायत अन्य विभिन्न वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले जगदम्बा ब्रान्डमा उक्त वस्तुहरु बिक्री गर्दै आएको छ । साथै, कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर शक्तिभोज ब्रान्डको आँटा पनि निर्यात गर्दै आएको छ । विभिन्न खाद्यान्न उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीको गहुँजन्य वस्तुको उत्पादन क्षमता ३८ हजार २०० मेट्रिक टन रहेको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *