प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न आग्रह

काठमाडौँ । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन् । मङ्गलबारको बैठकपछि जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन छाडेर अन्यत्र जाने भन्ने समाचार आएको खबरले ध्यानाकर्षण भएको भन्दै दाहाललाई पहिले निर्वाचित भएकै चितवन क्षेत्र नम्बर ३ बाटै निर्बाचनमा उठ्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यही असोज २३ गते हुने मनोनयनका लागि प्रत्येक दलबाट दुई÷दुई जनाका दरले तयारी समितिसमेत गठन गरेको विज्ञप्तिमा जनाइएको छ । साथै सो विज्ञप्तिमा गठवन्धन दलका नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवार विजयी गराउन अग्रसर हुनसमेत अनुरोध गरिएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादी पार्टीका प्रेमराज भुजेलको उपस्थिति रहेको थियोे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *