समाजसेवा र विद्यार्थी राजनीतिबाट खारिएका स्थापित युवा नेता हुन्- टेकराज ओझा

काठमाडौँ । डोटीका स्थायी वासिन्दा ओझा डोटी जिल्ला नेपाली कांग्रेसका गत महाधिवेशन जिल्ला सभापतिका प्रत्यासी थिए । गुटकोभन्दा पनि असल नेता र नेतृत्वको खोजीमा जोड दिने उनी पूर्व सांसद् तथा मन्त्री सिद्धराज ओझाका भाइ हुन् । पारिवारिक रुपले पनि कांग्रेस संगठनमा ठूलो योगदान गरेका ओझा समाजसेवी, सालिन नेता र स्पष्टवक्ताको रुपमा परिचित छन् । पार्टी संगठनमा सधैं दत्तचित्त उनी कांग्रेस टिकट वितरणमा गुट, उपगुटभन्दा न्यायोचित निर्णय गर्न सुझाउछन् । राजनीतिलाई पेशा नभइ समाजसेवा हो भन्न कुरामा दृढ़ निश्चयी ओझा, एक निष्ठावान नेता भनेर चिनिन्छन् । उनै नेता ओझासँग आमनिर्वाचनमा केन्द्रित रहेर सत्याग्रह साप्ताहिक र काठमाडौ न्युजडटकमका लागि सम्पादक कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं डोटीबाट संघीय सांसदको टिकट आकांक्षी हुनुहुन्छ पार्टीले देला त ?

पार्टीले मलाई टिकट दिनुपर्ने हो । मलाई किन दिनुपर्ने हो भने हामीसँग म समेत धेरै राम्रा विद्यार्थी नेता आकांक्षी छन् । जस्ते वीरबहादुर बलायर हुनुहुन्छ । उहाँ भन्दा सिनियर मान्छे भक्तबहादुर बलायर हुनुहुन्छ । उहाँले तीन पटक चुनाव जितिसक्नुभएको छ । त्यसमध्ये म पनि एउटा विद्यार्थी संगठनदेखि कांग्रेस पार्टीमा दरिलो ढंगले लागेको मान्छे, मैले अहिलेसम्म कुनै अवसर पाएको छैन । यो कुरा ती नेता, कार्यकर्ता सबैलाई थाहा छ । पार्टी संगठनको लागि जिल्लामा बसेर धेरै काम गरेको छु । डोटी जिल्लाको भूगोलको आवश्यकता, जनताको चाहना र भावना मैले पनि राम्रैसँग बुझेको छु । हुन त डोटीबाट हामी ९ जना सिफारिस भएर आएका छौं । ती ९ जनामध्ये यसपालि मेरै पालो हो जस्तो लाग्छ । त्यसैले पार्टीले मलाई टिकट दिन्छ भन्नेमा ढुक्क छु ।

यहाँ त शेरबहादुर गुट, शेखर गुट भनेर दौडधूप छ, तपाईंलाई टिकट देलान् र ?

म चाहीं शेरबहादुर गुट, शेखर कोइराला गुट भनेर मान्नेवाला छैन । किन मान्दिन भन्दा हिजो तिनै मान्छे कोइराला गुटमा थिए, आज शक्ति र पावरको आडमा देउवा गुटमा गएका छन् । शेखर गुटका पनि कतिपय व्यक्तिगत स्वार्थको लागि देउवामा गुटमा छिरेका छन् । त्यसकारण यसलाई खासै गुट भन्न म रुचाउँदिन । व्यक्तिगत अवसरको लागि तिनै मान्छे कहिले देउवातिर हुन्छन् कहितले कोइरालातिर हुन्छ । यो वैचारिक, सैद्धान्तिक लडाइँ नै होइन अनि कसरी गुट हुन्छ ? यी सबै शत्ता र शक्तिको आकर्षणमा तिनै मान्छे कहिले यताका भन्छन् कहिले उताका भन्छन् । व्यक्तिगत स्वर्थले भरिएका हल्ला हुन् ।

तपाईंलाई टिकटै दिनुपर्ने गरी डोटी कांग्रेसमा के योगदान गर्नुभएको छ ?

हामी नेपाली कांग्रेसको संगठनमा लाग्दा सुदूरपश्चिम भरि जम्मा २९ जना नेता थिए र म ती सबै नेताको कार्यकर्ता थिए । ती २९ जना एक ठाउँमा जम्मा भएर बैठक गर्ने गरिन्थ्यो । त्यतिबेला पञ्चायती व्यवस्था थियो । पञ्चेहरुसँग लुकीछिपी बैठक, भेला गर्नुपथ्र्यो । त्यसरी कांग्रेसको संगठनलाई अगाडि बढाउँदै लगियो । जब २०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो । २०४७ सालमा मेरा दाइ सांसद हुनुभयो । अनि उहाँसँग बसेर पार्टी संगठन अगाडि बढाउने, जनतासँग घुलमिल गर्ने, उनीहरुका समस्या समाधानका लागि पार्टी र सरकारमा लभिङ्ग गर्ने, विकास निर्माणका काममा अगाडि बढाउने काम गर्दै आएँ । यसरी मैले विद्यार्थीकालदेखि नै डोटीको विकास निर्माण र त्यहाँका जनताका आवश्यकता परिपूर्तिको गर्ने काम गर्दै आएको छु । पार्टीको संगठनमा विद्यार्थीकालदेखि आफू पदमा नरहँदा पनि साथीहरुलाई सहयोग गर्दै आएको छु । दाइ सिद्धराज ओझा सांसद, मन्त्री हुँदा उहाँसँग बसेर पार्टीको संगठनदेखि सरकार सञ्चालनसम्मको काम गर्ने अवसर पाएको छु । त्यसले पनि मलाई जनतासँग नजिकबाट घुलमिल गर्ने अवसर दियो । त्यसैगरी विभिन्न सामाजिक काम गरेर सामाज सेवा गरेको छु ।

त्यतिलामो समय पार्टी र जनताबीच रुझान भएको मान्छे अहिलेसम्म किन टिकट पाउनुभएन त ?

पहिला डोटीमा दुई वटा निर्वाचन क्षेत्र थियो । २०७० को निर्वाचनमा दुई नम्बर क्षेत्रबाट झन्डै झन्डै म सर्वसम्मतै मान्छे हो । त्यसमा क–कसले भूमिका खेलेर मैले टिकट पाइँन ? त्यसबेला तीन जना सिफारिस भएका थियौं । त्यसमा म सर्वसम्मत जस्तै थिएँ । त्यति हुँदा पनि मैले सेवा गर्ने अवसर पाइँन । त्यसकारण पनि यसपालि पार्टीले मलाई न्याय गर्छ भन्नेमा विश्वस्त छु । किन सबै कुरामा बाहेस हुनुहुँदैन । हामीले सोच राख्दा सधैं सकारात्मक राख्नुपर्छ । त्यसकारण पनि पार्टीले सोचेर, बुझेर विवेकपूर्ण निर्णय गर्छ भन्ने लाग्छ ।

नेविसंघको कुनै पदमा रहेर काम गर्नुभएन ?

म आफै लिडर चाहीं भइन । तर, नेविसंघ र नेपाली कांग्रेसका साथीहरुसँग बसेर सहयोग र सल्लाह दिने काम गर्दथेँ । त्यतिबेला उमेरले पनि परिपक्व भइसकेको थिएन । २०४६ सालमा त हाइस्कूल पढ्दै थिएँ । सानै भएपनि पारिवारिक वातावरण नै राजनीतिक भएकाले नेविसंघ, नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु मलाई भेट्न, सल्लाह लिन आउनुहुन्थ्यो । तर, पदीय दायित्वमा रहिन । साथीहरुलाई पदमा पुर्याउन चाहीं धेरै काम गरियो । त्यसकारण पनि अहिले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।

टिकट वितरणको विषयलाई संस्थापन इतरपक्ष आन्दोलित छ, यसलाई कसरी लिनुभएको छ ?

राजनीति र समाजसेवा भनेकै एउटा आन्दोलन हो । तर, पार्टीको विषयलाई लिएर बाहिर छताछुल्ला हुनेगरी आन्दोलनमा उत्रनु भन्दा दुवै पक्ष बसेर आन्तरिक रुपमा मिलाउनु पर्ने हो । जब मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो । त्यतिबेलै नेपाली कांग्रेसभित्र गुट, उपगुटको सुरुवात भयो । त्यो परिस्कृत हुँदाहुँदै आज यहाँसम्म आइपुग्यो । एउटा पक्षले निर्णय गर्यो, अर्को पक्षले विरोध गर्ने, तँलाई यति, मलाई यति भनेर भाग खोज्ने हुनथाल्यो । अहिले आएर संस्थापन पक्षले पनि अलि नमिलाएको जस्तो देखिन्छ । इतरपक्षले पनि आफूनिकटलाई केन्द्रमा राखेर भाग खोजेजस्तो देखिन्छ ।

चुनावको मुखमा आएर यस्तो गतिविधि गर्नु स्वाभाविक हो त ?

यस्ता गतिविधि आउने नै चुनावका बेला हो । यो पाँच वर्षका लागि हुने चुनाव हो । त्यो पाँच वर्षे चुनावमा जस्तो म डोटीकै उदाहरण दिन्छु । त्यहाँबाट हामी ९ जना सिफारिस भएर आएका छौं । ती ९ जना मध्ये म एउटा हो । त्यो कुरा हामी सबैलाई मजाले थाहा छ । त्यो पाउने एक जना मध्ये मेरो मान्छे, तेरो मान्छे भनेर दिने कि त्यसको वास्तविकता बुझेर सिनियरबाट छानेर मिलन विन्दु समाउने ? वास्तविक विवाद त्यहाँनेर हो । मिलन विन्दु त संस्थापन र इतर दुवै पक्षको होला नि । त्यो खोजिरहँदा सबैलाई मिलाउन सक्ने, सबैलाई बराबर सम्मान गर्ने, भूगोलको आवश्यकता, जनताको चाहना र पार्टीमा लामो योगदान गरेर पनि अवसर नपाएकोलाई हेर्ने होइन र ? । जसलाई ल्याउँदा विवाद घटेर चुनाव जित्न सहज होस् । पार्टीले फराकिलो मन गरेर आफूनिक भन्दा पनि जनताको मन छुन सक्ने मान्छे छनोट गर्नुपर्‍यो । यो नेतृत्व भनेको आगामी पुस्ताका लागि पनि हो । त्यसैले नेतृत्व छनोट गर्दा राजनीतिक पृष्ठभूमि भएको, आगामी पुस्तालाई पनि भिजन दिन सक्ने, असन्तुष्टलाई पनि मिलाउन सक्ने मान्छेलाई ल्याउनुपर्यो । जसको कारणले आगामी पुस्तामा सही नेतृत्व आओस् । अहिले पैसा, दम्भ र पहुँचको भरमा मान्छे छनोट गरियो भने त्यसरी आएको मान्छेले राम्रा निर्णय गर्न सक्दैन । भावी पुस्ताको लागि सही नेतृत्व दिने नेता बन्न सक्दैन । संगठनलाई नयाँ ढाँचामा ल्याएर चलायमान बनाउन सक्दैन । त्यस्ता मान्छेबाट संगठन लथालिङ्ग हुन्छ ।

संगठनलाई नयाँ ढाँचामा ल्याउन के गर्नुपर्छ ?

संगठनलाई नयाँ ढाँचामा ल्याउने भनेर मैले बाहिरबाट मान्छे ल्याउने भन्न खोजेको होइन । कांग्रेस भनेको विश्वले पत्याएको पुराना र स्थापित लोकतान्त्रिक पार्टी हो । यसमा हाम्रा पार्टीका त छँदैछन्, त्यसबाहेक कम्युनिस्ट लगायत अन्य पार्टीबाट पनि आउन सक्छन् । लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको हामी सबै मान्छेहरु एक ठाउँमा आउनुपर्छ । जनताको हित र विकास निर्माणको लागि सबैले एकजुट भएर लाग्नुपर्छ । राष्ट्र, राष्ट्रियता र जनहितको लागि सबैको आवाज एउटै हुनुपर्छ भन्ने आजको आवश्यकता हो ।

संस्थापन पक्षले इतरपक्षलाई टिकट वितरणमा एकलौटी ढंगले पेलेकै हो त ?

त्यसरी एकलौटी ढंगले पेलेको पनि म भन्न चाहन्न । यो पाँच वर्षमा आउने चुनाव हो । त्यसमा संस्थापन इतरपक्षका मान्छेको पनि आ–आफ्ना चाहना छन् । संस्थापन पक्षका चाहनाहरु होलान् । पार्टी र जनताबीच लामो योगदान गरिसकेपछि चुनाव बेला टिकटको चाहना राख्नु स्वाभाविक हो । आफूले लगानी गरेको ठाउँमा जनप्रतिनिधि भएर सेवा गर्ने इच्छा राजनीतिक नेताको हुन्छ । पार्टी संगठन र जनतामा राम्रो रुझान भएको नेतालाई संस्थापन पक्ष र इतर पक्ष भनेर विस्थापित गर्नुराम्रो होइन ।

महाधिवेशनको इख लिएर अर्को सिद्धान्त, विचार भएको पार्टीसँग चुनाव लड्ने बेलामा पटक–पटक नेपाली कांग्रेसभित्र किन आन्तरिक विवाद हुन्छ ? संस्थापन पक्ष गतिलो नभएर कि इतर पक्ष झगडालु भएर के लाग्छ ?

यो एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो । किन भने हामी अधिवेशनका बेला एजेन्डा र कार्यमुखी नभएर नेतामुखी भयौं । एउटै मान्छे सबैलाई मन पर्नुपर्छ भन्ने छैन । कसैलाई एउटा मन परेको हुन्छ, कसैलाई अर्कै मन परेको हुन्छ । त्यसमा एजेन्डा र सिद्धान्तमुखी भएनौं कि स्वार्थमुखी भएर हामीले भोटिङ गर्‍यौ । चुनावमा एक पक्षले जित्ने अर्को पक्षले हार्ने भइहाल्छ । त्यसरी भोट हालिसकेपछि आमनिर्वाचनका बेलामा महाधिवेशनको इख ल्याएर तेरो पक्ष र मेरो पक्ष भन्न थालियो । टिकट वितरणदेखि सबैमा त्यही आधारमा भागबन्डा गर्न थालियो । त्यो नै विवादको सबैभन्दा ठूलो कडी हो ।

चुनाव लड्नपनि अन्य पार्टीसँग जरैदेखि गठबन्धन गरेर जानुपर्ने गरी कांग्रेस किन दुब्लायो ?

यो गठबन्धन भन्दा पनि सहकार्यता हो । यस विषयमा भन्नुपर्दा आमकार्यकर्ताले चाहिँ भनिराखेका छन् । इतर पक्षका नेताहरुले गठबन्धन गर्न रुचाएका छैनन् । पार्टी सभापतिलाई पनि गलत पो गरियो कि भन्ने लागेको हुनुपर्छ । उहाँलाई पनि आमकार्यकर्तालाई एकढिक्का बनाएर पार्टी संगठन र चुनावी अभियानमा पठाउन पाए हुन्थ्यो भन्ने लागेको हुनसक्छ । तथापि हाम्रो देश दुईवटा ठूला र विकसित देशको बीचमा छ । अर्को तेस्रो पक्षले पनि यसलाई हेरिरहेको छ । चुनावमा पनि ती देशहरुको प्रभाव पर्न सक्छ । पार्टीका नेतृत्वमा रहेका पदाधिकारीहरुलाई यी सबै कुरालाई एक ठाउँमा ल्याएर सहमति गर्नुपर्ने वाध्यता होला । यो गठबन्धनको विषयलाई हिजो कि त पार्टी नेतृत्वदेखि पदाधिकारीले केन्द्रीय समितिबाट सर्वसम्म रुपमा पारित गर्नुहुँदैन थियो । असहमतिमा आ–आफ्नो पक्षबाट कुरा राख्नुपथ्र्यो । अब केन्द्रीय समितिले बसेर निर्णय गरेर अर्को पार्टीलाई पनि आश्वस्त पारिसकेपछि यसलाई गठबन्धन नभनेर सहकार्यतामा परिणत गर्नुपथ्र्यो । तर, ठाउँ हेरि आवश्यक सहकार्य गरेर चुनावमा गएको भए राम्रो हुनेथियो ।

चुनाव जित्ने उद्देश्यले गरिएको गठबन्धनले झन् पार्टीभित्र द्वन्द्व चर्कियो नि अब के गर्ने ?

सहकार्यताको तरिकाले लिएको भए द्वन्द्व हुँदैनथियो । गठबन्धनात्मक हिसाबले गएकाले विवाद भएको हो । किन भने गठबन्धन त्योसँग हुन्छ जोसँग विचार, कार्यक्रम, भोलि हिड्नलाई आफ्नो बाटो पहिल्याउन सक्ने ठाउँ रहन्छ । विचार र विकासका कार्यक्रमहरु मिल्छन् । तर, अरुसँग चाहीं सहकार्यता हुन्छ । गठबन्धन भविष्यका लागि हेरेर गरिन्छ । सहकार्यता भनेको चाहीं एउटा विषयमा एकछिनका लागि गरिन्छ । जस्तो विभिन्न पार्टीबाट आ–आफ्ना एजेन्डा, सिद्धान्त र कार्यक्रममा चुनाव जितेर आउँछन् । तर, सरकार बनाउने बेलामा बहुमत पुग्दैन त्यतिबेला अन्य इच्छुक पार्टीसँग सहकार्य गर्न सकिन्छ । हाम्रो जस्तो विभिन्न समावेसी, समानुपातिक अवधारणा बोकेको संविधान अनुसार एउटै पार्टीले बहुमत ल्याउने अवस्था छैन । यसरी विभिन्न विचार, सिद्धान्त, एजेन्डा बोकेका र विभिन्न कलस्टरबाट आएकालाई एकै ठाउँमा ल्याउनका लागि सहकार्य गर्न सकिन्छ । तर, यहाँ सहकार्य गर्नुपर्ने ठाउँमा गठबन्धन गरियो । गठबन्धन गर्दा पनि जरैदेखि होइन कुन ठाउँमा कांग्रेस कमजोर छ, त्यस ठाउँमा गरेर जानुपर्ने हो । किन भने त्यस ठाउँमा पनि कांग्रेसको हाराहारी भोट आउँछ । तर, हाम्रा साथीहरुले जित्न सकेका छैनन् भने त्यस्ता ठाउँमा गठबन्धन गर्नुपर्ने हो । यहाँ त कांग्रेसको भोट बैंक भएको ठाउँमा पनि गठबन्धनका नाममा अर्को पार्टी भित्र्याइएको छ । तर, अब पार्टीले निर्णय गरिसकेपछि त्यसलाई स्वीकारेर जानुको विकल्प छैन ।

त्यसोभए यो गठबन्धन कत्तिको सफल होला त ?

यो गठबन्धन सफल हुने कुरा त हुँदैहोइन । किन भने यसमा नीति, सिद्धान्त, विचार, भोलि हिड्ने बाटो केही पनि मिल्दैन । यो के को लागि गरिएको भनेर हाम्रो सभापतिजीले पनि भन्न सकिरहेको अवस्था छैन । यस विषयमा सभापतिजीको कुरा बाहिर आइरहेका हुन्छन्, ‘एक्लै चुनावमा जाँदा हाम्रो बहुमत आउँदैन, त्यो भयो भने सरकार बनाउन पाइँदैन अनि हंग पार्यायमेन्ट हुन्छ । बरु चुनावमै गठबन्धन गरेर जाऔं भनेर । तर, त्यसमा के विश्वास छ ? उनीहरुले भोलि कांग्रेसलाई सहयोग गरेर जान्छन् भने । देशमा लोकतान्त्रिक पार्टी एउटा कांग्रेस छ, अरु सबै वामपन्थी छन् । अनि उनीहरु त्यहीं हामीसँग जितेको सिट लिएर वामपन्थी जति एक हुनपनि सक्छन् नि ।

अहिले त सबै पार्टी टुक्रैटुक्रा भएर फुटेको बेला कांग्रेस मात्रै सिंगो पार्टी थियो, यो बेलामा हामी एक्लै चुनाव जानुपर्छ भनेर तपाईंहरु जस्ता नेताले केन्द्रलाई पेल्नुपर्दैन ?

यसमा म ७७ वटै जिल्लाको समस्या म भन्छु । जिल्लामा नेतृत्व गर्ने जति पनि साथीहरु हुनुहुन्छ । तीमध्ये पार्टीको संगठनको अवस्था निष्पक्ष ढंगले केन्द्रमा निधक्क राख्न सक्ने एउटा पनि नेता जिल्लामा भएनन् । सबैले आफूलाई पार्टी संगठनलाई भन्दा पनि आफूलाई केन्द्रमा राखेर राजनीति गरे । त्यसकारण हाम्रो नेतृत्व त्यहाँनेर चुक्यो । त्यसले नेता र कार्यकर्तामा वृत्तिविकास भएन । हामीले चाहीं खाली मभन्दा पछाडि आफ्नो को मान्छे अटाउन सक्छु भनेर सोच्यौं । त्यसले नयाँ पिढिमा वृत्तिविकास भएन । त्यसले पार्टी संकुचित हुँदै गयो । ठाउँ सानो बनाइसकेपछि धेरै मान्छे अटाउने कुरै भएन । अहिले हामी पुराना र युवा नेताको कुरा गरिराखेका छौं । पुरानाले राम्रो गरेकै छनन्, युवाले सिक्नै पाएका छैनन् । अनि कसरी युवा नेताले राम्रो गर्छन् । कांग्रेस भनेको क्रियाशील सदस्य मात्रै होइन आम मान्छे हो ।

द्वन्द्वलाई थाति राखेर चुनावमा कांग्रेस एकढिक्का भएर जान नेतृत्वले के गर्नुपर्छ ?

त्यसको लागि नेतृत्वले सबैको भावना समेट्ने गरी समान रुपमा हेर्नुपर्‍यो । चुनाव जितिसकेपछि पार्टीको सभापति एउटै हुने हो । चुनाव जितिसकेपछि भोट हालेका नहालेका सबैको सभापति उहाँ हो । उहाँ पार्टीको अभिभाव भइसकेपछि उहाँसँग सबैले भेट्न चाहनु, आफ्ना विचार राख्न चाहनु, नेतृत्व गर्ने कौशल देखाउन चाहनु, आफ्नो क्षेत्रमा प्रतिनिधि भएर सेवा गर्न चाहनु त उनीहरुको आवश्यकता हो नि । त्यो आवश्यकतालाई पहिचान गरी न्यायोचित निर्णय गर्ने नेतृत्वको दायित्व हो । सभापतिजीले त्यसलाई पहिचान गरी जनताको चाहना, भावना र भूगोलको आवश्यकतालाई मध्येनजर गरी समान दृष्टिकोणले हेर्नुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *